शेयरबजारमा विद्वान्ले विश्लेषण गर्छ, मूर्खले लगानी गर्छ, महामूर्खले घर बनाउँछ । यो सत्य हो वा होइन तर शेयरबजारमा यस्तै हुन्छ । होइन भने १२ मार्चको दिन भारतको शेयरबजार १२ वर्ष अर्थात् २००८ पछि सबैभन्दा कम स्तरमा पुगेको थियो । १३ मार्चको दिन शुरुआतमा शेयर यस्तो घट्यो कि सर्किट लगाइयो । तर, त्यो ४० मिनेटपछि खुलेको शेयरबजार १५ प्रतिशतले निफ्टी सेन्सेक्स दुवै बढ्यो । फेरि १६ मार्चका दिन २७१३ अंकले सेन्सेक्स घट्दा लगानीकर्ता साढे ७ सय करोड चुर्लुम्म डुबेपछि त्यो दिनलाई ब्ल्याकमन्डे नाम दिएको छ । सोही दिन न्यूयोर्क बजार १० प्रतिशतले घटेको छ । यसको अर्थ शेयरबजारमा अचम्मको उतारचढाव भएको छ ।
शेयर ज्यादै घटेका बेलामा बुझेका लगानीकर्ता राम्रो कम्पनीका शेयर किन्ने र बढेका बेलामा बेचेर नाफा सुरक्षित गर्ने गर्छन् । यी जाने बुझेका व्यक्तिले यसबाट फाइदा लिन सक्छन् ।
फागुन २७ गते एकै दिनमा तीनपटक लोअरसर्किट लागेर ८६ दशमलव ३९ अंकले घटेको शेयर अर्को फागुन २८ गते ७३ दशमलव ७८ अंकले बढ्यो । त्यसपछि घट्दै गएको शेयर २ चैत्रमा ६४ दशमलव १४ अंकले घट्यो र सोमवार ३ दशमलव ३५ अंकको बढत भएको छ । यसको अर्थ शेयरबजार नाटकीय उतारचढाव भइरहेको छ । यद्यपि यो सबै अकारण भइरहेको छैन ।
अहिले १५ ओटा हाइड्रो पावर कम्पनीको शेयर १०० भन्दा कम छ । जलविद्युत् कम्पनीको लाभांश अन्य बैंक, वित्तीय संस्थाको जति नहोला । तर, नेटवर्थ, रिजर्भकोष, स्थिर सम्पत्ति त पक्कै होला । तर, त्यो चिजसँग लगानीकर्तालाई मतलव हुँदैन । उनीहरूलाई लाभांश चाहिन्छ, बोनस शेयर चाहिन्छ । कम्पनी विस्तारको सम्भावना चाहिन्छ, त्यो हाइड्रो पावरमा सीमित हुन्छ । त्यसैकारण जलविद्युत्को लगानी लगभग धरापमा देखिन्छ ।
लगानीकर्ता लगानीको दृष्टिकोणबाट भन्दा सट्टाबाजीको उद्देश्यले बजारमा आएका छन् । उनीहरूलाई कम्पनीको विवरण हेर्ने फुर्सद हुँदैन । यो राम्रोे होइन, किनभने यो प्रणाली वा तरीकाबाट कसै न कसैलाई घाटा लाग्छ । माथि उल्लेख गरिएका हरेक घटना सट्टेबाजीका कारण भएको हो । भारतको शेयरबजारमा एकपटक हर्षत मेहता भन्ने व्यक्तिले २०० को शेयरलाई हल्लैहल्लामा ९००० पु¥याएर । त्यो मूल्यमा आफ्नो शेयर बेचेर लाखौंलाई चुर्लुम्मै डुबाएका थिए । किनभने कम्पनीहरूको क्षमता त रू. २०० नै थियो । यस्तोमा सोझा लगानीकर्ता फस्न सक्छन् ।
सट्टेबाजी नै भए पनि पहिलो दिन तीनपटक नेगेटिव सर्किट ब्रेक र अर्को दिन ७३ अंकको वृद्धि भएको छ । भारतमा १३ मार्चमा पहिला नेगेटिव र पोजेटिव सर्किट ब्रेक र त्यसपछि बजार गिर्नुमा स्पष्ट कारण छ । त्यो के हो भने शेयर ज्यादै घटेको बेलामा बुझेका लगानीकर्ता राम्रो कम्पनीका शेयर किन्ने र बढेको बेलामा बेचेर नाफा सुरक्षित गर्ने गर्छन् । यी जाने बुझेका व्यक्तिले यसबाट फाइदा लिन सक्छन् । वास्तविक असर पार्ने तात्कालिक कारणमा कोरोनाले डगमगाएको विश्व अर्थ व्यवस्था नै हो । यदि कोरोनाको संक्रमण विश्वव्यापी फैलिएमा आर्थिक मन्दी हुन सक्ने, लाखौंले रोजगारी गुमाउनुपर्ने अवस्था आउन सक्छ भन्ने अर्थविद्हरूको भनाइ छ ।
नेपालको शेयरबजारमा केही दिन अगाडि दिनको ३ देखि ५ अर्बसम्म कारोबार भयो । तर, अहिले त्यो कारोबारको रकम घटेको छ, सोमवार १ अर्ब ६८ करोडको मात्र कारोबार भयो भने मंगलवार १ अर्ब ४६ करोड । यसको अर्थ हो नयाँ लगानीकर्ता बजारबाट भाग्दै छन् । पुराना आप्mनो नाफा क्लोज गरेर ‘पर्ख र हेर’को अवस्थामा छन् । यो बजारमा तरकारी बजारमा झैं उतारचढाव भइरहन्छ । शेयरबजारमा त्यही टिकाउ हुन्छ, जसले कम्पनीको इतिहास र सम्भाव्यता हेरेर लगानी गरेको हुन्छ ।
शेयर बजारमा तरकारी बजारमा झैं उतारचढाव भइरहन्छ । शेयरबजारमा त्यही टिकाउ हुन्छ, जसले कम्पनीको इतिहास र सम्भाव्यता हेरेर लगानी गरेको हुन्छ ।
शेयरबजारको घट्दो वा बढ्दो ट्रेन्ड हेरेर पनि लगानी गर्ने मानिस हुन्छन् । यही फागुन १४ गतेदेखि २१ गतेसम्म लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ९९ हजार ७२६ कित्ता शेयर लीलाममा राखेको थियो । त्यतिबेला त्यो बीमा कम्पनीको दोस्रो बजारमा शेयरमूल्य रू. ५८७ थियो । पछि चैत्र २ गते लीलामी खुल्दा रू. ४८२ भन्दा बढी बोलकबोल गर्नेलाई शेयर परेको छ । ठीक त्यो दिन चैत्र २ गते दोस्रो बजारमा त्यस कम्पनीको शेयर मूल्य रू. ४३० थियो । रू. ५२ प्रतिशेयर लीलामी घाटा भयो । त्यसैले सट्टेबाजी शेयर किनबेचमा कसैको पनि अनुमान र विश्लेषण मिल्दैन र सक्दैन ।
नेपालको शेयरबजार ११०० अंकबाट १६०० माथि पुगेर १३१३ सम्म जुन नाटकीय तरीकाले घटबढ भएको छ । त्यसमा प्रत्येक घटनाका लागि कारण दिन सकिन्छ । जस्तै बढ्नुमा अर्थमन्त्री हट्ने हल्ला, लगानीका अवसर बढ्ने सम्भावना, चीन र भारतमा कोरोनाका कारण उत्पादन घट्ने र नेपालमा घरेलु उत्पादन बढ्ने सम्भावना आदि । अनलाइन कारोबार खुला भएपछि विदेशमा बस्ने नेपालीले पनि लगानी गरेका कारण एक्कासि बढेको हुन सक्छ । त्यसैगरी कोरोनाको कारण विश्वव्यापी आर्थिक संकट, वस्तु महँगिनु आदि कारणले गर्दा पनि शेयर घटेको हुनसक्छ । अहिले कच्चा तेलको मूल्य घटिरहेको छ । त्यसको अर्थ म्यानुफ्क्याचरिङमा, यातायात, निर्माण आदि हरेक ठाउँमा कारोबार ठप्प छ । त्यसैको असर शेयरबजारमा परिरहेको छ ।
जापान, भारत, अमेरिकाको भन्दा नेपालको अवस्था केही राम्रो भएप नि अबका दिनमा कम्पनीको अवस्था र सूचना राम्रोसँग हेरेरमात्र लगानी गर्नुपर्छ । लगानीका अनेक विकल्पमध्ये सरकारले हेज फन्ड, प्राइभेट इक्विटी र भेन्चर क्यापिटलजस्ता नयाँ र फरक प्रकृतिका फन्डहरूको व्यवस्था गरेको छ । यी ३ मध्ये हेज फन्ड वा हेजिङ अर्थात् कसैले विदेशी ऋण खोजेर नेपालमा लगानी गरेमा त्यो लगानीको वैदेशिक विनिमय दरको स्थिरता कायम गर्ने हो । विदेशबाट जुन विनिमय दरमा लगानी भयो, त्यसैअनुरूप ऋण फिर्ता गर्ने प्रत्याभूति पत्र हो । भेन्चर क्यापिटलले उद्यमशीलताका लागि थोरैथोरै गरेर पूँजी जम्मा पारिदिन्छ ।
यी सबै वास्तवमा सबैले बुझ्न नसक्ने लगानीका वैकल्पिक माध्यम हुन् । कार्यविधि बनेको १ वर्षसम्म पनि यसको खासै प्रचलन देखिएको छैन । यसले गर्दा लगानी विविधीकरण गर्न र जोखिम कम गर्न अवसर पनि कम देखिन्छ ।
लेखक कैलाशकुट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषयमा शिक्षक हुन्
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।