मस्तिष्काघातका लक्षण देखिएमा  बेवास्ता गर्नुहुँदैन

Share News

मस्तिष्कमा अक्सिजन र पोषण तत्वको कमी भएमा कोषहरू मर्दछन् । यसले ब्रेन स्ट्रोक (मस्तिष्काघात)सम्मको समस्या ल्याउन सक्छ । मस्तिष्कमा रगतको अभाव हुँदा अक्सिजन र पोषण तत्वको कमी हुन्छ । दुर्घटनापछि कतिपय अवस्थामा मस्तिष्क मृत्यु हुन्छ । त्यसको मुख्य कारण मस्तिष्काघात भएको न्यूरो सर्जन डा. प्रकाश विष्ट बताउँछन् । उनका अनुसार मस्तिष्काघातबाट मृत्यु नै पनि हुन सक्छ भने बाँचे पनि पक्षाघातको समस्या देखिन सक्छ । प्रस्तुत छ, मस्तिष्काघात, मस्तिष्काघात हुने कारण, यसको उपचार पद्धति, बच्ने उपाय लगायत विषयमा डा. विष्टसँग आर्थिक अभियानका काशीराम बजगाईंले गरेको कुराकानीको सारः

मस्तिष्काघात के हो ?
जसरी मुटुलाई चाहिने रगतको अभावमा मुटु खराब भई हृदयाघात हुन्छ, त्यसैगरी मस्तिष्कमा हुने रगतको अभावका कारण मस्तिष्काघात हुन सक्छ । मस्तिष्काघात मुख्यगरी दुई कारणले हुन्छ, पहिलो– रक्तनली फुटेर मस्तिष्कमा रक्तश्राव भएर र दोस्रो मस्तिष्कमा रगत नै नपुगेर । रगत नपुगेर हुने मस्तिष्काघात स्केमिक र रक्तनली फुटेर हुने मस्तिष्काघात हेमोरेजिक मस्तिष्काघात हो ।

मस्तिष्काघात किन हुन्छ ?
रक्तनलीमा कोलेस्टेरोल (बोसो) जम्मा भई शरीरमा रक्तसञ्चार हुन नपाएमा मस्तिष्काघात हुन सक्छ । रक्तनलीमा कोलेस्टेरोल जम्नुको कारण शरीरमा यसको मात्रा अत्यधिक हुनु हो । रक्तनलीमा कोलेस्टेरोल जम्मा हुँदै गएर रक्तनली कमजोर भई फुट्न थाल्छन् र त्यसले गर्दा रक्तस्राव हुन्छ । यसैगरी कोलेस्टेरोल अत्यधिक हुँदा रक्तनली नफुटे पनि रक्तनलीबाट रगत प्रवाह हुन नसकेर रगत जम्न सक्छ । यी दुई अवस्थामा मस्तिष्काघात हुने सम्भावना बढी हुन्छ ।

मस्तिष्काघातका लक्षणहरू के के हुन् ?
सामान्यतया रक्तनली फुटेर हुने र रक्तनलीमा बोसो जमेर हुने मस्तिष्काघातका लक्षण उस्तै हुन्छन् । तर रक्तनलीमा बोसो जम्दै जाँदा त्यसले विस्तारै लक्षणहरु देखाउँदै जान्छ । तर रक्तनली फुटेर हुने मस्तिष्काघात अचानक हुन्छ । त्यसकारण रक्तनली फुटेर हुने मस्तिष्काघात बढी खतरनाक हुन्छ । मस्तिष्काघात हुँदा मस्तिष्कको कुन भागमा असर गरेको छ, त्यसअनुसार लक्षण देखिन्छन् । जस्तै– मस्तिष्कको दायाँ भागमा असर पुगेको छ भने बायाँतर्फका हात वा खुट्टा चल्दैनन् र बायाँ भागमा असर पुगेको छ भने यस्तै समस्या दायाँतर्फका हात र खुट्टामा देखिन्छन् । यस्तै बिरामी बोल्न नसक्ने, आँखा देखे पनि वस्तु चिन्न नसक्ने, मुख बांगिने लगायत लक्षण देखिएमा त्यो मस्तिष्काघातको लक्षण हुन सक्छ । सामान्य अवस्थामा यस्ता लक्षण देखिए पनि रोग जटिल भइसकेको छ भने बिरामी कोमामा जान सक्छ । 

यस्ता लक्षण देखिएर पक्षाघात हुनु वा कोमामा जानु मस्तिष्काघात हुनु हो ?
सामान्यतया लक्षण हेरेर मस्तिष्काघातको अनुमान गर्न सकिन्छ । सीटी स्क्यानपछि मस्तिष्काघात हो होइन भन्ने पत्ता लाग्छ ।

यस्ता लक्षण देखिएर आफै निको हुने गरेको पनि पाइन्छ । यसबारे बताइदिनुहोस् न ? 
हो, कहिलेकाहीँ मस्तिष्काघात हुँदा देखिने जस्तै लक्षण देखिएर केही समयपछि निको हुने गर्छ । यो भनेको पनि मस्तिष्काघात नै हो । यसलाई ‘ट्रान्जिअन्ट इस्केमिक अट्याक’ (टीआईए) भनिन्छ । यस्तो अवस्थामा मस्तिष्कले रगत प्राप्त नगरेर क्षणिक रूपमा मस्तिष्काघात हुन्छ, जुन २४ घण्टाभित्र आफै निको हुने गर्छ । यो मस्तिष्काघात हुन लागेको चेतावनी भएकाले यस्ता लक्षण देखिएमा जतिसक्दो चाँडो न्यूरो सर्जनसँग परामर्श गरी थप उपचार गर्नुपर्छ । यसलाई हेलचेक्र्याइँ गर्दा गम्भीर प्रकारको मस्तिष्काघात हुन सक्छ ।

मस्तिष्काघातको उपचार पद्धति के हुन्छ ?
रक्तनली बन्द भएर मस्तिष्कमा रगतको कम हुन थालेको अवस्थामा लक्षण देखिन थाल्छन् । यस्ता लक्षण देखिनेबित्तिकै अस्पताल पुग्नुपर्छ, यसलाई बेवास्ता गर्नुहुँदैन । रक्तनली बन्द भएर मस्तिष्कमा रगत कम भएको हो भने उक्त रक्तनली खोल्नुपर्छ । नलीमा रगत जमेको छ भने त्यसलाई औषधिद्वारा पगाल्ने वा शल्यक्रियामार्फत बाहिर निकाल्ने काम हुन्छ । हेमोरेजिक मस्तिष्काघात हुँदा बिरामीको अवस्था हेरेर उपचार गरिन्छ । सामान्य अवस्थामा औषधिद्वारा रगत सोस्ने काम गरिन्छ । बिरामी गम्भीर छ र जमेको रगत मस्तिष्कको सतहमा छ वा बिरामी कोमामा छ भने त्यस्तो अवस्थामा शल्यक्रिया गरेर जमेको रगत बाहिर निकाल्नुपर्छ ।

मस्तिष्काघातपछि मस्तिष्क मृत्यु हुने सम्भावना कत्तिको हुन्छ ?
मस्तिष्काघातको राम्रो उपचार भएन भने त्यसै कारणले मस्तिष्क मृत्यु हुन सक्छ । दुर्घटनापछि सबैभन्दा बढी मस्तिष्क मृत्यु हुने कारण मस्तिष्काघात हो । अन्य जुनसुकै अवस्थामा पनि मस्तिष्काघातपछि मस्तिष्क मृत्यु पनि हुन सक्छ । समयमै मस्तिष्काघातको राम्रो उपचार नभएमा मानिसको मृत्यु पनि हुन सक्छ ।

मस्तिष्काघात भएको कति समयभित्र उपचार गराउनुपर्छ ?
इस्केमिक मस्तिष्काघात भएको ४ घण्टाभित्र अस्पतालमा आएर तत्काल उपचार गर्न सके त्यो सबैभन्दा उत्तम समय हो । यस अवस्थामा उपचार गराए बिरामी पहिलेकै अवस्थामा फर्कन सक्छ । अवस्था हेरेर यो समयभन्दा पछि बिरामी आएमा पनि पहिलेकै अवस्थामा आउन सक्नेगरी उपचारसम्भव हुन्छ । तर ४ घण्टापछि जोखिम बढ् । हेमोरेजिक मस्तिष्काघात इस्केमिकभन्दा बढी खतरनाक हुन्छ । यो मस्तिष्काघात हुँदा मृत्यु हुने सम्भावना उच्च हुन्छ र बाँचेकाहरूहरूमा पक्षाघातको सम्भावना उच्च हुन्छ ।

एकपटक मस्तिष्काघात भएकाहरूलाई पुनः मस्तिष्काघात हुने सम्भावना कत्तिको हुन्छ ?
मस्तिष्काघात हुने कारण कम गर्न सके वा रक्तनलीको स्तरीय उपचार भएर  राम्रोसँग रक्तसञ्चार गराउन सकेमा मस्तिष्काघात हुने सम्भावना कम हुन्छ । तर बिरामी त्यही अवस्थामा रहेमा पुनः मस्तिष्काघात हुन सक्छ ।

मस्तिष्काघातबाट कसरी बच्न सकिन्छ ?
रक्तनलीमा कोलेस्टेरोल जम्मा हुन दिनुहुँदैन । कतिपय मानिसमा वंशाणुगत रूपमै कोलेस्टेरोल उच्च पनि हुन सक्छ । यसलाई कम गर्नुपर्छ । बोसोयुक्त खाद्य पदार्थ खानुहुँदैन । उच्च रक्तचाप नियन्त्रण गर्नुपर्छ । सुगर नियन्त्रण गर्नुपर्छ । मदिराजन्य पदार्थको सेवन गर्नै भएन । हामी अल्छी भएकाले पनि रोगहरू बढी सक्रिय हुन्छन् । नियमित रूपमा शारीरिक व्यायाम गर्नुपर्छ । यस्ता सामान्य सावधानी अपनाउने हो भने मस्तिष्काघात हुनबाट धेरै हदसम्म बच्न सकिन्छ ।

मस्तिष्काघातको उपचार कत्तिको महँगो छ ? यसको उपचारका लागि सरकारी स्तरबाट केही पहल भएका छन् ?
मस्तिष्काघातको उपचार महँगो छ । एउटै इन्जेक्शनको मूल्य सामान्यतया रू. ३० हजारसम्म पर्छ । अन्य औषधि उपचार, अस्पताल खर्च पनि महँगो छ । सरकारले विपन्न नागरिक उपचार कोष स्थापना गरी अन्य पाँचओटा रोगलाई सहुलियत दिने गरे पनि मस्तिष्काघातमा सरकारले त्यस्तो सहुलियत दिएको छैन । यसलाई पनि अन्य रोग जस्तै सहुलियत दिनुपर्छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।