भारत र चीन दुवैले आफ्ना अर्बौं जनता पाल्न एकआपसमा व्यापार गर्नैपर्छ । त्यसैले दुवैलाई नेपाल नभई हुँदैन । यही भूपरिस्थितिलाई सहज बनाउन सकेमात्र नेपालमा रेल सम्भव छ । व्यापार मानव जीवनको फूल हो । चीन र भारतलाई त्यो पूmलप्रति आकर्षित नगरेसम्म यहाँ रेल, व्यापार, पर्यटक वृद्धि कठिन हुन्छ ।
अमेरिकाले ज्यादै कठोर व्यवहार गर्दागर्दै पनि चिनियाँ मोबाइल कम्पनीले हुवावेईले २३ प्रतिशतले नाफा बढायो । यसको अर्थ हो, अमेरिकाबाहेक पनि चीनका लागि विश्व बाँकी छ र उसले आप्mनो व्यापार गर्न सक्छ । भारत पनि समानान्तर रूपमा व्यापार बढाउने पक्षमा छ । चीनको झन्डै १ अर्ब ४० करोड जनसंख्या र भारतको झन्डै १ अर्ब ३० करोड जनसंख्या रहेको छ । ६ जुन २०१९ सम्म भारत र चीनबीच १०० अर्ब डलरको व्यापार भइसकेको छ । यी दुई देश बीचको व्यापार सहजीकरणका लागि नेपालले भूमिका खेल्न सक्छ र खेल्नुपर्छ ।
हाम्रो रेल चाहना तत्काललाई थाती राखेर त्रिदेशीय रेल वा त्रिदेशीय बेल्ट एन्ड रोडका बारेमा सोच्न जरूरी छ । आजको मितिमा खर्बौं रकम खर्च गरेर विनाव्यापारिक प्रयोजन नेपालमा रेल आउला भनेर सोच्नु असम्भव परिकल्पना हो । नेपालको अर्थतन्त्रमा नयाँ आयाम शुरू गर्ने हो भने चीन र भारतको व्यापार सहजीकरणका लागि नेपालबाट रेलको अवधारणा अगाडि बढाउनुपर्छ ।
नेपालको अर्थ कूटनीतिलाई त्रिदेशीय आर्थिक सञ्जालभित्र जोडेर नयाँ तरीकाबाट हेर्न जरुरी छ । चिनियाँ राष्ट्रपतिले २४ घण्टा नेपाल बस्दा केही स्पष्ट सन्देश दिए । ती सन्देश हुन् : चीनले भावनाका कुरा गर्दैन, जे बोल्छ, त्यो गर्छ । नेपालको विकास नेपालीले नै गर्ने हो ।
विश्वका सबैभन्दा शक्तिशाली मानिसले नेपालीलाई दिएका मूल सन्देश यिनै हुन् । यी कुरालाई मनन गरेर नेपालले त्रिदेशीय रेल वा त्रिदेशीय बेल्ट एन्ड रोडको प्रस्ताव भारत र चीनसँग संयुक्त रूपमा राख्नुपर्छ । जबसम्म चीन र भारतबीच व्यापारको दोहोरो परिशृंखला सृजना हुँदैन तबसम्म बलियो एशियाको निर्माण हुँदैन । यही कुरा बुझेर जम्मु कश्मिरमा धारा ३७० हटाइएको अवस्था र डोकलाम विवाद हुँदाहुँदै पनि चिनियाँ राष्ट्रपति भारतमा गएर यसबारे कुनै कुरा उठाएनन् । यसको अर्थ हो : दुवै देशका लागि व्यापार पहिलो हो । नेपालले पनि सम्बन्धमा व्यापारिक सोच राख्नुपर्छ, बिन्तीवादी सोच होइन ।
यी दुई देशबीचको व्यापारका लागि सहजमार्ग नेपाल नै हो । नेपाल भएर मालवाहक रेल र सँगै यात्रुवाहक रेलको नेटवर्क चीन र भारतको सम्पन्नताका लागि आवश्यक छ । यसका लागि नेपाल सेतु बन्न सक्छ । परस्पर लाभको संकेतविना कसैले कसैलाई केही दिँदैन । उनीहरूको व्यापारका लागि हामीले बाटो दिनुपर्छ ।
नेपालको उत्तरमा तिव्बत छ जुन नेपालभन्दा ९ गुणा ठूलो छ र त्यहाँको जनसंख्या नेपालको भन्दा ९ गुणा कम छ । त्यस्तो अवस्थामा पनि चीनले ल्हासाबाट सिगात्सेसम्म रेल ल्याएको छ । त्यतिले नै तिब्बतका जनता लाभान्वित भइसकेका छन् । त्यो रेल केरुङ ल्याउनु चीनका लागि त्यति आवश्यक छैन । त्यसैले नेपालले भारतसँग पहल गरेर त्यो रेललाई सुनौली पु¥याएर भारतको सबैभन्दा बढी जनसंख्या भएको उत्तरप्रदेश, विहार, पश्चिम बंगालसँग व्यापार गर्न सक्छ । भारतले पनि चीनलाई अर्बांै डलरको निर्यात बढाउन सक्छ । नेपाल भएर रेल चीन र भारत कुद्नु ती दुई देशका लागि अति लाभदायी छ ।
यो कुरा दुवै देशका शासकलाई बुझाउन सक्नु नेपाली शासकहरूको प्रमुख आधार नीति हुनुपर्छ र मात्र नेपालमा रेल आउन सम्भव छ । यो कुराको संकेत सी चिनफिङ भारतमा गएर नेपाल आएको विषयले पनि स्पष्ट पारेको छ ।
त्रिदेशीय लाइनका बारेमा दुवै देशलाई जोड्ने आधार नेपाल हो । चीन भारतका पश्चिम हिमाचल प्रदेश र पूर्वमा सिक्किम, अरुणाचल प्रदेशसँग मात्र जोडिएको छ । ती दुवै ठाउँबाट व्यापार गर्न असजिलो छ ।
चीन र भारतको व्यापार वृद्धिबाट नेपालले के पाउँछ त भन्ने प्रश्न हामी सबैमा उब्जिन सक्छ । यसका बारेमा आजबाट नै सोच्नुपर्छ । हामीले चीनलाई के बेच्न सक्छांै र भारतलाई के ? नेपालभन्दा धेरै विकसित भए पनि दुवै देश आत्मनिर्भर छैनन् । त्यसैले लाभ र लागत सन्तुलनबाट सस्तोमा उत्पादन हुने अनेक वस्तु छन् जुन नेपालले निर्यात गर्न सक्छ । यदि भारत र चीनबीचको ५० प्रतिशतमात्र व्यापार नेपालको भूमिबाट हुने अवस्था सृजना भयो भने नेपाल र नेपालीको व्यावसायिक चिन्तन नै फरक हुन्छ ।
चिनियाँ विदेश मन्त्रालयको पछिल्लो प्रतिवेदन ग्लोबल टाइम्समा छापिएको छ । त्यसका अनुसार यो वर्ष जनवरीयता मात्र चीनले अमेरिकाबाट २ करोड टन सोयाबिन, ७ लाख टन सुंगुरको मासु, ७ लाख टन सरगम, २ लाख ३० हजार टन गँहु, ३ लाख २० हजार टन कपास आयात गरी सकेको छ । यी र यस्तै सम्भाव्य वस्तु नेपालले उत्पादन गर्ने रणनीति बनाएर रेल यातायातको सदुपयोग गर्न सकिन्छ । अहिलेसम्म भारत बेल्ट एन्ड रोडमा चीनसँग सहमत छैन तर जब उसको व्यापार अर्बौंले बढ्ने अवस्था आउँछ त्यतिबेला नमान्ने अवस्था रहँदैन । त्यसैले नेपाललाई संगम केन्द्र बनाएर दुई देशको व्यापार बढाइदिने रणनीति नै नेपाल सम्पन्नताको आयाम हुन सक्छ ।
यो अवधारणामा दुवै देशले आआप्mनो देशमा रेलमार्ग बनउँछन् नेपालको लगभग २०० किलोमीटरका लागि ३ देशले बराबर लगानी गर्ने अवधारणा उपयुक्त हुन सक्छ । नेपाल, भारत र चीन त्रिदेशीय व्यापारले यो क्षेत्रलाई आगामी दिनमा विश्वको महत्त्वपूर्ण व्यापारिक हब बनाउनेछ । जुन दिन भारत–नेपाल–चीनबीच त्रिदेशीय रेल सम्झौता हुन्छ त्यसपछि नेपालको आर्थिक वातावरणले नयाँ स्वरूप लिनेछ र प्रधानमन्त्रीको सपना पनि साकार हुनेछ ।
लेखक कैलाशकुट बहुमुखी क्याम्पस चाबहिलमा व्यवस्थापन विषयका अध्यापक हुन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।