हेराल्ड कलेजको पहिलो दीक्षान्त सम्पन्न

Share News


काठमाडौं (अस) । हेराल्ड कलेज काठमाडौंको पहिलो दीक्षान्त समारोह बुधवार सम्पन्न भएको छ । दीक्षान्त समारोहमा बीएससी अनर्स कम्प्युटर साइन्स कोर्स पूरा गरेका ६७ जना विद्यार्थीलाई बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका सह–उपकुलपति टीच स्टिलले दीक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए । कलेजले सन् २०१६ सेप्टेम्बरदेखि शैक्षिक कार्यक्रम शुरू गरेको हो । दीक्षान्त समारोहमा प्रमुख अतिथि स्टिलले नेपालमा सम्बन्धन प्राप्त कलेजले उत्कृष्ट शिक्षा दिएको बताए ।

उक्त विश्वविद्यालयले मेरिल्यान्ड कलेज विराटनगरलाई समेत सम्बन्धन दिएको छ । ‘कुनै पनि कलेजलाई उसको विभिन्न पक्षको अध्ययन गरेर मात्र सम्बन्धन दिन्छौं,’ स्टिलले भने, ‘हेराल्ड कलेजलाई दिएको सम्बन्धन र यहाँको शिक्षाले नेपालको शिक्षाक्षेत्रमा ठूलो योगदान पुग्ने विश्वास लिएको छु ।’

हेराल्ड कलेजले चारवर्षे ब्याचलर अफ इन्टरनेशनल  बिजनेश म्यानेजमेन्ट र तीनवर्षे बीएससी अनर्स कम्प्युटर साइन्स कक्षा सञ्चालन गरिरहेको छ । दीक्षान्त समारोहमा विश्वविद्यालयका अन्तरदेशीय शिक्षा प्रमुख डा. क्रिस्टोफर डेनेटले दीक्षित विद्यार्थीलाई बधाई तथा शुभकामना दिँदै यो कलेजबाट उत्पादित जनशक्तिले विश्वको कुनै पनि देशको शिक्षामा प्रतिस्पर्धा गर्न सक्ने बताए । आईएनजी समूहले सञ्चालन गरेको उक्त कलेजका विद्यार्थीले नेपालका सरकारी निकाय, उत्कृष्ट व्यापारिक प्रतिष्ठान लगायतमा रोजगार पाइरहेको समूहका अध्यक्ष सुलभ बुढाथोकीले जानकारी दिए । उच्च शिक्षा अध्ययनको क्रममा विदेश गए पनि आफ्नै देशमा आएर श्रम गर्न विद्यार्थीलाई उनले आग्रह समेत गरे ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।