तिहार समृद्धिको चाड : लगानीको शुभसाइत

Share News

धनकी देवी लक्ष्मीको पूजा हुने तिहारलाई समृद्धिको चाड तथा लगानीको शुभसाइतका रूपमा समेत लिने गरिन्छ । लक्ष्मी पूजाका दिन सार्वजनिक बिदा भए पनि व्यापारिक केन्द्रहरू भने खुला रहन्छन् ।

वर्षभरिकै किनमेलको शुभसाइतका रूपमा धनतेरसका दिनलाई लिने प्रचलन पनि बढ्दो छ । उक्त दिन मानिसहरू बहुमूल्य धातुहरू किन्छन् अर्थात् तिनमा लगानी गर्छन् । यो दिनमा सक्नेले सुनचाँदीका सिक्का, पूजाका सामग्री वा गर–गहना किन्छन् । नसक्नेले तामा पित्तलका दियो, कलश, खड्कुलो लगायत भाँडाकुँडाहरू किन्छन् । यो दिनमा यस्ता सामानहरू किन्दा घर–परिवारमा समृद्धि आउने विश्वास  गरिन्छ । भारतमा त उक्त दिन केही घन्टाका लागि मात्रै भए पनि स्टक एक्सचेन्ज खुला गर्ने गरिन्छ  र केही घन्टाका लागि धितोपत्र खरीद विक्री हुन्छ, जसलाई ‘मुहुरत ट्रेडिङ’ भनिन्छ । 

सुनचाँदी स्थायी सम्पत्ति हुन् । अलि अलि पैसा हुँदा किनेर राखिएको सुनचाँदीलाई आर्थिक कठिनाइ परेको बेलामा बेचेर गर्जो टार्न सकिन्छ । त्यसैले नेपालीहरूले प्रायः सुनचाँदी र तिनका गर–गहना किनेर  राख्ने गरेका छन् । शेयर लगायत अन्य जोखिमयुक्त सम्पत्तिहरूको तुलनामा सुनचाँदीको मूल्यमा खासै धेरै उतारचढाव आउँदैनन् । यसमा गरिएको लगानीले धेरै घाटा हुँदैन । केही वर्ष साँचेर राख्ने हो भने विक्री गर्दा भाउ थोरै भए पनि बढी हुन्छ भनेर पनि यस्ता बहुमूल्य धातुमा लगानी गरिन्छ । 

सुनचाँदीमा लगानी
सुनचाँदीलाई लगानीका रूपमा लिने चलन हामीकहाँ मात्रै नभई संसारभर नै छ । विदेशमा त झन् राजनीतिक र आर्थिक अनिश्चयका बेलामा सुरक्षित लगानीको साधन मानेर सुन किनिन्छ । धनतेरसको बेलामा किनियोस् वा अरू बेला, सुनचाँदी खरीद गर्दा विचार गर्नुपर्ने केही कुराहरू छन् । 

  • लगानीका रूपमा सुनचाँदी किनेर राख्दा गरगहना वा सामग्रीका रूपमा राख्नु हुँदैन । पछि बेच्दा ज्याला र जर्ती काटिन्छ । सकेसम्म ढिक्कै सुन किनेर राख्यो भने पछि केही पनि कटौती गर्नु पर्दैन । तर अहिले नेपालमा आम जनताले सुनको ढिक्का किन्न नपाउने व्यवस्था गरिएको छ । त्यसैले कारिगरी कम प्रयोग भएको सुनको गहना किन्नु पर्छ । उदाहरणका लागि बेरुवा औंठी । 
  • भौतिक सुनको सट्टा सुनको सर्टिफिकेट किनबेच गर्न पाइने सुविधा अन्यत्र छ, नेपालमा छैन । यो व्यवस्था ल्याउन सके लगानी सुरक्षणको बलियो माध्यम हुन सक्छ । यसका लागि गोल्ड एक्सचेन्ज ट्रेडेड फन्डहरू हुनु आवश्यक छ ।
  • सुन लगानीको साधन भए पनि यो अनुत्पादक लगानी हो । सुनले कसैलाई जागिर दिँदैन न त आवधिक रूपमा नगद नै दिन्छ । अझ सुनका गरगहनामा लगानी छ भने त्यो बेच्दा लाभभन्दा घाटा धेरै हुने डर हुुन्छ । सुनको दीर्घकालीन प्रतिफल निकै कम हुन्छ । सुनमा गरिएको लगानीले निरन्तर आय दिँदैन । 
  • बरु शेयरमा लगानी गर्ने हो भयो भने लाभांश पाउन सकिन्छ । हकप्रद शेयर पाउन सक्नुहुन्छ । ती शेयर बेचेर पछि पूँजीगत लाभ पनि कमाउन सक्नुहुन्छ । तर सुनले आवधिक रूपमा नगद दिँदैन ।
  • सुन गरगहनाका रूपमा लगाउन काम लाग्छ कि बैंकका लकर वा घरका दराजमा लुकाएर राख्न । सबैभन्दा महŒवपूर्ण कुरा संसारका अर्बपतिहरू सुनमा लगानी गरेर धनी भएका होइनन् । उनीहरू व्यापार व्यवसाय गरेर धनी भएका हुन्, विभिन्न कम्पनीको शेयरमा लगानी गरेर आज यो स्थानमा आइपुगेका हुन् । सुन आयात बढ्दा व्यापार घाटा बढ्छ । 

सुनको मूल्यमा कसरी घटबढ हुन्छ ? 
अन्तरराष्ट्रिय बजारमा सुनको भाउमा आउने उतारचढावका आधारमा यहाँ दिनहँु सुनको भाउ तोकिन्छ । अन्तरराष्ट्रिय जगत्मा देखा पर्ने आर्थिक मन्दी, विश्वका प्रमुख अर्थतन्त्रमा देखा पर्ने आर्थिक सामाजिक र राजनीतिक उथलपुथल लगायत अवस्थाले पनि सुनको भाउ प्रभावित हुन्छ । सुनको कारोबार मुख्यतः अमेरिकी डलरमा हुन्छ । अमेरिकी अर्थतन्त्र खस्किएपछि मुद्रा डालो (करेन्सी बकेट)मा आबद्ध प्रमुख मुद्राका तुलनामा डलर सूचक कमजोर हुँदा अन्य मुद्रावाहकका लागि सुन सस्तो हुन्छ । सुनको माग बढ्छ अनि मागसँगै भाउ पनि बढ्छ ।

डलर महँगो हुँदा चाँहि सुनको माग घट्छ र सुनको भाउ पनि प्रभावित हुन्छ । अन्तरराष्ट्रिय बजारमा डलरमा सुनको मूल्य घटे पनि नेपालमा नघट्न पनि सक्छ । नेपाली रुपैयाँको तुलनामा डलरको विनिमय दर बढ्दा पनि यहाँको बजारमा सुन महँगो हुन सक्छ । 

लगानीका विभिन्न ‘एसेट क्लास’ हुन्छन् । लगानीकर्ताले एउटै खालको ‘ऐसेट क्लास’मा मात्रै सबै लगानी गर्नु हुँदैन । लगानी विविधीकरण गर्नुपर्छ । नत्र त्यो एसेट क्लासको मूल्य घट्न गएमा आप्mनो सबै लगानीको मूल्य घट्छ । सुनचाँदीबाहेक पनि घरजग्गा, बीमा पोलिसी, ऋणपत्र, शेयर बैंक निक्षेप आदिमा पनि लगानी गर्नु पर्दछ । भए जति सबै रकम शेयरमा मात्रै लगानी गर्दा पनि शेयर बजार धराशयी हुँदा लगानीकर्ता टाट पल्टिने स्थिति आउँछ । सुनमा मात्रै गर्दा लामो समयमा पनि यसले थोरै मात्रै प्रतिफल दिने भएकाले लाभ धेरै हुँदैन । त्यसैले आफ्नो लगानीलाई अलि अलि गरेर सबै खालका एसेट क्लासमा बाँढ्नु बुद्धिमानी हुन्छ । यसो भएमा एउटा सम्पत्तिमा घाटा भयो भने पनि अर्को सम्पत्तिले सो घाटा पूर्ति गर्न सक्छ । 

धनतेरसमा पछिल्लो समय मानिसले आफ्नो आर्थिक हैसियत र क्षमता पनि प्रदर्शन गर्ने गरेका छन् । आफ्नो सम्पत्तिको तुजुक देखाउने उद्देश्य हो भने त जे गरे पनि भयो । होइन भने सम्पत्तिको सुरक्षण हुने गरी बुद्धिमतापूर्वक लगानी गर्नु उचित हुन्छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।