गण्डकी प्रदेश : विश्वविद्यालय स्थापना सम्बन्धी विधेयक पारित

Share News


पोखरा । गण्डकी प्रदेशसभाको बुधवारको बैठकले गण्डकी विश्वविद्यालयको स्थापना, व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक पारित गरेको छ । सभामा सामाजिक विकासमन्त्री नरदेवी पुनले पस्तुत गरेको प्रस्ताव बहुमतले पारित गरेको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सदस्यले उक्त प्रस्तावको विपक्षमा मत दिएका थिए । यसअघि विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा प्रवेश गरेको अवस्थामा प्रदेशको आफ्नै विश्वविद्यालय आवश्यक महसूस गरी उक्त विधेयक ल्याइएको बताए ।

गण्डकी प्रदेश विश्वविद्यालयलाई सबैले गौरव गर्ने किसिमको बनाइने भन्दै बरालले शैक्षिक गुणस्तर एवं अनुसन्धानात्मक शिक्षालाई प्राथमिकतामा राखिने बताए । अर्का सदस्य मेखलाल श्रेष्ठले देशमा भएका अन्य विश्वविद्यालयले अपेक्षा अनुरूप प्रतिफल दिन सकेकोे वा नसकेको सम्बन्धमा समीक्षा गर्नुपर्ने औंल्याए । पूर्वाधार, विषय छनोट लगायतको तय भइनसकेको अवस्थामा विश्वविद्यालय खोल्ने विषय कागजमा मात्रै सीमित हुने हो कि भन्ने आशंका देखिएको उनले बताए । बैठकका सदस्य मीनप्रसाद गुरुङले संघीयता कार्यान्वयनको विषय प्रत्यक्ष रूपमा विश्वविद्यालयसँग जोडिएको धारणा व्यक्त गरे । बैठकको शून्य समयमा अर्का सदस्य दीपक कोइरालाले चाडबाड नजिकिँदै गर्दा हुन सक्ने महँगी एवं कालोबजारीप्रति बेलैमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । यस्तै विन्दुकुमार थापाले वेस्टर्न हेल्थ साइन्स इन्स्टिच्युट, काहुले पोखरा आसपासका विद्यार्थीको भर्ना नलिएको र आर्थिक चलखेलका आधारमा प्रदेश नं २ र ५ का विद्यार्थीलाई भर्ना गरिएको भन्दै यसमा छानविन गर्न सरकारलाई आग्रह गरे । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।