भदौ २६,वासिङ्टन । संयुक्तराज्य अमेरिकाले सुगन्धित ई–चुरोट (विद्युतीय चुरोट) को सेवनबाट स्वास्थ्य जोखिम बढेको भन्दै त्यस्ता वस्तुको उत्पादनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
खासगरी किशोरहरुबीच निकै लोकप्रिय भइरहेको यस चुरोटले फोक्सोमा समस्या आउने गरेको अध्ययनहरुले देखाएका छन् । सुगन्धित ई–चुरोटको कुलतमा फसेका किशोर किशोरी युवावस्थामा पुगेपछि सूर्तिजन्य ई–चुरोट सेवन गर्नेतर्फ उत्प्रेरित हुन सक्ने देखिएको छ ।
पछिल्ला केही अध्ययनले सुगन्धित ई–चुरोटको सेवनकै कारण पनि बालबालिकाको मृत्यु हुने गरेको पाइएको छ । ह्वाइट हाउसमा संवाददाताहरुसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र प्रथम महिला मेलानीया ट्रम्प ई–चुरोटको कुलतमा फसेका कारण फोक्सोको गम्भीर बिरामी भएका एक किशोरका बाबुआमाको कथा सुनेर निकै भावुक भएको बताए ।
‘हामी दुबैले ती किशोरको व्यथा पढेका छौं’, उनले भने, ‘हामीजस्तै धेरै मानिसले यो कथा पढेका छन्, र यसको सेवनबाट मानिसहरुको ज्यान गइरहेको छ ।’ स्वास्थ्यमन्त्री अलेक्स अजरले आगामी साता ई–चुरोटका बारेमा नयाँ नियमहरु ल्याइने बताएका छन् ।
‘सूर्तीको स्वाद भएका बाहेक अरु सबै किसिमका सुगन्धित ई–चुरोट बजारमा अब बेच्न पाइने छैन’, उनले भने । उनले यसका लागि व्यवसायीलाई ३० दिनको समयावधि दिइने जानकारी दिए । सन् २०१९ मै गरिएको एक अध्ययनमा माध्यमिक तहमा अध्ययन गर्नेमध्ये एक तिहाई विद्यार्थीले सुगन्धित ई–चुरोट सेवन गर्ने गरेको देखिएको छ ।
अधिकांश सेवनकर्ताले फलफूल, मेन्थोल वा मिन्ट (पुदिना)को स्वाद भएका ई–चुरोट रुचाएका थिए । तत्कालका लागि सूर्तीको स्वाद भएका ई–चुरोटमा प्रतिबन्धहरु नलगाए पनि सन् २०२० को मेदेखि उत्पादकहरुले स्वीकृति लिनु पर्नेछ ।
ग्रान्ड भ्यू रिसर्चका अनुसार सन् २०१८ मा विश्वभर १० अर्ब २० करोड मूल्य बराबरको ई–चुरोट उत्पादन भएको थियो । एक सर्वेक्षणमा समेटिएका ई–चुरोट सेवनकर्तामध्ये ४५० जनाभन्दा बढीले आफूहरु बिरामी परेको बताएका थिए ।
उनीहरुले आफूहरुलाई श्वास फेर्न कठिन भएको र छाती दुखेको बताएका थिए । कतिपयलाई अस्पतालमा भर्ना गर्नु परेको थियो भने केहीलाई भेन्टिलेटरमा राख्नु परेको थियो ।
अमेरिकी रोग नियन्त्रण केन्द्रले ई–चुरोटको सेवन तत्काल बन्द गर्न मानिसहरुलाई आग्रह गरेको छ । केन्द्र्रले यस चुरोटका बारेमा अनुसन्धान थालिएको बताएको छ ।
संयुक्तराज्य अमेरिकामा सन् २००६ देखि नै ई–चुरोट बजारमा देखिएको हो । परम्परागत सूर्तीसेवनको तुलनामा यसलाई निकै सुरक्षित मानिएको थियो ।
तर विज्ञहरुले ई–चुरोट पनि स्वास्थ्यका लागि हानिकारक रहेको चेतावनी दिइरहेका थिए । परम्परागत चुरोटमा पाइने ७ हजार किसमका रसायन ई–चुरोटमा नहुने भएपनि केही तत्वहरु निकै हानिकारक पाइएका छन् । ई–चुरोटको धुवाँमा धातुसमेत पाइएको अमेरिकी संसद कंग्रेसमा सन् २०१८ मा बुझाइएको एक प्रतिवेदनमा उल्लेख छ ।
स्वास्थ्य समस्या निम्त्याउन थालेको यस ई–चुरोटका बारेमा अहिले अमेरिकी समाज र राजनीतिक नेताहरुले पनि चासो दिन थालेको पाइएको छ । राष्ट्रपति ट्रम्पको घोषणालाई अमेरिकाका दुबै दलले समर्थन जनाएका छन् ।
रिपब्लीकन पार्टीका प्रभावशाली नेता मिट रम्नी र डेमोक्रयाट पार्टीका सिनेट ह्वीप डिक डरबिन सहित धेरै डेमोक्रयाट नेताले राष्ट्रपतिको कदमको स्वागत गरेका छन् अमेरिकी बजारमा प्रमुख ई–चुरोट उत्पादक कम्पनी जूलले गरिरहेको विज्ञापनप्रति पनि सर्वत्र आक्रोश व्यक्त गरिएको छ ।
जूलले सूर्तिसेवन भन्दा ई–चुरोट हानिकारक नरहेको जिकिर गर्दै विज्ञापन गरेको थियो । रासस/ एएफपी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।