चेपाङ बस्तीमा सुविधासम्पन्न विद्यालय भवन

Share News


चुरियामाई । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका वडा नं ६, ७ र ८ मा पाँचओटा पक्की विद्यालय भवन निर्माण भएको छ । पाँचमध्ये चारओटा भूकम्प प्रतिरोधी तथा सुविधासम्पन्न भवनहरू सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । नेपाल सरकार, राक्सिराङ गाउँपालिका र जिल्ला शिक्षा समन्वय एकाइसहितको समन्वयमा जर्मनीको लिसा हिमालय ईभी र दिगो विकासका लागि एकता नेपाल नामक गैरसरकारी संस्थाले विद्यालयको पक्की भवन निर्माण गरी समुदायलाई हस्तान्तरण गरेका हुन् । 

वडा नं ७ को दामराङमा निर्मित दामराङ आधारभूत विद्यालय भवन एक समारोहका बीच लिसा हिमालय ईभी, जर्मनीका अध्यक्ष डानिला झारिङ र दिगो विकासका लागि एकता नेपालका तर्फबाट अध्यक्ष अच्युतप्रसाद पौडेलले बुधवार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष कुलबहादुर चेपाङलाई हस्तान्तरण गरे । सुरक्षित विद्यालय भवन निर्माण भएको भन्दै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गैरसरकारी क्षेत्रले स्थानीय सरकारलाई शिक्षाक्षेत्रमा गरेको सहयोग अमूल्य रहेको बताए । नवनिर्मित भवनले चेपाङ बालबालिकाको पढाइमा ठूलो सघाउ पुग्ने विश्वास उनले गरे ।

दामराङ आधारभूत विद्यालयको आठकोठे भवनमा दुईओटा व्यवस्थित शौचालय निर्माण गरिएको छ । त्यसैगरी शिशु स्याहार कक्षा पनि स्थापना गरिएको छ । भवन निर्माणका लागि रू. २ करोड ५७ लाख ९९ हजार खर्च भएको समारोहमा जानकारी गराइएको थियो ।

दामराङसहित लिसा हिमालय ईभी र दिगो विकासका लागि एकता नेपालले वडा नं ६ को प्रजा कल्याण प्राथमिक विद्यालय, वडा नं ८ को जनज्योति आधारभूत विद्यालय, 
वडा नं ६ को जनसेवा प्राथमिक विद्यालयमा पनि भूकम्पप्रतिरोधी भवन निर्माण गरिदिएको छ । यस्तै टिकेढुंगा प्राथमिक विद्यालयको भवन निर्माणाधीन अवस्थामा रहेको लिसा हिमालय ईभीका परियोजना संयोजक अन्जनप्रसाद पौडेलले जानकारी दिए । तीनओटा वडामा शिक्षा तथा स्वास्थ्य सहयोग कार्यक्रम अन्तर्गत संस्थाले चेपाङ, तामाङ र दलित समुदायका सबै छात्राहरूलाई पोशाक तथा शैक्षिक सामग्रीका साथै सबै विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरिरहेको छ । रासस 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।