गिजाको रोगले दाँतमा पनि समस्या ल्याउन सक्छ

Share News

सबै उमेर समूहका मानिसमा देखिने दाँतको रोगबाट बच्न सामान्य सावधानी अपनाए पुग्ने विशेषज्ञहरू बताउँछन् । दाँतसम्बन्धी केही रोगले शुरूमै असर गर्छन् भने केही भित्रभित्रै गम्भीर अवस्थामा पुगेपछि मात्रै लक्षण देखिन्छन् । दाँतको रोगले जिन्दगीभर तनाव दिन सक्ने भएकाले समयमै यसको पहिचान र उपचार गरे उक्त समस्याबाट बच्न सकिने डा. दिनेश कार्की बताउँछन् । प्रस्तुत छ, दाँतका रोग, रोगका कारण, बच्ने उपाय लगायत विषयमा आर्थिक अभियानका काशीराम बजगाईले डा. कार्कीसँग गरेको कुराकानीको सार : 

दाँतसम्बन्धी रोग कस्ता प्रकारका हुन्छन् ?
सबै उमेर समूहका मानिसमा दाँतको रोग देखिन सक्छ । सामान्यदेखि जटिल प्रकृतिका दाँतका रोगहरू हुन्छन् । यसमा विशेषगरी गिजाबाट रगत आउने, दाँतमा कीरा लाग्ने, गिजा कमजोर भएर रगत आउने, दाँत घोटिएर सिरिङ सिरिङ हुने, दाँत खिइने आदि समस्या हुन्छन् ।

दाँतमा समस्या किन आउँछ ?
दाँत र गिजाको राम्रो हेरचाह नहुँदा दाँतसम्बन्धी समस्या देखिन्छन् । गिजाको राम्रो हेरचाह नहुँदा गिजा कमजोर भएर रगत आउने, दाँत कमजोर हुँदै जाने, दाँत नै झर्नेसम्म हुन सक्छ । दाँतमा टाँसिएको खाद्यपदार्थ, चकलेट वा अन्य गुलियो खानेकुरा राम्ररी सफा नगर्दा उक्त फोहोर कुहिन्छ र अम्ल बन्छ । त्यसपछि अम्लले दाँतको प्राकृतिक इनामेल नष्ट गर्छ । यसबाट दाँतमा विस्तारै खाल्डो बन्न थाल्छ । उपचार गरी उक्त खाल्डो बेलैमा पुरिएन भने दाँतका नसासम्म अम्ल पुगेर दाँत नै नष्ट हुन सक्छ ।

दाँतमा यस्तो समस्या आउन नदिन के गर्नुपर्छ ?
दाँतमा समस्या आउन नदिन सही तरीकाले नियमित ब्रश गर्ने, खाना खाइसकेपछि कुल्ला गर्ने, दाँतका कुनामा अड्केको खानेकुरा फ्लश (दाँत सफा गर्ने धागो)मार्फत सफा गर्ने, कम्तीमा वर्षको दुईपटक डाक्टरकोमा गएर जाँच गर्ने लगायत काम गर्नुपर्छ । दाँत र गिजा सफा गर्नाले दाँतको रोगबाट धेरै हदसम्म बच्न सकिन्छ ।

दाँतसम्बन्धी रोगका लक्षण के के हुन् ?
दाँतसम्बन्धी रोग लाग्दा गिजाबाट रगत बग्ने, गिजा कमजोर हुने, दाँत सिरिङ सिरिङ हुने, दाँतबाट रगत आउने, दाँतमा खाल्डो पर्ने, दाँत दुख्ने, गाला सुन्निने, कुनै पनि खानेकुरा चपाउन गाह्रो हुने आदि लक्षण देखिन्छन् ?

दाँतमा कीरा लाग्ने भनेको के हो ? 
हामीले खाएका खानेकुराका टुक्रा दाँतमै रहेपछि कुहिएर अम्ल बन्छ । दाँतको बाहिरी भागमा पातलो आवरण हुन्छ, जसलाई इनामेल भनिन्छ । दाँतमा धेरै दिनसम्म रहेको खानेकुरा कुहिएर बनेको अम्लले इनामेलमा क्षति पुर्‍याउँछ, जसले दाँत खिइन थाल्दछ । त्यसैलाई बोलीचालीको भाषामा दाँतमा कीरा लागेको भनिएको हो । नियमित ब्रश गर्ने, खानेकुरा खाइसकेपछि दाँतमा रहेका टुक्रा सफा गर्ने गर्नाले उक्त समस्याबाट बच्न सकिन्छ । खानेकुरा खाइसकेपछि कुल्ला गर्नाले पनि दाँतमा रहेको फोहोर पखालिन्छ ।

दाँत खिइएको उपचार कसरी गरिन्छ ?
अलि अलि खिइएको छ भने दाँतको माथिल्लो सतहमा टालटुल गरेर काम गर्न सक्ने बनाउन सकिन्छ । धेरै खिएको वा फोहोरले बनेको अम्ल दाँतको नसासम्म पुगिसकेको छ भने जरादेखि नै उपचार गर्नुपर्ने हुन्छ ।

गिजामा आउने समस्या के के हुन् ?
गिजा सुन्निने, ब्रश गर्दा रगत आउने, मुख गन्हाउने आदि समस्या देखिन सक्छन् । गिजाको रोगले दाँतलाई असर गर्ने हुँदा शुरूमै यस्तो समस्याको उपचार गर्नुपर्छ । ‘पिरियोडन्टाइटिस’ गिजामा देखिने समस्याको गम्भीर अवस्था हो । उक्त अवस्थामा रोगलाई पूरै निको पार्न सकिँदैन । तर दाँतको वरपर भएको हड्डी वा गिजाको तन्तु बिग्रनदेखि जोगाउन सकिन्छ । गिजामा समस्या आउनबाट बच्न नियमित दाँत सफा गर्ने उपाय त छँदै छ, डाक्टरकोमा गएर नियमित जाँच पनि गर्नु आवश्यक छ ।

कस्ता मानिसमा दन्तरोगको सम्भावना बढी हुन्छ ?
दाँतको समस्या मुखको स्वास्थ्यमा ख्याल नराख्ने सबै उमेर समूहका मानिसमा देखिन्छ । यद्यपि मुटुसम्बन्धी तथा उच्च रक्तचापका रोगी, मधुमेह रोग लागेका, गर्भवती महिला, बालबालिका र वृद्धलाई दाँतको रोगले छिटो आक्रमण गर्न सक्दछ ।

दन्तरोगको निदान र उपचार कसरी गर्ने ?
गिजामा मात्र समस्या छ र सामान्य अवस्था छ भने स्केलिङ (दाँत सफा) मात्र गर्दा पनि पुग्न सक्छ । बाहिरी सतहमा मात्रै दाँत सडेको छ भने राम्रोसँग सफा गरेर र औषधिबाट निको पार्न सकिन्छ । इनामेलमा मात्र दाँत सडेको अवस्थामा हेर्दा कालो दाग देखिन्छ । तर चकजस्तो सेतो वा हल्का गाढा खैरो देखिएको अवस्थामा दाँतमा सामान्य प्रकारको सिमेन्ट भर्न सकिन्छ । दाँतमा खाल्डाखुल्डी परेको छ भने त्यसमा पनि सिमेन्ट भर्न सकिन्छ । समस्या गिजाको जरामा पुगेको छ भने जराकै उपचार गर्नुपर्ने हुन्छ । अगाडिपट्टिको हल्लिएको दाँतलाई काम्रोको सहायताले निको पार्न सकिन्छ । पछाडिको दाँत हल्लिएको छ र समस्या जटिल छ भने त्यसलाई निकाल्नुपर्छ । दाँत नभएको ठाउँमा शल्यक्रिया गरेर दाँत राख्न सकिन्छ । झिक्न मिल्ने र सधैंका लागि पक्का गर्नेगरी दाँत राख्न सकिन्छ । राति सुतेका बेला दाँत दुख्ने, गिजा सुन्निने, दाँत हल्लिने, लगातार दुखिरहने भएमा दाँतको जरादेखि नै भरेर वा आरसीटी गरेर दाँत जोगाउन सकिन्छ ।

दन्तरोगको हेरचाह सम्बन्धी थप सल्लाह सुझाव छन् ? 
दाँतको रोगले जिन्दगी भर तनाव दिन सक्छ । त्यसकारण बेलैमा होशियारी अपनाउनुपर्छ । यो रोग लाग्न नदिन चिनी कम खाने, फलफूल र सागसब्जी धेरै सेवन गर्ने, मुख र दाँतको सफाइ गर्ने, सुर्तीजन्य पदार्थको सेवन नगर्ने, सन्तुलित भोजन गर्ने र हरेक ६ महीनामा नियमित दन्त परीक्षण गराउने बानी बसाल्नुपर्छ । यति सावधानी अपनाउँदा दाँतको समस्याबाट बच्न सकिन्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।