भारतीय र नेपाली शेयरबजारको गति 

Share News

भारतीय शेयरबजारमा २ कारोबार दिनमा पहिलो दिन १९२१ अंक र अर्को दिन १४०० गरी ३००० बढी अंकले वृद्धि हुनासाथ त्यस देशका नाम कमाएका दलाल र शेयर विश्लेषक पनि आश्चर्यचकित भएका छन् । किनकी यति ठूलो अंकमा शेयर सुधार निकै कम मात्रामा हुन्छ । 

भारतको अर्थव्यवस्था मन्दीको सँघारमा गएको बताइन्छ । मानिसहरू बेरोजगार भएको, शेयरबजार सबै तल्लो स्तरमा गएको भनी भारतीय सञ्चारमाध्यमहरूले बताइरहेका बेला गएको २० सेप्टेम्बर २०१९ शुक्रवारदेखि सोमवारका बीच शेयरबजार सेनसेक्समा ३००० अंकको उछाल आएको छ । यस्तो शायद विश्व अर्थतन्त्रको पहिलो आर्थिक घटना हुनसक्छ । भारतका एक कहलिएका अर्थविद्ले १७ सेप्टेम्बरको अंकमा भारतको शेयरबजार नराम्रोसँग प्रभावित हुँदै छ भनी इन्डिया टुडेमा एउटा लेख लेखेका थिए । उनको तर्क थियो, बितेको २०० दिनको मुभिङ एवरेज हेर्दा भारतीय शेयरबजार ज्यादै कठिन स्थितिमा छ र यो निरन्तर ओरालो लाग्दै छ । त्यसको ३ दिनपछि उनले नै अर्को लेखमा आश्चर्य प्रकट गरेका छन् । 
 
उक्त लेखमा उनले कारण पनि देखाएका थिए । कारण थियो, जेट एयरवेज, आईएल एन्ड एफएस, दिवान हाउजिङ, एस बैंक, कान्स एन्ड किङ जस्ता नौ ठूला कम्पनी एक्कासि टाट पल्टिनु । सरकारले अर्थव्यवस्था सुधार गर्नेतर्फ ध्यान दिएको छैन । यसैकारण शेयरबजारको मन्दी लामो समय रहने देखिन्छ भन्ने उनले अनुमान गरेका थिए । त्यो लेख लेखेको २ दिनपछि नै शेयरबजारले त्यस लेखको उल्टो परिणाम दिएको छ । 

यस्तो कसरी भयो भनी परिवेश र परिस्थितिको विश्लेषण गर्दा यसरी अहिलेसम्म कुनै देशमा नभएको शेयर उछालको मुख्य कारण यस प्रकार छन् :

कर कटौती 

शुक्रवारका दिन भारतीय अर्थमन्त्रीले ज्यादै ठूलो कर कटौती गरिन् । त्यहाँका हजारभन्दा बढी कम्पनीको करका दरमा कटौती गरियो । यसले गर्दा कम्पनीले सरकारलाई ३७००० करोड कर तिर्नु नपर्ने भयो । यस कारण बजारमा ठूलो उछाल आएको मानिएको छ । कर कटौतीले कम्पनीहरूको आम्दानीमा बढ्छ र लाभांशको दरमा वृद्धि हुन्छ भन्ने आशमा लगानीकर्ताले निःसंकोच शेयरबजारमा लगानी गरेको अनुमान छ । देशको समग्र बजेट घाटामा रहेका बेला यसरी यत्रो ठूलो मात्रामा कर कटौती गर्ने साहस गरेर अर्थमन्त्रीले शेयरबजारको आत्मा बचाएको भारतीय अर्थविश्लेषकले समाचार र लेखमार्पmत बोलेका छन् । 

जीएसटीमा कमी
भारतमा सबै वस्तु तथा सेवामा एकै दरले कर लगाउने गरी गुड्स एन्ड सर्विस टेक्स लगाइएको थियो । अहिलेको आर्थिक मन्दी यही जीएसटी र ८ नोभेम्बर २०१६ को नोटबन्दीको प्रभाव हो भनी इकोनोमिक्स टाइम्सले पटकपटक लेखेको थियो । यसैलाई ध्यानमा राखेर अर्थमन्त्री सीता रमणले उपभोग दर बढाउन केही वस्तुको जीएसटीमा कटौती गरेकी छन् । विशेष गरी घरेलु उपभोगका सामानमा गरिएको कर कटौतीले पनि उपभोग बढ्ने र कम्पनीको नाफा वृद्धि हुने सम्भावनाका कारण अहिले निफ्टी तथा सेन्सेक्स दुवैमा उछाल आएको छ ।

चीन अमेरिका व्यापारयुद्ध नहुने सम्भावना 
चीन र अमेरिकाबीचको व्यापारयुद्धका माझमा यो समस्या समाधान हुने सानो आशा बढेको छ । यसको समाधानका लागि चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डल अमेरिकामा वार्तामा छ । चीन र अमेरिकाको व्यापारयुद्धको सेटलमेन्ट भएमा विश्वव्यापी रूपमा जुर्मुराइरहेको आर्थिकमन्दी टर्न सक्छ भन्ने आशाले पनि लगानीकर्ताको आँखा शेयरबजारतर्फ बढेको हुन सक्छ ।

यद्यपि जुन सुधार भारतमा अहिले भएको छ । यसले उच्च वर्गलाई मात्र सकारात्मक असर पार्छ । तल्लो वर्ग जो सडकमा छ । जसको तरकारी बिकेको छैन । खुर्सानी भान्टा कुहिएको छ । प्याज बिक्छ तर भाउ बढेर ८० रुपया भएको छ । त्यसको समाधान खोजिएको छैन । जबसम्म ८५ प्रतिशत असंगठित क्षेत्रको व्यापारमा सुधार आउँदैन, त्यहाँ खपत बढ्दैन । उपभोग नबढेसम्म नेपाल र भारत लगायत दक्षिण एशियाका कुनै देशमा पनि आर्थिक सुधार भयो भनी घोषणा गर्नु अपरिपक्व विश्लेषण हुन सक्छ । किनकि उपभोग नै अर्थतन्त्रको आत्मा हो ।

पैतालामा काँडा बिझ्यो र टुप्पीमा पट्टी बाँधियो भने देख्नेले त उपचार भइरहेको छ भन्नालान् तर घाउ त दुख्न छोडेको हुँदैन । नेपाल र भारतको समस्या अहिले रोजगारी दर घट्नु नै हो । यसका केही उदाहरणमा त्यहाँको मारुती कम्पनीले ३ हजार कर्मचारीको करार रिन्यु गरेको छैन । निर्माण क्षेत्रमा काम गर्ने मजदूर पनि खाली छन् । 

भारत सरकारले मागेको ५९ मिनेटमा ऋण उपलब्ध गराउने वाचा गरेको छ । तर, बंैकका ऋण अधिकृत भन्छन्, ‘सरकारले भनेकै भरमा ऋण दिएर के गर्ने ? ऋण उठाउनु त हामीले पर्छ । उठाउने आधार छैन ।’ वास्तवमा ऋण पाइनु ठूलो कुरा भएन, मूल कुरा त त्यो ऋण परिचालन गरी त्यसबाट नाफा गरेर ऋण तिर्नुमा पो कठिनाइ छ ।

नेपालमा पनि एउटा यस्तै घटना भइसकेको छ । सरकारले सिन्डिकेट खारेज गरेको छ भनेर आधा दर्जनभन्दा बढी बस कम्पनीले विभिन्न बैंकबाट ऋण लिएर सयौं बस सडकमा गुडाएका छन् । तर, ती सबै बस कम्पनीले ऋणको किस्ता तिर्न नसककेको बताइन्छ । 

भारतमा पनि तल्लो तहमा यस्तै समस्या होलान् । तर, अहिले सेन्सेक्स र निफ्टीमा आएको सुधारले केही खुशीयाली ल्याएको छ । यता नेपालमा लगातार २ दिन घटेको शेयर १.७३ अंकले बढे पनि सोमवार कारोबार रकम घटेको छ । यो लेख लेख्दाको समयसम्म नेपालको शेयर कारोबार मापक सूचक ११४०.९८ विन्दुमा छ । 
 
तुलनात्मक रूपमा नेपालको अर्थतन्त्र र भारतको अर्थतन्त्रका बीचमा ठूलो अन्तर छ । यहाँ विप्रेषण आउँदासम्म मानिसको क्रयशक्तिमा ठूलो ताŒिवक असर पर्दैन । निजामती कर्मचारी, प्राध्यापक, शिक्षक, सेना प्रहरी आदि सबैको तलब बढेकाले आन्तरिक माग लगभग यथावत् छ । माग यथावत् रहेसम्म आयात हुन्छ । आयात हुनासाथ भन्सार, भ्याट लगायत करले राजस्व आइरहन्छ । त्यसैले नेपाल आत्तिएको अवस्था छैन तर भारत र चीनजस्ता उत्पादनमूलक देशमा आन्तरिक माग र खपत घट्नुले अति नै कठिनाइ सृजना गर्छ । 
 
परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ राष्ट्रपति असोज २७ गते नेपाल आउने भएका छन् । यस चर्चाले पनि नेपालको शेयरबजारले ठूलो स्वागत गर्न सकेन । नेपालको अर्थतन्त्रलाई चीन र भारतको अर्थतन्त्र सुधारक संकटमोचक रूपमा उभ्याउन सक्नुपर्छ । त्यस किसिमको आर्थिक सोच विकास गर्नुपर्ने बेलामा हामीले सिन्की र तामा जस्ता सामान्य चिज पनि क्रमशः  चीन र भारतबाट आयात गरेका छांै । अब आर्थिक सुधारका लागि नेपालले भारत र चीनका आवश्यता पूरा गर्ने बेलीब्रिजका रूपमा सोच्न जरुरी छ । 

लेखक कैलाशकुट बहुमुखी क्याम्पस चाबहिलमा व्यवस्थापन विषयका अध्यापक हुन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।