सन् २०१३ मोबाइलमय वर्ष

Share News

सन् २०१३ समाप्तिको सङ्घारमा आइपुगेको छ । कतिपयका लागि निकै फलदायी रहेको यो वर्ष कतिका लागि भने सोचेजस्तो भएन होला । तर, प्रविधिको संसारमा भने यो वर्ष अविस्मणीय रह्यो भन्दा फरक नपर्ला । किनकि, यो वर्षले वास्तवमा सबैलाई ‘मोबाइलमय’ बनायो । मोबाइल भन्नाले हामी फोन गर्न प्रयोग हुने उपकरणमा मात्र सीमित छैनौं । हामी त सञ्चारको त्यस्तो प्राविधिक साधनबारे चर्चा गर्दैछौं, जसको सहायताले हामी कुनै पनि स्थानमा बसेर कुनै पनि बेला इण्टरनेट तथा सामाजिक सञ्जालसँग जोडिइरहन सफल भयौं । मात्र आवश्यकता थियो त प्राविधिक पहुँच बनाउन सघाउने उपकरणको, जुन निम्नदेखि उच्च वर्गसम्मका मानिसको हातहातमा मोबाइल फोन, ल्यापटप, ट्याब्लेट, डेस्कटप आदिको रूपमा रहेको छ  । प्रविधिको विकाससँगै अहिले सबै सुविधायुक्त उपकरण सस्तोमा मूल्यमा पनि पाउन थालिएको छ । यसैले गर्दा पनि यो वर्ष हामी मोबाइलमय भएका हौं ।

मोबाइलमा अहिले थ्रीजी, वाईफाईलगायत सुविधासँगै व्यापार–व्यवसाय, सम्पर्क, दैनिक क्रियाकलाप आदिलाई सघाउने विभिन्न एप प्रयोगमा आएका छन् । तर, प्रविधको दुनियाँमा भित्रिएका यस्ता सेवासुविधासँगै यसले ल्याउने चुनौतीलाई भने भुल्नुहुँदैन ।

थालनी स्मार्ट जमानाको
एक्सेलोमिटर (चलायमान वा कम्पनयुक्त सामग्रीको गति नाप्ने उपकरण), ग्लोबल पोजिशनिङ सिष्टम (जीपीएस) नेविगेशन सिष्टम (अवस्थिति बताउने प्रणाली), हाई डेफिनेशन (एचडी) क्यामेरा, वायरलेस कनेक्टिभिटी (ताररहित इण्टरनेट), स्मार्टफोनलगायत उपकरणको व्यापक प्रयोग यसै वर्ष शुरू भयो । यसैको बढ्दो प्रयोग तथा लोकप्रियतासँगै विभिन्न आश्चर्ययुक्त एप्लिकेशनको विकासले पनि तीव्रता पायो, जसका कारण स्मार्ट सामग्री बोक्ने मानिसका हातमा विश्व नै समाहित भएको अनुभूतिसमेत गर्न थालियो । आफ्नो मोबाइल, ट्याब्लेटलगायतमा एप इन्ष्टल गरी विभिन्न उपकरणका रूपमा समेत प्रयोग गर्न सम्भव भयो । यसै वर्षको जुलाई महीनामा क्यालिफोर्निया इन्ष्टिच्युट अफ टेक्नोलोजी (क्यालटेक)को समूहले तयार गरेको एउटा एपले साधारण स्मार्टफोनलाई सिस्मोमिटरका रूपमा प्रयोग गर्न सकिने बनायो । यसको प्रयोगपछि स्मार्टफोनको सहायताले भूकम्पीय झ्ट्कासमेत नाप्न सकिन्छ । यस्तै अचम्मका कयौं एप यसै वर्ष वर्ष सार्वजनिक भए । साथै, आममानिसले अत्यधिक रुचिका साथ तिनको प्रयोग गरी प्राविधिक जगत्मा नयाँ फड्गो मारेको अनुभूति गरे । प्रविधिको यस्तै विकासका कारण अहिलेको जमानालाई स्मार्ट जमानाको उपाधि नै दिलायो ।

स्मार्ट परिवर्तन
स्मार्टयुगले मानिसको व्यवहारमा उल्लेख्य परिवर्तन ल्याएको लण्डन बिजनेश स्कूलको इन्फर्मेशन लिडरशिप नेटवर्कका निर्देशक डेविड चान बताउँछन् । शपिङ गर्ने, घरायसी तथा कार्यालयीय काम गर्ने, कुरा गर्नेलगायत काममा स्मार्ट उपकरणले ठूलै परिवर्तन ल्याएको छ । तर, यो परिवर्तनलाई आत्मसात् गर्न नसकिएका उदाहरण पनि हाम्रा सामु छन् । उदाहरणका लागि विदेशमा पारम्परिक बजार प्रणालीलाई नयाँ अनलाइन शपिङ कन्सेप्टले करीब विस्थापित नै गरिसकेको छ । नेपालमा भने अझै पनि यसको सफल प्रयोग हुन सकेको छैन । तर, हाम्रोबजार डटकम, यसकाठमाण्डु डटकमलगायतले भने अनलाइन बजार प्रणालीमा आमउपभोक्तालाई ल्याउन गरेका प्रयास केही मात्रामा सफल देखिएका छन् ।

यसैगरी सामाजिक सुरक्षाका लागि अहिले वार्निङ प्रणालीको समेत विकास भएको छ । यसको प्रयोगले चोरी, हुलदङ्गा, महिलाहिंसालगायतबाट धेरैलाई सुरक्षा प्रदान गर्न सकिन्छ । यसैगरी साधारण फोनको प्रयोगबाटै स्वास्थ्यको रेखदेखसमेत गर्न सकिने भएको छ । स्मार्टफोनले मुटुको धड्कन, रक्तचाप, क्यालोरीलगायतको अवस्थाबारे नाप्न सकिन्छ भने प्राप्त नतीजा अपलोड गरी थप सहयोग लिन सकिन्छ । शेयर गर्ने तथा सहयोग गर्ने यो नयाँ तरीकाले साधारण जाँचका लागि डाक्टरसम्म धाउनुपर्ने, कुर्नुपर्ने जस्ता झन्झटको पनि अन्त्य हुँदै गएको छ । क्राउड सोर्सिङ, इञ्जिनीयरिङ तथा विज्ञानको विशेषताले धरैका योजनालाई गति प्रदान गरेको छ । यसमा डीएनएको विश्लेषणदेखि एप डिजाइनसम्मका कार्यसमेत पर्छन् ।

यसैगरी माइक्रो चिपसहितका रेकर्ड गर्ने उपकरणको विकास तथा परिमार्जनसमेत भएको छ । यस्ता उपकरणले रेकर्ड गर्नुका साथै एकैपटकमा ताररहित इण्टरनेटको माध्यमबाट डाटा पठाउन वा अपलोड गर्न सकिन्छ । यी उपकरणको प्रयोग विश्लेषण गर्न सघाउने एप सँग पनि गर्न सकिन्छ । यस्ता उपकरणले समग्र विश्वको कार्यशैली तथा व्यवहारमा व्यापक परिवर्तन ल्याइदिएको छ ।

परिवर्तनसँगै निम्तिएका चुनौती
प्रविधिमा आएको परिवर्तनसँगै अहिले औषधि खाने समय भएमा मोबाइल फोनमा सन्देश आउने, घरलाई तातो वा चिसो बनाउने उपकरण नियन्त्रण गर्नेलगायत कार्यमा समेत स्मार्टफोनको प्रयोग गर्न सकिने भएको छ । यो सबै कनेक्टिभिटीको सहायताले सम्भव भएको हो । यसले धरै सम्भावनाका बाटो पनि खुला गरिदिएको छ । तर, यस्ता कार्य गर्न आवश्यक डिजिटल सेन्सरका कारण डाटा उत्पादनमा अत्यधिक वृद्धि आएको छ । यसलाई सञ्चय गर्न, विश्लेषण गर्न, नियन्त्रण गर्न तथा अनुचित प्रयोगकर्ताबाट जोगाइराख्न भने कठिनाइ सृजना हुन थालेको छ ।

उदाहरणका लागि एडवर्ड स्नोडेनले अमेरिकाको सुरक्षा एजेन्सीहरूको प्रिज्म डिजिटल निगरानी कार्यक्रमको खुलासा गरेको घटनालाई लिन सकिन्छ । सन् २०१३ मा कर्पोरेट डाटा र क्लाउडमा आधारित स्टोरेज सेवा दुवैको व्यापारिक विश्वासमाथि ठूलो झट्का लागेको छ । मोबाइल फोन तथा यसका प्रयोगकर्तामा आएको तीव्र वृद्धिले यसलाई थप सहयोग पुर्‍याएको छ । यसकारण अहिले अधिकांश कार्यालयका आईटी व्यवस्थापक सुरक्षाका उपाय खोज्ने तथा तिनको प्रयोग गर्नेतिर लागिपरेका छन् ।

गार्टनर (प्रविधिसम्बन्धी अनुसन्धान गर्ने संस्था०का स्टिभ पेण्टिसले यसै वर्षको वर्षको शुरुआतमा पूर्वानुमान लगाउँदै भनेका थिए, ‘क्लाउड कम्प्युटिङ, सेवा र स्टोरेजमा थप वृद्धि आवश्यक छ । मोबाइल उपकरणको प्रयोगमा आएको वृद्धिसँगै, एप, गेमलगायतको प्रयोगमा पनि स्वाभाविक रूपमा उच्च वृद्धि हुनेछ । त्यसैगरी, ब्राउजिङ, शपिङलगायत कार्यमा समेत उच्च वृद्धिको सम्भावना  छ । फेसबूक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा मानिसहरू आफ्ना असङ्ख्य साथीसँग शेयर गर्नेछन् । यसका लागि ब्याण्डविथ तथा इण्टरनेटको गतिमा उल्लेख्य वृद्धि गर्नु आवश्यक हुन्छ ।’ जुन अहिले सही प्रमाणित भएको छ ।

स्रोत : विभिन्न वेबसाइट

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।