कात्तिक २०, सिड्नी । अस्ट्रेलियाको महिला राष्ट्रिय फुटबल टिमका खेलाडीले पुरुष राष्ट्रिय टिमका खेलाडी सरह पारिश्रमिक प्राप्त गर्ने बुधवार सम्झौता भएको छ । खेलकुदका क्षेत्रमा लैंगिक समानता कायम गर्न यो ऐतिहासिक निर्णय भएको भन्दै चौतर्फी स्वागत गरिएको छ ।
फुटबल फेडरेसन अस्ट्रेलिया (एफएफए) ले घोषणा गरेको नयाँ विधि अनुसार माटिल्डाका स्टार महिला खेलाडीहरु साम कर र एली कार्पेन्टरले सकरुजका चर्चित पुरुष खेलाडीहरु आरोन मूए र म्याट र्याएन सरह पारिश्रमिक प्राप्त गर्नेछन् ।
महिला खेलाडीहरुले पुरुषझैं अन्तरराष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाँदा विमानमा ‘बिजनेस क्लास’को टिकट पाउने छन् ।
अस्ट्रेलियाको यस निर्णयले अमेरिकी महिला फुटबल खेलाडीलाई पनि प्रोत्साहन मिल्नेछ किनभने उनीहरुले पनि अमेरिकी पुरुष फुटबल खेलाडी सरह पारिश्रमिकको माग गर्दै अदालतमा मुद्दा दायर गरेका छन् । उनीहरुको यस मुद्दामा अर्को वर्ष मे महीनामा सुनुवाई हुँदैछ ।
अस्ट्रेलिया फुटबल एसोसिएसनका अध्यक्ष क्रिस निकोउले भने, ‘फुटबल सबैको खेल हो, र यो नयाँ साझा सम्झौताले समानता, समावेशिता र अवसरका क्षेत्रमा अस्ट्रेलियाली मूल्यमान्यतालाई अझ बलियो बनाएको छ । ’
चार वर्षे यस सम्झौता बमोजिम सकरुज (पुरुष) र माटिल्डा (महिला) टिमले राष्ट्रिय टिमले गर्ने कुल आम्दानीको २४ प्रतिशत प्राप्त गर्नेछन र यो हरेक वर्ष १ प्रतिशत वृद्धि हुनेछ । अर्को शब्दमा उनीहरु जति बढी सफल हुनसके भूक्तानी पनि त्यसै अनुपातमा बढ्नेछ ।
एफएफएका प्रमुख डेभिड ग्यालोपले सकरुजले महिला फुटबल टिमलाई पनि आम्दानी बाँड्न इच्छा देखाएको जानकारी दिए । अस्ट्रेलियाली पुरुष फुटबलका कप्तान मार्क मिलीगानले महिलाहरु पनि आम्दानीको समान हकदार रहेको बताए । रासस/ एएफपी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।