काठमाडौं । विश्व महामारीको रूपमा फैलिएको कोरोना (कोभिड–१९)को रोकथामका लागि यस सातादेखि नेपाल सरकार अझै सक्रिय भएर लागेको छ । चीनको वुहानबाट देखिएको यो भाइरस विश्वका १५० मुलुकमा पुगिसकेको छ । बिहीवारसम्म विश्वभर २ लाख १९ हजारलाई कोरोनाको संक्रमण प्रमाणित भएकोमा ९ हजारले यसैबाट ज्यान गुमाइसकेका छन् ।
अहिलेसम्म नेपालमा यसको संक्रमण आम रूपमा देखिएका छैन (डेढ महीनाअघि एकमा देखिएकोमा ठीक भइसकेको छ) । यद्यपि विश्व स्वास्थ्य संगठनले नेपाललाई समेत खतराको सूचीमा राखेको छ । छिमेकी मुलुक भारतमा करीब २०० जनामा यसको संक्रमण देखिएको छ भने यसबाट त्यहाँ बिहीवारसम्ममा चारजनाको मृत्य भइसकेको छ । कोरोना संक्रमण फैलनबाट रोक्न भन्दै भारतले नेपालतर्फका २० ओटा नाका बन्द गरेको छ । खुला सीमाकै कारण त्यो कदम मात्र पर्याप्त नभएको सरोकारवालाहरूले औंल्याएका छन् । त्यसैले यसबाट बच्न सबैले पूर्वतयारी अपनाउनुपर्ने जनस्वास्थ्यविद्हरूले सुझाएका छन् ।
बुधवार मात्रै सरकारले कोरोनासम्बन्धी हालसम्मकै महत्त्वपूर्ण निर्णय गरेको छ । सरकारले वैशाख ३ सम्म ५५ देशबाट हुने आवागमन रोकेको छ । यस्तै भीडभाड हुने क्षेत्रमा निगरानी बढाएको छ भने स्कूल÷कलेज पनि बन्द गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख सागर दाहालले विदेशबाट आउनेलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा राखिएको बताए । उनका अनुसार स्वास्थ्य मन्त्रालय र मन्त्रालय अन्तर्गतका निकायले स्वास्थ्य क्षेत्रको अध्ययन गरिरहेका छन् । ‘प्रदेशसँग पनि सहकार्य गरी यसबाट बच्ने पूर्वतयारी अपनाउने तयारी गरिएको छ,’ उनले बताए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुणा झाका अनुसार हालसम्म ५०० जनामा कोरोना जाँच गरिएकोमा एक जनाबाहेक सबैमा नतीजा नेगेटिभ रहेको छ । देशमा कोरोना भाइरसको परीक्षण किट पर्याप्त भएको उनले बताइन् । आइसोलशनमा भएका बिरामीको नियमित रूपमा स्वास्थ्य जाँच भइरहेको उनको भनाइ छ । उनका अनुसार अहिलेसम्म आइसोलेशनमा राखिएका बिरामीको मात्रै परीक्षण गरिएको हो । शुक्रराज ट्रपिकल एन्ड सरुवा रोग अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. अनुप बास्तोलाले विश्व स्वास्थ्य संगठनले औंल्याए अनुसारका लक्षण देखिए बिरामीलाई आइसोलेशनमा पठाइने गरेको बताए ।
कोरोना भाइरसको संक्रमण वृद्ध र रोग प्रतिरोधात्मक शक्ति कम भएकालाई हुने सम्भावना बढी भएकाले यस्ता व्यक्तिको हेरचाहमा विशेष ध्यान दिनुपर्ने सरुवा रोग विशेषज्ञ डा. वासुदेव पाण्डेयले बताए । सरकारले पर्याप्त सावधानी अपनाएकाले नागरिकले पनि सतर्कता अपनाए यसबाट बच्न सकिने उनको भनाइ छ ।
जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षित रोग प्रतिरोधी शक्ति बढी भएका ८५ प्रतिशत युवामा यो सामान्य लक्षणसहित निको हुने भएकाले नआत्तिन सुझाउँछन् । तर बजारमा मास्क र स्यानिटाइजर जस्ता सामग्रीकै पनि अभाव भएकाले सरकारले यस्ता सामग्रीको सहज व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।
लक्षणहरू
- उच्च ज्वरो आउनु
- टाउको दुख्नु
- सुक्खा खोकी लाग्नु
- श्वास–प्रश्वासमा समस्या हुनु
- टाउको दुख्नु
- छातीको दुवैतर्फ निमोनिया हुँदा जस्तै लक्षण देखिने आदि
सावधानीका उपाय
- पटक पटक साबुनपानीले हात धुने
- खोक्दा र हाँच्छ्यु गर्दा नाक र मुख छोप्ने
- अनिवार्य मास्क प्रयोग गर्ने
- फ्लू जस्तो लक्षण देखिएकासँग टाढा रहने
- माछामासु राम्रोसँग पकाएर मात्रै खाने
- भीडभाडमा नजाने
- फ्लू जस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श गर्ने
- कोरोना भाइरस संक्रमणको शंका लागेमा नजिकको चिकित्सकसँग परामर्श लिने
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।