आर्थिक मन्दीका संकेत 

Share News

जी सेवेनमा पर्यवेक्षकका रूपमा भाग लिएको भारतको अर्थतन्त्रमा पनि व्यापक मन्दीको संकेत देखिएको को कुरा आजतकले प्रकाशित गरेको छ । भारतमा पार्ले–जी नामक रू. १० को बिस्कुटको विक्री ७ प्रतिशतले घटेको छ । अटोमोबाइल्सको विक्री ३० प्रतिशतभन्दा बढीले घटेको छ । चीन तथा भारतको आर्थिक वृद्धिदर पनि कल्पना गरिएभन्दा कम भएको छ । अहिलेको विश्व परिवेश हेर्दा अमेरिका, यूरोप लगायत विश्वका अन्य केही देशमा आर्थिक मन्दी हुने अनुमान गरिएको छ । 

अमेरिका र यूरोपमा हुने आर्थिक मन्दीले नेपाललाई के नै असर पार्छ र ? भन्ने वस्तुनिष्ठ चिन्तन गर्न त सकिएला तर वास्तवमा विश्वको कुनै देशमा हुने आर्थिक उथलपुथलले दुनियाँको अर्को कुनालाई पनि असर पार्छ । अमेरिकामा आर्थिक मन्दी भएमा नेपालमा आउने विप्रेषणमा असर पार्छ । त्यसैगरी त्यहाँको प्रभाव जापान, अरेबियन देश , मलेशिया, दक्षिण कोरियाको अर्थतन्त्रमा पनि गिरावट आउन थाल्छ भने त्यसको असर नेपालमा पर्न थाल्छ । त्यसैले आम नेपालीले यो आर्थिक मन्दीका बारेमा जान्न र यसले सृजना गरेको समस्याका बारेमा जानकार हुन जरुरी छ ।

आर्थिक मन्दीको प्रभाव सबै देशमा समान रूपले नकारात्मक असर पर्दैन । उत्पादन गरेर सामान निर्यात गर्ने देशमा आर्थिक मन्दीको नकारात्मक असर बढी पर्छ भने आफ्नो देशमा उद्योगधन्दा नभएर आयातमा निर्भर रहने देशमा आर्थिक मन्दीको थोरै असर परेको पाइएको छ । त्यो बाहेक नेपाल जस्तो पञ्चवर्षीय योजनाको आधारमा बजेट विनियोजन गरेर योजनाबद्ध विकास गर्ने देशमा भन्दा जिरोबेसमा बजेट बनाउने देशमा आर्थिक मन्दीको प्रभाव बढी परेको पाइएको छ । यही १४ अगस्त २०१९ मा सीएनएनमा प्रकाशित एक लेखका अनुसार विश्वका ५ ठूला अर्थतन्त्र भएका देशमा देशहरू आर्थिक मन्दीको खतरामा रहेको बताइएको छ । उक्त लेखका अनुसार बेलायतको अर्थतन्त्र निरन्तर २ क्वाटरसम्म साँघुरिएको छ भने इटाली निरन्तर स्थिर रहेको छ । जर्मनीको अर्थतन्त्र निरन्तर ३ पटकसम्म घटिरहेको छ । यसैगरी मेक्सीको र ब्राजिलको अर्थतन्त्र पनि निरन्तर घटेको पाइएको छ । यसरी विश्वका ठूला २० अर्थतन्त्रमध्ये नौओटामा आर्थिक मन्दीको संकेत देखिएको छ । 

मन्दीको मुख्य कारण त वस्तु तथा सेवाको व्यापार घट्नु नै हो । त्यो बाहेक मन्दीका अन्य संकेत निम्न बमोजिम छन् । मन्दीको पहिलो संकेत लगानीकर्ताबाट देखिन्छ । ठूला लगानीकर्ताहरू कुनै पनि क्षेत्रमा लगानी गर्न डराउँछन्, ज्यादै बचेर लगानी गरिरहेका हुन्छन् । यसले गर्दा अर्थतन्त्रले कम रोजगारी सृजना गर्छ र भएको रोजगारी घट्ने अवस्था आउँछ । वस्तुको माग घट्नासाथ बेरोजगारी दर बढ्न थाल्छ । यदि सरकारले केन्द्रीय बैंक मार्पmत उद्योगीलाई बचाउने उपाय नगर्ने हो भने अर्थतन्त्र थप संकटमा पर्छ ।

आर्थिक मन्दीको दोस्रो संकेत ब्याजदरमा उच्च दरमा वृद्धि हुन्छ । बैंकसँग लगानीयोग्य तरलताको अभाव हुन्छ एकातिर लगानीकर्ता डराउँछन् अर्कोतर्पm उच्च ब्याजदरका कारण बैंक ऋण पाउन पनि कठिन हुन्छ । जसले गर्दा अर्थतन्त्र थप जर्जर हुन्छ । 

लगानीमा भएको हत्तोसाहीपन केवल उद्योग, व्यापार र रियल इस्टेटमा मात्र सीमित नरहेर शेयरबजारमा पर्छ र शेयरबजार बियरिस ट्रेन्डमा जान्छ, जसले गर्दा लगाीकर्ता पनि हतोत्साहित हुन्छन् र सरकारको राजस्वमा पनि भारी गिरावट आउँछ । स्टक मार्केटमा हरियाली आउनुले सरकारलाई पनि थप आम्दानी भएको हुन्छ, त्यसमा कमी आउँछ ।

आर्थिक मन्दीको संकेतका रूपमा वस्तु तथा सेवाको मागमा आएको कमीलाई पनि हेर्न सकिन्छ । जब हिउँद महीनामा बादल लाग्छ त्यसको असर चौतर्फी रूपमा पर्न जान्छ । मन्दी भनेको यस्तै जाडोको बादल हो । यसले विलासिता तथा गैर विलासिताका सामानको मागमा निरन्तर गिरावट आउँछ । यसले उद्योगहरूलाई संकटपूर्ण अवस्थमा ल्याउँछ । वास्तवमा मन्दीको मुख्य संकेतको मागमा आउने कमी नै हो । माग घट्ने क्रमको असर दैनिक आवश्यकताका वस्तुमा भन्दा विलासितका र निर्माण सामग्रीमा बढी पर्न थाल्छ । 

बैंक तथा वित्तीय संस्थाको कमजोर व्यवस्थापनले पनि कहिले काहीँ गम्भीर आर्थिक मन्दी ल्याउँछ । देशभरका सबै बैंकले खराब ऋण बढाए, खराब चिज धितो राखेर ऋण दिए ऋण उठेन भने सर्वसाधारणको बचत संकटमा पर्छ र पूरै देश आर्थिक मन्दीमा जान्छ । यसैगरी उत्पादनमूलक उद्योगले गुणस्तरमा ध्यान दिएनन् पनि माग घट्छ । जसरी नोकिया, तोशिबा, कम्पनीहरू डुबे त्यसैगरी गाडी उत्पादन, इलेक्ट्रिक सामान आदि उत्पादन गर्ने व्यवसायको खराब व्यवस्थापनले पनि आर्थिक मन्दी आउँछ ।

कहिले काहीँ कुनै नेताले मुद्रास्फीति नियन्त्रण गर्न कर्मचारी, कामदारको ज्याला कम गर्ने रणनीति अवलम्बन गर्छन् । त्यो अवस्थामा श्रमिकले एक्कासि काम गर्न छोडी दिएमा हडताल गरेमा उत्पादन ठप्प हुन्छ, यसबाट पनि आर्थिक मन्दी हुन्छ । हडताल नगरे पनि ज्याला कम भएपछि माग कम हुन्छ, माग घटेपछि मन्दी शुरू हुन्छ । १९७१ मा निक्सनको समयमा अमेरिकामा यस्तो मन्दी भएको थियो । 

आर्थिक मन्दीमा असर पार्ने अर्को तŒव मुद्रा संकुचन पनि हो । मौद्रिक नीतिको असफलतको कारण जनताको हातमा कतैबाट रकम जम्मा नै भएन, सामान किन्न मुद्राको व्यापक अभाव भयो भने पनि मागको कमीको कारण आर्थिक मन्दी हुन्छ । 

नेपाल जस्तो देशमा भूकम्पको समयमा मानिसको आयस्तर घटेको कारण अर्थतन्त्रमा गिरावट आएको हो । त्यसैगरी नेपालीहरूले बढी रेमिट्यान्स पठाउने देशहरू आर्थिक मन्दीमा परेमा नेपालको अर्थतन्त्रमा असर पर्छ । त्यसैगरी नेपाललाई द्विपक्षीय सहयोग गर्ने देशमा भएको आर्थिक मन्दी पनि नेपालका लागि घातक हुन्छ । जापानमा आर्थिक मन्दी हुनु नेपालका लागि बढी घातक हुन्छ । जापानले देशको वास्तविक समस्या हेरेर सहयोग गर्ने देशमध्ये पर्छ । 

जेहोस् अहिले सरकारले वाणिज्य बैंकहरूको ऋण लगानी नियमित र व्यवस्थित गर्न धेरै मेहनत गरेको छ । विलासिताका वस्तुको आयात नियन्त्रण गर्ने प्रयास गरेको छ । यी विविध कारणले नेपालमा आर्थिक मन्दीको तत्काल असर नपर्ला तर विश्वका अन्य देश आर्थिक मन्दीको लाइनमा रहेकाले नेपालले रोजगारी बढाउनेतर्फ ध्यान दिनुपर्छ । मन्दीको मुल कारण जनताको क्रयशक्ति घट्नु नै हो ।

लेखक कैलाशकुट बहुमुखी क्याम्पस चाबहिलमा व्यवस्थापन विषयका अध्यापक हुन् ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।