कास्की । दशैंलाई लक्षित गर्दै पोखरामा भेडाच्यांग्रा भित्रिने क्रम शुरू भएको छ । मुस्ताङ, हुम्ला, मुगु, डोल्पा, बझाङ लगायतका स्थानबाट बडादशैंका लागि ल्याइएका भेडाच्यांग्रा पोखराका विभिन्न स्थानबाट विक्री थालिएको छ । व्यवसायीहरूले दशैंका लागि करीब ३० हजार च्यांग्रा पोखरामा भित्रिएको बताएका छन् ।
पोखरामा अष्टमी र नवमीको दिनमा मात्र ठूलो संख्यामा च्यांग्रा भित्र्याइने गर्दछन् । फूलपातीको दिनमा विशेषगरी च्यांग्राको विक्री ह्वात्तै बढ्ने गर्दछ । पोखरा भित्रिएका भेडाच्यांग्रामध्ये ७५ प्रतिशत पोखरामै खपत हुने व्यवसायीको भनाइ छ । करीब २० प्रतिशत च्यांग्रा बुटवल, नारायणगढ लगायतका ठाउँहरूमा लगिने गरेको छ ।
दशैंका बेला पोखरामा करीब १ अर्ब ५० करोड बराबरको मासुको कारोबार हुने गरेको छ, जसमा ६० करोडभन्दा बढी च्यांग्राको कारोबार हुने गरेको पोखराका मासु व्यवसायीको भनाइ छ । व्यापारीहरूले गत वर्षभन्दा यस वर्ष भेडाच्यांग्राको मूल्य केही महँगो भएको बताएका छन् । मुस्ताङबाट दशैंका लागि भेडाच्यांग्रा ल्याएका व्यवसायी खिमलाल अधिकारीले यस वर्ष एउटा च्यांग्राको १८ हजार देखि ३५ हजार रुपैयाँसम्म पर्ने बताए ।
कर र बिचौलियाका कारणले च्यांग्राको मूल्य बढेको उनले बताए । ‘भेडाच्यांग्रा पोखरासम्म ल्याउँदा निकै सास्ती खेप्नु प¥यो,’ उनले भने, ‘ठाउँठाउँमा स्थानीय तहलाई सरकारलाई कर, गुण्डा र बिचौलियालाई कमिशन दिनुपर्ने बाध्यता छ ।’
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।