काठमाडौं (अस) । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा आगामी चैत ५ गतेसम्ममा सम्पन्न गर्न निर्देशन दिएको छ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र सन्त्रास बढ्दै गएकाले विद्यालय तहमा समेत आवश्यक सतर्कता अपनाउनु पर्ने भन्दै मन्त्रालयले मंगलवार सूचनामार्फत वार्षिक परीक्षालाई छिटो सम्पन्न गर्न निर्देशन दिएको हो ।
यससँगै मन्त्रालयका सचिव महेशप्रसाद दाहालको संयोजकत्वमा मंगलवार बसेको बैठकले कोरोना भाइरस संक्रमणबाट सजगता अपनाउन सभा, समारोह, गोष्ठी, सेमिनार, वार्षिक उत्सव लगायत भेला हुने प्रकृतिका कुनै पनि कार्यक्रम विद्यालयले आयोजना नगर्न सूचित गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले अधिकांश विद्यालयले वार्षिक कार्यक्रम अनुसार सांस्कृतिक कार्यक्रम, अभिभावक भेला लगायत कार्यक्रम आयोजना गर्ने भएकाले सन्त्रास फैलिएको हालको अवस्थामा यसो नगर्न अनुरोध गरिएको बताए । ‘साथै आगामी चैत ६ गतेदेखि एसईई परीक्षा शुरू हुने भएकाले यसअघि ९ कक्षासम्मका सबै परीक्षा सकेर विद्यार्थीलाई बिदा दिन समेत सहज हुने देखिएकाले यस्तो सूचना जारी गरिएको हो,’ प्रवक्ता शर्माले भने ।
उक्त जारी सूचनालाई सहजीकरण एवं समन्वय गर्न मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेशस्थित सामाजिक विकास मन्त्रालय, स्थानीय पालिकाहरूका संघ र महासंघहरूलाई अनुरोध समेत गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।