लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्दै वालिङ नगरपालिका

Share News

तोलाकान्त बगाले

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने भएको छ । नगर क्षेत्रका परीक्षार्थीलाई सघाउन लोकसेवा आयोगको तयारी कक्षा निःशुल्क सञ्चालन गर्न लागिएको नगर प्रमुख दिलीपप्रताप खाँडले बताए । नगरभित्रका शिक्षित युवा युवतीलाई लक्षित गरिएको यो अभियानले शैक्षिक बेरोजगारी घटाउन सघाउने उनको भनाइ छ । ‘यो कार्यक्रमले लोक सेवा आयोजनाका विभिन्न परीक्षामा यहाँको जनशक्ति उत्कृष्ट बनाउन सहयोग पुग्ने विश्वास लिएको छु,’ उनले भने ।

नगरभित्र रहेका बेरोजगार जनशक्ति लोक सेवा आयोगको तयारीका लागि टाढा–टाढा जानुपर्ने बाध्यता भएकाले उक्त कार्यक्रम सञ्चालनको अवधारणा ल्याइएको नगर प्रमुख खाँडले बताए । पहिलो चरणमा अधिकृत र नायब सुब्बाको तयारीका लागि निःशुल्क कक्षा सञ्चालनको प्रक्रिया थालिएको जानकारी उनले दिए । ‘आगामी दिनमा बैंकिङ क्षेत्र, नेपाल प्रहरी र नेपाली सेनामा प्रवेशका लागि गर्नुपर्ने सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरू सञ्चालन गर्ने तयारीमा छौं,’ उनले भने ।

अधिकृत र नायब सुब्बाका लागि मङ्सिरको पहिलो हप्तादेखि ३–३ महीना अवधिका तयारी कक्षाहरू सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले बताए । ‘तयारी कक्षा सञ्चालनका लागि काठमाडौं, पोखरा तथा वालिङमै लामो समयसम्म अनुभव प्राप्त प्रशिक्षक मार्फत सञ्चालन गर्छौं,’ उनले भने । लोकसेवा आयोगले तयार पारेको तथा सम्भावित पाठ्यक्रमको आधारमा तयारी कक्षा सञ्चालन हुने उनले जानकारी दिए । लोक सेवा आयोगको तयारी कक्षामाा लागि कक्षा १२ उत्तीर्ण गरेको, ३५ वर्ष ननाघेको पुरुष र ४० वर्ष ननाघेको महिलालाई सहभागी बनाइने उनले बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।