मोहनापुल–अत्तरिया सडक योजना : म्याद सकियो, सम्झौता तोडिएन

Share News

मंसिर १२, धनगढी । उत्तर/ दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत मोहनापुल–अत्तरिया सडक योजना अलपत्र अवस्थामा रहेको छ ।

२४ महीनाभित्र निर्माण गरिसक्नुपर्ने सम्झौताअनुरुप रू.१ अर्ब ६८ करोडमा निर्माणको जिम्मा लगाइएपनि चालू आवको मंसिर पहिलो सातासम्म ५५ प्रतिशत मात्र निर्माण सम्पन्न भएको छ ।

तीन ओटा प्याकेजमा निर्माणाधिन मोहनापुल–अत्तरिया छ लेन सडक निर्माणको म्याद विसं २०७६ जेठमा सकिएको छ ।

म्याद सकियो, म्याद थप भएको छैन अनि सम्झौता पनि तोड्न सकिएको छैन, उत्तर÷दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय मोहनापुल अत्तरिया सडक योजना कार्यालय धनगढीका प्रमुख ईञ्जिनीयर होमबहादुर एसीले बताए ।

खरीद नियमावली दुईपटक संशोधन भइसकेकाले म्याद थप्न स्पष्ट आधार नभएसम्म नसकिने कार्यालयको भनाइ छ । छ लेन सडक निर्माणको जिम्मा पाएका निर्माण व्यावसायीले म्याद थप्नुको स्पष्ट कारण र तथ्य पेश गर्न नसक्दा म्याद थपमा ढिलाई भएको कार्यालय प्रमुख एसीले बताए ।

‘बजेट अभाव छैन, तर निर्माण सूस्त देखिएकाले भुक्तानी गर्न नसकिएको हो’, कार्यालय प्रमुख ऐसीले भने, ‘चालू आवको जेठभित्र जसरीपनि निर्माण कम्पनीले सडक निर्माण सम्पन्न गर्नुपर्नेछ, नत्र ठेक्का सम्झौता तोड्नुको विकल्प रहँदैन ।’

साढे १० किलोमिटर छ लेन तथा चार किलोमिटर चार लेनको सडक निर्माणका ठेक्का सम्झौता गरिएकोमा नयाँ सर्वेअनुसार चार लेनलाई छ लेनमा लैजाने डिजाइनअनुसार बजेट वृद्धि गरिएको योजना कार्यालयले बताएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।