३ महीनाअघि चीनमा देखिएको कोरोना (कोभिड–१९) भाइरस पछिल्लो समय विश्व स्वास्थ्य संकटको रूपमा देखिएको छ । विश्वभर ४० भन्दा बढी देशमा यसको संक्रमण देखिसकेकोमा विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोनाको उच्च जोखिमको देशमा राखेको छ । यसै सन्दर्भमा कोरोना भाइरस, नेपालमा यसबाट बच्न अपनाइएका पूर्वतयारी, बच्ने उपाय लगायत विषयमा जनस्वास्थ्यविद् तथा अनुसन्धानकर्ता डा. समीरमणि दीक्षितसँग आर्थिक अभियानका काशीराम बजगाईंले गरेको कुराकानीको सार :
विश्वव्यापी रूपमा फैलिँदै गएको कोरोना भाइरस नेपालमा देखिए प्रतिरोधका लागि तयारी कस्तो छ ?
यस्ता रोग रोक्न पूर्णरूपमा तयार कहिल्यै हुन सकिँदैन । ३ महीना भइसक्दा पनि चीन अहिलेसम्म यसको प्रतिरोधका लागि तयार भइसकेको छैन । चीन अझै अन्योलमा छ । हरेक दिन नयाँ नयाँ तथ्य आइरहेका छन् । तर यसलाई रोक्न पूर्वतयारी अपनाउनुपर्छ । बच्नका लागि सावधानी अपनाउने हो ।
के कस्तो सावधानी अपनाइएको छ त ?
यसबाट बच्न सरकारले पूर्वतयारी थालेको छ । विदेशबाट आउनेलाई विमानस्थलमै जाँच गरिरहेको छ । विभिन्न नाकामा हेल्पडेस्क स्थापना गरिएको छ । निजीक्षेत्रका संस्थाहरूले पनि आप्mना कर्मचारीको ज्वरो जाँच गर्ने लगायत अभ्यास शुरू गरेका छन् । संक्रमित देशबाट आउने मानिसको स्वास्थ्य जाँचलाई प्राथमिकता दिएर अझ बढी निगरानी गरिएको छ । सभा सम्मेलन नगर्न र अत्यावश्यक अवस्थामा बाहेक विदेश भ्रमण नगर्न सरकारले निर्देशन दिइसकेको छ ।
कोरोना भाइरसबाट अहिलेसम्म नेपाल सुरक्षित छ, तर मास्कको अभाव देखिइसकेको छ नि ।
बजारमा मास्कको खुलमखुला कालोबजारी बढ्दै गएको छ । मास्क पाउन मुश्किल हुन थालेको गुनासाहरू आएका छन् । राजधानीमा मात्र नभएर राजधानी बाहिर पनि मास्कको कृत्रिम अभाव सृजना गरिएको छ । बजार अनुगमन भएको छैन । यसमा सरकार जिम्मेवार हुनुपर्ने हो, तर अहिलेसम्म अनुगमन नै नगरी बसेको छ । २० गुणा बढी मूल्यसम्ममा मास्कको कालोबजारी भइरहेको छ । मास्क नै नहुनु भनेको ठूलो कमजोरी हो । यसमा सरकार चुकेको छ । मास्क मात्र नभएर स्वास्थ्यसँग सम्बन्धित अन्य सामग्रीमा पनि कृत्रिम अभाव खडा गर्न खोजिँदै छ । सरकारले बजार अनुगमन गरेर यसलाई नियमन गर्नुपर्छ ।
नेपालमा कोरोना भाइरसको बहस बढ्दो छ, जोखिम कत्तिको छ ?
कोरोनाको उपचार छैन । अहिले हरेक दिन यस भाइरसको विषयमा नयाँ नयाँ कुरा पत्ता लागिरहेका छन् । संक्रमण नै कति दिनको हुने भन्ने अहिलेसम्म यकिन भइसकेको छैन । तर एउटा कुरा के हो भने यसबारे चाहिनेभन्दा बढी हल्ला भएको छ । मानिसहरू मास्क लगायत सामग्री होल्ड गरेर बस्न थालेका छन् । अहिलेको अवस्थामा विश्वमा चुनौतीको रूपमा यो रोग देखिएको छ । तर चीनमा कम हुँदै गएको छ । विश्वभर मृत्युदर घटेको छ । त्यसकारण सावधानी अपनाऊँ । भ्रामक हल्लाको पछि लागेर डराउनुपर्ने अवस्था छैन ।
यसका लक्षणहरू के के हुन् ?
बढी उच्च ज्वरो र खोकी यसका मुख्य लक्षण हुन् । यो रोग देखिएमा श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने जस्ता श्वासप्रश्वाससम्बन्धी लक्षण देखिन्छन् । रुघा लाग्नु नै यसको लक्षण हो भन्ने प्रचार गरिएकोमा कोरोनामा रुघाको लक्षण एकदमै कम देखिएको छ । यसबाहेक टाउको दुख्नु, कफ देखिनु, घाँटी दुख्नुु, छातीको दुवैतिर निमोनिया जस्तो लक्षण देखिनु लगायत लक्षण यसमा देखिन्छन् ।
यसबाट बच्न के गर्नुपर्छ ?
साबुनपानीले राम्ररी हात धुने, स्यानिटाइजको प्रयोग गर्ने गर्नुपर्छ । यस्ता लक्षण देखिएका मानिसबाट टाढा बस्ने, अंकमाल नगर्ने, जनावरको सम्पर्कमा नआउने, भीडभाडमा नजाने, खोकी, ज्वरो र श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा नजिकको अस्पताल जानुपर्छ ।
यसको जोखिम कसलाई हुन्छ ?
वृद्ध, बालबालिका र औषधि सेवन गरिरहेका वा प्रतिरक्षा शक्ति कमजोर भएका मानिसमा यसको सम्भावना बढी हुन्छ । यसकारण यस्ता मानिसमा विशेष ध्यान दिनुपर्छ ।
अन्त्यमा सबैले थाहा पाउनैपर्ने कुरा के छ ?
जुन किसिमले विश्वभर कोरोनाको संक्रमण देखिएको छ, नेपालमा कोरोना छँदै छैन भन्न सकिन्न । एकजनामा यसअघि देखिसकेको कारण अन्यमा पनि यो भाइरस हुन सक्छ । ८० प्रतिशतसम्ममा यो रोगको संक्रमण सामान्य रूपमा देखिन्छ । त्यसकारण नेपालमा अन्य संक्रमण पनि हुन सक्छ । तर यो भन्दैमा आत्तिनु हुँदैन । अन्य एन्फ्लुएन्जामा जस्तै सामान्य रूपमा यसलाई लिनुपर्छ । जुन हल्ला भइरहेको छ, त्यसअनुसार डराउनुपर्ने अवस्था छैन । सावधानी अपनाउने र यस्ता लक्षण देखिएमा अस्पतालमा सम्पर्क गरी बच्न सकिन्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई यसको जोखिम उच्च हुने भएकाले तिनको विशेष ध्यान राखौं ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।