फेसबूकमा ८ लाख ५० हजार नेपाली

Share News

- अधिकांश अविवाहित

- बढी प्रयोग गर्नेमा २० वर्षे युवायुवती

सन् २०१३ को सेप्टेम्बर ३० मा सार्वजनिक भएको एक तथ्याङ्कअनुसार विश्वभर फेसबूकका १ अर्ब २० करोड प्रयोगकर्ता छन् । यो तथ्याङ्क फेसबूक इन्कर्पोरेशनले आफ्ना प्रयोगकर्ताबारे सार्वजनिक गरेको पछिल्लो परिणाम पनि हो । फेसबूकको लोकप्रियता बुझ्न उल्लिखित तथ्याङ्क नै पर्याप्त छ ।  त्यसैले, नेपाल पनि यसबाट कसरी अलग रहन सक्थ्यो र ? हिजोआज यहाँका पनि अधिकांश युवायुवतीको प्रिय साथी बनेको छ, फेसबूक । विश्व बैङ्कले हालै सार्वजनिक गरेको तथ्याङ्कले पनि यस्तै बताउँछ ।

विश्व बैङ्कको तथ्याङ्कअनुसार अहिले नेपालमा ८ लाख ५० हजार व्यक्तिले फेसबूक प्रयोग गर्छन् । फेसबूक पेजको एड प्लेटफर्मलाई आधार मानेर यो तथ्याङ्क सार्वजनिक गरिएको हो, जसअनुसार ५ लाख ९० हजार पुरुष प्रयोगकर्ता छन् भने महिला प्रयोगकर्ताको सङ्ख्या २ लाख ६० हजार छ । कुल प्रयोगकर्तामध्ये अधिकांश भने अविवाहित रहेको तथ्याङ्कले देखाएको छ । यसअनुसार ५८ प्रतिशतले आफ्नो फेसबूक प्रोफाइलमा अविवाहित भएको बताएको पाइएको छ । यसबाट नेपालका युवापुस्तामाझ फेसबूक स्वाभाविक रूपमा बढी लोकप्रिय भएको बुझ्न सकिन्छ । त्यस्तै, २६ प्रतिशत प्रयोगकर्ताको प्रोफाइलमा विवाहित भएको बताइएको छ । त्यस्तै, १७ प्रतिशत प्रयोगकर्ताले भने आफू कुनै व्यक्तिसँग खास किसिमको सम्बन्धमा रहेको अर्थात् ‘इन अ रिलेशनशिप’ भनी उल्लेख गरेको बैङ्कको तथ्याङ्कले देखाएको छ । सबैभन्दा रमाइलो कुरा त ४१ प्रतिशत पुरुषले आफूलाई विशेषगरी महिलाप्रति बढी रुचि भएको व्यक्ति अर्थात् ‘इण्ट्रेष्टेड इन वुमन’ भनी परिचित गराएका छन्, जबकि ४ प्रतिशत महिलाले मात्र आफ्नो प्रोफाइलमा पुरुषसँग इण्ट्रेष्ट रहेको उल्लेख गरेका छन् । बाँकी प्रयोगकर्ताले भने यो सूचीमा कुनै जानकारी दिएका छैनन्, अर्थात् उनीहरूले यसलाई त्यत्तिकै छोडिदिएका छन् ।

नेपालमा १३ वर्षको उमेरदेखि नै फेसबूकको प्रयोग गर्ने रहस्य पनि बैङ्कले सार्वजनिक गरेको तथ्याङ्कले खोलेको छ, जबकि फेसबूकको निर्माण भएकै देश अमेरिकामा भने १४ वर्षभन्दा कम उमेरका व्यक्तिले फेसबूक प्रयोग गर्नु गैरकानूनी मानिन्छ । नेपालमा कुल प्रयोगकर्तामध्ये १ प्रतिशत प्रयोगकर्ताको उमेर १३ वर्षमात्रै छ । यो उमेर समूहमा झण्डै सबैजसो प्रयोगकर्ता महिला छन् । १४ वर्षको उमेर समूहमाझ त झन् महिलाको सङ्ख्या अझ बढी देखिन्छ । यो उमेर समूहमा ६ प्रतिशत महिला र २ प्रतिशत पुरुष छन् । तथ्याङ्कमा १५ वर्ष उमेर समूहका व्यक्तिले भने फेसबूक प्रयोग नगरेको पाइएको छ ।

प्रयोगकर्ताको सङ्ख्या १६ वर्ष उमेर समूहमा थप बढी छ, जसमा कुल प्रयोगकर्तामध्ये ९ प्रतिशत महिला र ४ प्रतिशत पुरुष प्रयोगकर्ता छन् । १७ वर्षको उमेर समूहमा महिला प्रयोगकर्ता बढेको पाइन्छ । यसमा ११ प्रतिशत महिला र ५ प्रतिशत पुरुष छन् ।

शिक्षा तथा अन्य सामाजिक प्रभाव पनि बढ्दै गएकाले १९ देखि २३ वर्षसम्म प्रयोगकर्ताको सङ्ख्या तुलनात्मक रूपमा बढी रहेको तथ्याङ्कले देखाएको छ । यसबीचमा २० वर्ष उमेर समूहका व्यक्तिले सबैभन्दा बढी फेसबूक प्रयोग गर्ने पाइएको छ । यो उमेर समूहमा कुल प्रयोगकर्ताको १४ प्रतिशत महिला र १० प्रतिशत महिला छन् । तथ्याङ्कअनुसार २५ वर्षको उमेरदेखि भने फेसबूक प्रयोग गर्ने बानी घट्दै गएको देखिन्छ । यस उमेरसमूहमा ४ प्रतिशत महिला र ८ प्रतिशत पुरुष प्रयोगकर्ता छन् । तथ्याङ्कले नेपालमा १३ वर्षदेखि ३० वर्ष उमेरसमूहका व्यक्ति फेसबूक प्रयोगमा बढी सक्रिय भएको देखाएको छ । तर, रमाइलो विषय के छ भने ३० वर्ष उमेरसमूहका महिलाले भने फेसबूकको अत्यन्त नगन्य रूपमा गर्ने पाइएको छ । यो उमेर समूहमा कुल प्रयोगकर्तामध्ये २ प्रतिशत पुरुषले मात्र फेसबूक प्रयोग गरेको पाइएको छ । तथ्याङ्कअनुसार १५, १८ र २४ वर्ष उमेरसमूहका व्यक्तिले फेसबूक प्रयोग नगर्ने उल्लेख गरिएको छ । फेसबूकमा कतिपय प्रयोगकर्ताले आफ्नो वास्तविक उमेर उल्लेख नगर्ने हुनाले पनि यो उमेर समूह छुटेको हुन सक्छ, जसका कारण हाल फेसबूकलाई निश्चित उमेरसमूहमा वर्गीकरण गरेर स्पष्ट अध्ययन गर्न सकिने अवस्था छैन । यसरी बालकबालिका र युवापुस्ता हुँदै वृद्धवृद्धाले समेत फेसबूक प्रयोग गर्ने लहर नेपालमा पनि निश्चित रूपले बढ्दै गएको दखिन्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।