विद्यार्थीलाई इन्टर्नशिपसँगै रोजगारी दिने सम्झौता

Share News

काठमाडौं । ई–बिजनेश र आईटी पढेका विद्यार्थीलाई इन्टर्नशिप र रोजगारीको अवसर प्रदान गर्नेबारे खल्ती डिजिटल वालेट र लर्ड बुद्ध एजुकेशन फाउन्डेशनबीच सम्झौता भएको छ । खल्तीका तर्फबाट प्रबन्ध निर्देशक मनीष मोदी र लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका तर्फबाट अध्यक्ष पंकज जलानले बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार लर्ड बुद्ध एजुकेशन फाउन्डेशन (कलेज)मा अन्तिम वर्षमा अध्ययनरत तथा उत्तीर्ण विद्यार्थीले खल्तीमा इन्टर्नशिपका लागि आवेदन दिन सक्नेछन् । छोटो अवधिको इन्टर्नशिप पूरा गरिसकेपछि उनीहरूलाई खल्तीमा पूर्णकालीन रोजगारी प्रदान गरिने सम्झौतामा उल्लेख छ । विशेषगरी खल्तीले विद्यार्थीको कक्षाको पढाइमा बाधा नपुग्नेगरी इन्टर्नशिपका लागि अनुकूल समय मिलाउनेछ । साथै कलेजसँग परामर्श गरेर परीक्षा तथा महत्त्वपूर्ण शैक्षिक प्रोजेक्टहरूको समयमा बिदाको पनि व्यवस्था गर्नेछ ।

यसैगरी मास्टर डिग्री पढ्न चाहने खल्तीमा कार्यरत कर्मचारीलाई लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले विशेष छात्रवृत्ति प्रदान गर्ने भएको छ । कार्यक्रममा खल्तीका प्रबन्ध निर्देशक मोदीले भने, ‘दुवै संस्थाहरूको मुख्य उद्देश्य नेपालको आईटी उद्योगको विकास गर्नु हो । यस सहकार्यले दुवै संस्थालाई थप ऊर्जा तथा हौसला प्रदान गर्नेछ,’ खल्तीमा इन्टर्नशिपका लागि आउने विद्यार्थीलाई सौहार्द वातावरणमा सिक्ने अवसर प्रदान गरिने उनले बताए । यसले कम्पनीको कार्यबलको गुणस्तर बढाउने अपेक्षा समेत उनले गरे ।

यसैगरी लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका अध्यक्ष पंकज जलानले खल्तीसँग भएको रणनीतिक सहकार्यले उत्साह बढाएको बताए । ‘लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले २१ वर्षदेखि सूचना प्रविधिको अध्ययन अध्यापन गराउँदै आएको छ,’ उनले भने, ‘खल्तीसँगको यस प्रकारको सहकार्य हाम्रा विद्यार्थीलाई एकदमै फलदायी हुने विश्वास लिएका छौं ।’

नेपालमा युवा बेरोजगारी बढ्दै गए पनि सूचना प्रविधि उद्योगले योग्य जनशक्ति नपाउने समस्या रहेको प्रबन्ध निर्देशक मोदीले बताए । उक्त सहकार्यले उद्योग र जनशक्तिबीच रहेको खाडल केही हदसम्म पुर्ने अपेक्षा गरिएको छ ।

सन् २०१७ देखि नेपाली बजारमा आएको खल्ती उदीयमान र प्रयोगकर्ताले रुचाएको पेमेन्ट गेटवे भएको दाबी प्रबन्ध निर्देशक मोदीले गरे । छोटो अवधिमै नेपालका ७० भन्दा बढी जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको कम्पनी दूरदराजमा रहेका मानिसबीच डिजिटल भुक्तानी सेवा पुर्‍याउन क्रियाशील रहेको उनले बताए । 

खल्ती नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक संस्था हो । त्यस्तै सन् १९९८ मा स्थापना भएको लर्ड बुद्ध एजुकेशन फाउन्डेशन नेपालको पहिलो आईटी कलेज हो । यी दुई संस्थाबीच भएको उक्त सम्झौताले अन्य उद्योग र शैक्षिक संस्थारूलाई पनि साझेदारीका प्रोत्साहन गर्ने बताइएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।