पोखरा विमानस्थलमा स्याल आतंक, धपाउँदै बित्छ कर्मचारीको दैनिकी

Share News

कात्तिक १६, कास्की । पोखरा विमानस्थल केही दिनदेखि स्यालको क्रिडास्थल बनेको छ । विमानस्थलको धावनमार्गमै स्याल दौडिन थालेपछि कर्मचारीसमेत हैरान भएका छन् ।

विमानस्थल क्षेत्रमा केही समयदेखि स्याल दौडिन थालेपछि जहाज उडानमा समस्या भएको छ । कात्तिक लागेपछि धावन मार्गमै स्याल दौडिँदा जोखिम बढेको पोखरा विमानस्थलका प्रमुख भोलाप्रसाद गुरागाईंले बताए । 

‘कुकुर  तथा स्यालको गतिविधि अलि बढि हुने महीना भएकोले पनि यो सिजनमा विमानस्थलमा उडानमै समस्या भइरहेको छ,’ उनले भने । 

दुर्घटना नहोस् भनेर नियमित स्याल धपाउनुपरेको उनी बताउँछन् । विमानस्थल प्रमुख गुरागाईंले स्यालका कारण पोखरा विमानस्थलमा कुनै उडान अवरुद्ध भने नभएको बताए ।

 ‘स्यालका कारण कुनै उडान अबरुद्ध भएको छैन,’ उनले भने, ‘तर सम्भावित दुर्घटनालाई दृष्टिगत गर्दै सुरक्षा सतर्कता भने अपनाइएको छ ।’ विमानस्थलमा स्याललगायतका जंगली जनावर धपाउन छ जना कर्मचारी खटाइएको उनले बताए ।

‘स्याल र अन्य जंगली जनावर समाउनका लागि वन कार्यालयसँग समेत समन्वय गरिरहेका छौं,’ उनले भने । नजिकै सेती नदीको खाेंच रहेका कारण वर्षेनी कार्तिक मंसिर महीनामा स्याल विमानस्थलसम्म आउने गरेको उनले बताए ।

त्यसो  त धावनमार्ग नजिकै झाडी रहेका कारण  पनि घाम ताप्नका लागि स्याले धावनमार्गमा आउने गरेका छन् । विमानस्थलको धावनमार्गमा बिहानीपख आधादर्जन भन्दा धेरै स्यालको बथान देखिने गरेका  छन्  ।

पोखरा विमानस्थलबाट काठमाडौं, भरतपुर, जोमसोम, मनाङलगायतका गन्तव्यमा गरी दैनिक ३० उडान हुने गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।