असोज ९, कास्की । नागरिक उड्डयन प्राधिकरण पोखराले व्यापारिक प्रयोजनका लागि निर्माण गरेको भवन लामो समयदेखि बेवारिसे बनेको छ ।
प्राधिकरणले विसं २०७३ सालमा पोखरा महानगरपालिका– १७, मुस्ताङमा करीब रू.६ करोडको लागतमा निर्माण गरेको व्यावसायिक भवन लामो समयदेखि बेवारिसे अवस्थामा छ ।
चार वर्षपहिले निर्माण सम्पन्न भएको उक्त पाँच तले भवन व्यापारिक प्रयोजनका लागि भाडामा लगाउने उद्देश्यले निर्माण गरिएको हो ।
नियमित आम्दानी गर्ने उद्देश्यले ठूलो रकम खर्चेर बनाइएको भवन लामो समयदेखि पूरै खाली छ । भवनका कुनै पनि सटर, हल र कोठाहरू अहिलेसम्म भाडामा लागेको छैन । भवनको सटर र च्यानल गेट खिया लागेर जीर्ण बनेको छ ।
सिँढीका मार्वल पनि ठाउँ–ठाउँमा फुटेका छन् । भवनको बाहिरतर्फको बरण्डा गाईबस्तु, भुस्याहा कुकुर र बेसहारा मानिसहरूको आश्रयस्थलमा परिणत भएको छ । भाडाका लागि प्राधिकरणले पटक–पटक सूचना जारी गर्दा पनि भाडामा लिन कोही नआएको प्राधिकरणले बताएको छ ।
नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलले भने, ‘भवन भाडामा लगाउन पाँच पटक सूचना जारी गरयौं, ‘तर, सटर भाडामा लिन कुनै व्यापारीले निवेदन दिएनन् ।’
उनले भने, ‘चार वर्षको अवधिमा भाडा घटाएर पाँच पटक टेण्डर आह्वान गर्दासमेत आवेदन परेन ।’ बढ्दो जनसंख्या र व्यापारिक चाप हुँदासमेत प्राधिकारणले निर्माण गरेको भवन व्यावसायिक रूपमा उपयुक्त स्थानमा नभएको स्थानीय बताउँछन् ।
ठूलो धनराशि खर्चेर बनाइएको यो भवन प्राधिकारणका केही कर्मचारीको स्वार्थका कारण बनाइएको स्थानीयको आरोप छ ।
‘प्राधिकरणले बनाएको भवन व्यापार व्यवसायका लागि उपयुक्त ठाउँ हुँदै होइन,’ स्थानीय एक व्यवसायीले भने, ‘त्यस भवनमा व्यवसाय चम्कन अझै डेढ, दुई दशक कुर्नूपर्छ, तब मात्र व्यवसाय चल्ला, नत्र भाडा तिर्ने बस्ने मात्र हो, अनि यस्तो ठाउँमा कसले जोखिम मोल्छ ?’
सूचना निकाल्दा पनि भाडा नलागेपछि चाहिँ सूचना नै निकाल्न छाडिएको सूचना अधिकारी पौडेलले बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।