भ्रमण वर्ष सकिन लागेपछि देश दौडाहा !

Share News

कास्की । गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन भ्रमण वर्ष २०१९ को अवधि सकिन थालेपछि प्रचारप्रसारका लागि देश दौडाहा अभियान शुरू गर्ने भएको छ । भ्रमण वर्ष सकिन करीब साढे ३ महीना मात्र बाँकी रहँदा प्रदेश सरकारले पर्यटक भित्र्याउनका लागि एक हप्ते अभियान थालेको हो ।

यस अभियानका क्रममा असोज ९ देखि १६ गतेसम्म गण्डकी सरकारले अन्य प्रदेशको भ्रमण गरी सरोकारवाला र प्रदेश सरकारलाई निम्ता दिने योजना बनाएको छ । भ्रमण वर्षको पहिलो अभियान देशको पूर्वी क्षेत्रबाट शुरू हुने भएको छ । अभियान टोलीमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालसहित पर्यटन व्यवसायी, कर्मचारी, पत्रकार र कलाकारसहित ५० जना सहभागी छन् । 

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लम्सालले केही ढिलाइ भए पनि पर्यटन क्षेत्रमा सकारात्मक माहोल सृजना गर्न प्रवद्र्धनात्मक अभियान थालेको बताए । अभियानअन्तर्गत प्रदेश–५ को मणिग्राम, प्रदेश–२ को वीरगञ्ज, प्रदेश–१ को विराटनगर र प्रदेश–३ को काठमाडौंमा संघीय र प्रदेश सरकारबीच व्यावसायिक कार्यक्रम (जीटुजी), सरकार र व्यावसायिक प्रतिष्ठानबीचमा व्यापारिक सहकार्य (जीटुबी), व्यापारीबीचको अनुभव साटसाट तथा सहकार्य (बीटुबी) लगायत कार्यक्रम हुने उनले जानकारी दिए ।

बीटुबी कार्यक्रम भ्रमण रूटमा पर्ने पाल्पाको तानसेन, नवलपुरको अमलटारी, चितवनको भरतपुर, मकवानपुरको हेटौंडा, धनुषा जिल्लाको जनकपुरधाम, सुनसरीको धरान र झापाको बिर्तामोडमा हुनेछ । टोलीले गण्डकी प्रदेशमा आउने पर्यटकका लागि भनेर विशेष प्याकेज घोषणा गर्ने भएको छ । मन्त्री लम्सालका अनुसार प्रदेशमा आउने पर्यटकलाई होटलमा १५, रेस्टुरेन्टमा १०, साहसिक गतिविधिमा १०, यातायातमा १५, पदयात्रामा १० प्रतिशत छूट दिइने बताए ।

उनले भने, ‘प्रदेशभित्रका ११ जिल्लाकै फरकफरक प्याकेज बनाएर आन्तरिक पाहुनालाई उपलब्ध गराउने योजना छ ।’ यो अभियान चलाउँदा झन्डै ३६ लाख रुपैयाँ खर्च हुने उनले बताए । गण्डकी प्रदेशमा आन्तरिक पाहुना आउन चाहे पनि कनेक्टिभिटी सारै नै कमजोर रहेको उनको भनाइ छ । ‘आन्तरिक हवाई सेवा निकै नै कमजोर छ । स्थलमार्ग पनि सुधार हुन सकेको छैन,’ उनले भने, ‘पूर्वाधार हुने र सहज आउजाउ हुने हो भने यस्ता अभियान स्वतः सफल हुन्छन् ।’ आन्तरिक पर्यटकको गतिविधि बढाउनकै लागि पोखरादेखि सिमरा र विराटनगरसम्म सीधा हवाई उडान सञ्चालन गर्ने योजना पनि बनाएको मन्त्री लम्सालले जानकारी दिए ।

पोखराका पर्यटन व्यवसायीले ढिलो भए पनि प्रवर्द्धनात्मक अभियान सञ्चालन हुनु राम्रो भएको बताए । पर्यटन बोर्डका पूर्व सदस्य टीकाराम सापकोटाले भने, ‘केही नहुनुभन्दा यतिबेलाको अभियान पनि राम्रै हो । यसलाई सबै मिलेर सफल बनाउनुपर्छ ।’ चाडबाडको बेला परेकाले यतिखेर सबैभन्दा बढी आन्तरिक पाहुना घुम्न निस्कन्छन् । यही समय पारेर प्रवर्द्धनात्मक कार्यक्रम गर्दा यसको सकारात्मक प्रभाव देखिने भए पनि यसको वास्तविक परिणाम आगामी वर्ष मात्र देखिने सापकोटाको भनाइ छ । प्रदेश सरकारले भ्रमण वर्षमा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यो भ्रमण वर्षमार्फत नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्‍याउने र २०२२ भित्रमा प्रदेशमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको प्रदेश सरकारले बताएको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।