चैत ५, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले चैत ६ देखि शुरु भई १७ गतेसम्म सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।
यस वर्षको एसईई परीक्षामा कुल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुने र परीक्षाका लागि देशभर एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए । परीक्षामा प्राविधिक धारतर्फ नौ हजार ५०९ परीक्षार्थी सहभागी हुने भएका छन् ।
त्यस्तै कुल परीक्षार्थीमा ग्रेड वृद्धितर्फ १६ हजार २४२ र प्राविधिकतर्फ १३९ परीक्षार्थी सहभागी हुनेछन् । सबैभन्दा धेरै परीक्षार्थी वाग्मती प्रदेशबाट एक लाख तीन हजार ६६७ र थोरै कर्णाली प्रदेशबाट ३६ हजार ४३६ सहभागी हुने भएका छन् ।
परीक्षा नियन्त्रक खकुरेलले कुल ८६ ओटा विषयमा हुने परीक्षामा करीब ५१ लाख सेट प्रश्नपत्र छपाइ गरी जिल्ला–जिल्ला पठाइएको जानकारी दिए । परीक्षामा करीब ६५ हजार जनशक्ति परिचालन गरिने भएको छ । प्रत्येक परीक्षा केन्द्रमा एक केन्द्राध्यक्ष, दुई सहायक केन्द्राध्यक्ष, २० विद्यार्थी बराबर एक निरीक्षक, १०० विद्यार्थी बराबर एक परीक्षा सहायक, ५० विद्यार्थी बराबर एक परिचालक खटाइएको छ । प्रत्येक परीक्षा केन्द्रमा १६ जनाका दरले सुरक्षाकर्मी खटाइने भएको छ ।
बिहान ८ बजेदेखि देशभरका सबै परीक्षा केन्द्रमा एकैसाथ शुरु हुने परीक्षाका लागि आवश्यक प्रश्न सबै जिल्लाको परीक्षा केन्द्रको नजीक रहेको सुरक्षा निकायमा पुर्याइएको छ ।
परीक्षा नियन्त्रक खकुरेलका अनुसार परीक्षा केन्द्रमा असम्बन्धित व्यक्तिलाई भीडभाड गर्न बन्देज लगाएको जानकारी दिँदै एउटा परीक्षा केन्द्रमा बढीमा ३०० र एउटा कक्षा कोठामा २०–३० परीक्षार्थी राख्ने व्यवस्था गरिएको छ । कसैले परीक्षाको मर्यादा भंग गर्ने वा बिथोल्ने काम गरे कानूनअनुसार ६ महीना कैद वा रू. १ लाख जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसको त्रासलाई ध्यानमा राख्दै सरकारले परीक्षा केन्द्र व्यवस्थापन गरेको जानकारी दिए । परीक्षार्थीलाई त्रासरहित वातावरणमा परीक्षा सञ्चालन गर्न सरकारले सबै तयारी पूरा गरेको बताउँदै बालबालिकाको स्वास्थ्य सुरक्षाबारे सरकारले निकै सतर्कता अपनाएको बताएका छन् ।
परीक्षाका समयमा विद्यार्थीमा कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर शिक्षा विज्ञान तथा प्रविधि र स्वास्थ्य मन्त्रालय एवं स्थानीय तहको समन्वयमा सहायता कक्ष ‘हेल्थ डेस्क’ स्थापना गरिने भएको छ । परीक्षा केन्द्रहरूमा परीक्षा अवधिभर हेल्थ डेक्स राख्ने व्यवस्था मिलाउन ७५३ ओटै स्थानीय तहलाई शिक्षा मन्त्रालयले अनुरोध गरेको छ ।
कोरोना संक्रमण रोकथाम गर्न र एसइई परीक्षालाई मनोवैज्ञानिक एवं त्रासमुक्त वातावरण बनाइएको जानकारी दिइएको छ । परीक्षा हलभित्र जानुुअघि परीक्षार्थी, कर्मचारी, सुरक्षाकर्मी, अनुगमनकर्तालगायत परीक्षामा संलग्न सबैको तापक्रम जाँच गरिने भएको छ भने परीक्षाका क्रममा कुुनै विद्यार्थीमा ज्वरो आएको पाइएमा अस्पताल लगेर उपचारको व्यवस्थासमेत हेल्थ डेस्कले गर्ने व्यवस्था मिलाइएको छ । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।