काठमाडौं । त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा सहभागी हुन अनलाइन फाराम आह्वान गरेपछि दीक्षित हुने विद्यार्थीको संख्या बढेको छ । यस वर्र्ष हुने ४५औं दीक्षान्त समारोहमा १० हजार १७८ विद्यार्थीले आवेदन दिएको दीक्षान्त मूल समारोह समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए । गतवर्र्ष ९ हजार ५०४ विद्यार्थी दीक्षित भएका थिए । ‘अनलाइनबाट फाराम भर्न थालेपछि दीक्षित हुने विद्यार्थीको संख्या पनि बढेको छ,’ उनले भने, ‘गत वर्र्षभन्दा यस वर्र्ष १ हजार बढी विद्यार्थीले आवेदन दिएका छन् ।’
त्रिविले गत वर्षदेखि अनलाइन फारामको व्यवस्था गरेको हो । पहिले त्रिविस्थित परीक्षा नियन्त्रण कार्यालयमा आएर विद्यार्थीले आवेदन दिने गर्दथे । उनका अनुसार अनलाइनमा फाराम भर्नुभन्दा अगाडि करीब ७ हजार विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुने गरेका थिए । आवेदन दिएको उजुरीमाथि सुनवाइ गरी त्रिविले अन्तिम नामावली प्रकाशन गर्ने गर्दछ । सन् २०१८ जुन १५ देखि २०१९ जुन १४ सम्म लब्धांक पत्र (ट्रान्सक्रिप्ट) लिएका विद्यार्थी समारोहमा सहभागी हुन पाउने व्यवस्था छ । आगामी पुस ३ गते हुने समारोहमा ६ हजार ९०० अभिभावक समेत सहभागी हुने सदस्य–सचिव अधिकारीले बताए । सहभागी प्रतिअभिभावक शुल्क रू. ३०० तोकिएको छ । त्रिविले स्नातक तहका लागि रू. २ हजार २००, स्नातकोत्तर तहका लागि रू. २ हजार ७०० र एमफिल (दर्शनाचार्य) तथा पीएचडी (विद्यावारिधि)का लागि रू. ३ हजार २०० शुल्क तोकेको छ । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।