४२ महीनामा ५ हजार २०० विद्यालय पुनर्निर्माण

Share News

काठमाडौं । भूकम्प गएको ४२ महीनाभित्र कुल ५ हजार २०० विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । २०७२ पुुस १२ गते गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले फागुन १७ गते शिक्षा मन्त्रालय अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (सीएलपीआईयू) गठन गरेको थियो । २०७३ वैशाखदेखि काम थालेको इकाइको संयोजनमा गएको असोजसम्ममा उक्त संख्याका विद्यालयको पुनर्निर्माण भएको हो ।

२०७२ वैशाख १२ को भूकम्पबाट ३१ जिल्लाका कुल ७ हजार ९२३ विद्यालयका ४९ हजार ६९० कक्षा कोठाहरूमा क्षति पुगेको थियो । केही कक्षा कोठादेखि पूरै विद्यालय नै क्षति भएको अवस्थामा यसबीच विद्यार्थी संख्या कमी तथा नजिक नजिक भएका विद्यालयहरू मर्ज गर्ने अवधारणा पनि ल्याइएको थियो, जसअनुरूप ३७० विद्यालय मर्ज गरिएको छ । त्यसपछि पुनर्निर्माण सम्पन्न गर्नुपर्ने अवस्थामा रहेका विद्यालय संख्या ७ हजार ५५३ मा झरेको थियो । उक्त विद्यालयमध्ये ५ हजार २०० ओटाको पुनर्निर्माण सकिँदा अब पुनर्निर्माण हुन बाँकी विद्यालयको संख्या २ हजार ३५३ छ । 

उक्त संख्याका विद्यालयमध्ये ३५३ विद्यालयसँग आफ्नो नाममा वा आवश्यक परिमाणमा जग्गा नरहेको इकाइले जानकारी दिएको छ । यसले गर्दा आप्mनै नाममा जग्गा भएका तथा पर्याप्त जग्गा भएका विद्यालयको पुनर्निर्माण प्राथमिकतामा परेको छ । पुनर्निर्माण गर्न सकिने अवस्थामा रहेकामध्ये २ हजार विद्यालय पुनर्निर्माणमा रहेको सीएलपीआईयूले जानकारी दिएको छ ।

विद्यालयका नाममा जग्गा नहुने तथा पर्याप्त जग्गा नहुने समस्या काठमाडौं उपत्यकामा बढी देखिएको छ । पहिले मन्दिर तथा गुठीले सञ्चालन गरेका विद्यालयका नाममा जग्गा नभएको तथा विद्यालय पनि साँघुरो गरी सञ्चालन गरेको पाइएको सीएलपीआईयूका उप–आयोजना निर्देशक दिलीप शेखर श्रेष्ठले बताए ।

विद्यालय पुनर्निर्माणमा भारत, चीन, नर्वे सरकारका साथै साउदी विकास कोष, एडीबी, जाइका, यूएस एड लगायत विदेशी दातृ निकायहरूको सहयोग रहेको छ । शुरूमा एशियाली विकास बैंक (एडीबी) र जापान सहयोग नियोग (जाइका)को सहयोगमा ३९८ र अन्य गैरसरकारी संस्थाहरूको सहयोगबाट करीब ४०० विद्यालय गरी ७९८ विद्यालयका लागि मात्र स्रोत सुनिश्चित भएको थियो । 

यसबाहेक विद्यालय पुनर्निर्माणका लागि जिम्मेवारी लिने निकायको टुंगो नलागेको अवस्थामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट प्राप्त हुने पूँजीगत बजेट परिचालन गरी सम्बन्धित विद्यालय व्यवस्थापन समितिहरू मार्फत नै पुनर्निर्माण गर्ने निर्देशिका तयार गरिएको थियो । यस ढाँचाबाट  ८० प्रतिशत विद्यालयको पुनर्निर्माण भइरहेको छ । यस ढाँचामा मात्रै ५ हजार ६०० विद्यालयको पुनर्निर्माण सम्पन्न हुँदै छ ।

त्यसैगरी विद्यालय पुनर्निर्माणको डिजाइन ‘गाइडलाइन’ र डिजाइन ‘क्राइटेरिया’ तयार गरी पुनर्निर्माण अघि बढाउनाले भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माणमा सहयोग पुगेको आयोजनाका पूर्व निर्देशक इमनारायण श्रेष्ठले बताए । हालसम्म एडीबीको ऋण सहयोगमा सञ्चालित ईईएपी आयोजनाबाट १३७, यूएस एडको अनुदान सहयोगबाट १७ र जापानको जेएफपीआरको अनुदानबाट ८ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । त्यसैगरी जाइकाको ऋण सहयोगमा सञ्चालित ईएसआरपी आयोजनाबाट २३६ विद्यालयको पुनर्निर्माण अन्तिम चरणमा पुगेको सीएलपीआईयूले जानकारी दिएको छ । त्यस्तै भारत सरकारको सहयोगमा पुनर्निर्माण हुने विद्यालमध्ये ८ ओटा निर्माणाधीन छन् भने ५६ विद्यालयको बोलपत्र आह्वान गरिएको छ । एडीबीको ऋण सहयोगमा सञ्चालित डीआरएसपी आयोजनाको पहिलो चरणका ६७ विद्यालय निर्माणाधीन हुनुका साथै दोस्रो चरणका १०७ विद्यालयका लागि बोलपत्रको सूचना प्रकाशित भइसकेको छ । 

त्यसैगरी भारत सरकारको ऋण सहयोगमा पुनर्निर्माण हुने त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पस भवनहरू र साउदी विकास कोषबाट पुनर्निर्माण हुने २० विद्यालयको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको इकाइले जानकारी दिएको छ । टर्न की (बनाइसकेर हस्तान्तरण गर्ने) मोडिलिटीमा चीन सरकारको सहयोगमा दरबार हाईस्कूलको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ भने अन्य विद्यालयको पुनर्निर्माण आगामी २ महीनाभित्र शुरू गर्ने तयारी छ । यही ढाँचामा यूएस एडको सहयोगबाट १२ र नर्वे सरकारको सहयोगमा २४ विद्यालय निर्माणाधीन छन् । २०० भन्दा बढी गैरसरकारी संस्थाहरूबाट गरी ९०० विद्यालयको पुनर्निर्माणको काम भइरहेको छ । विद्यालयका जग्गा सम्बन्धी समस्या समाधान हुने हो भने थप विद्यालय पनि पुनर्निर्माण गर्न सकिने इकाइको भनाइ छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।