कोरोना त्रासदीपछिको शेयरबजार

Share News

चीनको वुहानमा प्रत्याशित वा अप्रत्याशित रूपमा देखा परेको कोरोना नामक भाइरसको महामारीले संसारको ‘पावर हाउस’ भनिने यूरोप र अमेरिकालाई आच्छुआच्छु पारेको छ । यसले विश्वको अर्थतन्त्र के र कस्तो होला भन्ने चिन्ता पनि थपिदिएको छ । पावर हाउस भनिने देशसमेत हायलकायल भएका बेला नेपालमा भने ‘देखिएको छैन वा देखिए पनि लुकाइएको छ’ भन्ने दुवै कुरा आएको छ । यसको यथार्थ जे होला, त्यसको खोजी यसकै विज्ञले गर्लान् तर यसको नाममा भएको त्रासद र दुईहप्ते स्थानहद (लकडाउन) ले बन्द रहेको नेपालको शेयरबजार खुल्दा के होला भन्ने अर्को त्रासदी देखिएको छ ।

नियमनमा नरहेका कम्पनीलाई पनि धितोपत्र बोर्डले नै विशेष निर्देशन दिएर वितरणयोग्य नाफाको निश्चित प्रतिशत सञ्चित कोष राख्न लगाउनुपर्ने आवश्यकता देखिएको छ ।

कोरोनापछिको शेयरबजार 
चीनमा कोरोना भाइरसको उदय अक्टोबरमा भएको भनिए पनि यसको प्रभाव तत्काल देखिएन । कोरोनाको प्रभाव चीनपछि दक्षिण कोरिया, यूरोपेली देश र अमेरिकामा बढी देखिएको छ । कोरोना त्रासदीको प्रत्यक्ष नकारात्मक असर शेयरबजारमा देखिएको छ । कोरोनाको प्रभाव यूरोपमा बढी देखिए पनि संसारका १० ठूला स्टक एक्सचेन्जमा पर्ने बम्बे स्टक एक्सचेन्जको बेन्चमार्क इन्डेक्स सेन्सेक्स सबैभन्दा बढी घटेको छ । सन् २०२० जनवरीदेखि मार्चसम्मको ३ महीना अवधिमा ३७ प्रतिशतले झरेको छ । कोरोनाबाट बढी प्रभावित भनिएका इटाली, फ्रान्स, स्पेन, जर्मनी, बेल्जियम, बेलायत र प्रभाव नदेखिएको भनिएको रसियामा अत्यधिक गिरावट देखिएको छ । कोरोना उत्पत्ति देश चीनका सांघाई र सेन्जेन स्टक एक्सचेन्जमा तुलनात्मक रूपमा त्यति असर परेको देखिँदैन । सांघाई सेन्जेन कम्पोजिट इन्डेक्स सन् २०२० जनवरीदेखि मार्चसम्मको तीनमहीने अवधिमा १३ प्रतिशतले मात्र गिरावट आएको थियो । तालिकामा केही देशका शेयरबजारको स्थिति देखाइएको छ ।

गिरावट १ महीनामा 
कोरोनाको हल्ला वा वास्तविकता जे आएको भए पनि वर्षको शुरुआत (सन् २०२०) मा प्रायः सबै देशका शेयरबजारको गति उस्तै देखिन्छ । जनवरीदेखि फेब्रुअरी मध्यसम्म बजार बढ्दो क्रममा देखिन्छ । १ महीना ( फेब्रुअरी १५ देखि २३ ( मार्च १५ देखि २३ सम्म) सबैभन्दा बढी गिरावट आएको छ । एकमहीने अवधिमा रसियाको शेयरबजारमा सर्वाधिक ४६ प्रतिशतसम्म गिरावट आयो । अप्रिल महीनाको पहिलो हप्तासम्म आइपुग्दा पनि रसियाको बजारमा सुधार देखिएको छैन । इटाली, फ्रान्स र बेल्जियममा ३७ प्रतिशतसम्म गिरावट आएको थियो । कोरोना उत्पत्तिस्थल नजीकैको संसारको ठूलोमध्येमा पर्ने हङकङ स्टक एक्सचेन्जमा १८ प्रतिशतको गिरावट देखिएको छ । यूरोपेली देश स्वीट्जरल्यान्डमा भने तुलनात्मक रूपमा थोरै १३ प्रतिशतको गिरावट देखिएको छ । यूरोपभन्दा पछि कोरोना पुगेको देश अमेरिकाको डाउजोन्समा यूरोपेली बजारकै हाराहारीमा गिरावट आएको छ भने नास्डाकमा तुलनात्मक रूपमा कम गिरावट देखिएको छ । बजारको बढ्ने घट्ने र फेरि बढ्ने क्रम लगभग एकैसाथ देखिएको छ । पछिल्लो समयमा कोरोनाको विपत्ति जति बढ्दो रूपमा देखिएको भनिएको छ त्यति नै मात्रामा शेयरबजारमा वृद्धि हुँदै गएको देख्न सकिन्छ । मार्च मध्यपछिको तुलनामा शेयरबजार बढिसकेको छ । कोरोनाको विपत्ति विकराल होला वा नहोला संसारका शेयरबजार भने बढ्ने क्रममा देखिइसकेका छन् । यसले अर्थतन्त्रमा धेरथोर प्रभाव पार्ला तर भविष्य हेर्नेका लागि भने अहिलेको बजार घटाइ अवसर बनेको स्पष्ट देखिन्छ । शेयरबजार त्रास र आश दवैको संगम भएकाले जोखिम वहन गर्न सक्नेले प्रशस्त लाभ लिने ठाउँ हो ।

शेयरबजारको आगामी दिन 
अहिले संसारभरका देशले नागरिकलाई स्थानहद लगाएका छन् तर पनि शेयरबजार बन्द गरेका छैनन् । फिलिपिन्समा २ दिन बजार बन्द गरेर पुनः खोलियो । नेपालमा स्थानहद लगाएपछि नेपाल धितोपत्र बोर्डले बजार बन्द रहने घोषणा गर्‍यो । भारतमा स्थानहदको आदेशपछि पनि भारतीय प्रतिभूति तथा विनिमय बोर्डले शेयरबजार बन्द नरहने घोषणा गर्‍यो । शेयरबजार तरलता कायम गराउने वित्तीय बजारको एक अंग भएकाले यसको कारोबार निरन्तर रोकिरहन नहुने भए पनि कहिले खुल्छ भन्ने टुंगो लागेको छैन । संकट देखिएको छ तर संकटसँग समाधान पनि सँगै जोडिएर आएको हुन्छ । बजार खुल्नेबित्तिकै सर्वस्व जान्छ भन्ने धारणा लिनु गलत हो । शेयरबजार घट्ने र बढ्नेकै दोसाँध भएकाले लाभ लिने नै यस्तै बेला हो । घट्दै नघटे वा नबढे त्यो शेयरबजार नै होइन । सावधानी अपनाएर कारोबारलाई आंशिक रूपमा भने पनि चालू गर्नुपर्ने हुन्छ । एउटा भनाइ छ— गोठ बनाएर गाई ल्याउने होइन, गाई ल्याएर गोठ बनाउने हो । गाई ल्याएपछि एकरात जसोतसो पिँढीमा वा उस्तै परे मझेरीमै बाँधेर भए पनि भोलिपल्ट छरछिमेकसँग खाँबो, घोचो, चित्रा, भकारी जे पाइन्छ मागेर गोठ बनाउन कर लाग्छ । तर, यहाँ बजार खुलेपछि के होला कति घट्छ भन्ने मनोवैज्ञानिक त्रासले भोकनिद्रा हराएको छ । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले केही पूर्वाधारमा क्षति पुर्‍याएपछि र त्यसपछि पनि निरन्तर अनुकम्पन जाने क्रम नरोकिएकाले केही समय कारोबार रोकिएको थियो । कारोबार खुल्दा शेयरबजारमा तीव्र गिरावट देखियो । तर, यस्तो गिरावट धेरै दिन रहेन र पुनः बजारले गति लियो । भूकम्पले कम्पनीको आयमा तात्त्विक असर परेको देखिएन । अहिले पनि कोरोनाले नेपालका सूचीकृत कम्पनीको आयमा उल्लेखनीय असर पार्ने सम्भावना देखिँदैन । चालू आर्थिक वर्षको आम्दानीमा केही कमी आउँदा लाभांश कम हुनसक्छ । तर, आगामी वर्षदेखि स्थितिमा सामान्यीकरण हुँदै जाने अनुमान गर्न सकिन्छ ।

कम्पनीका लागि पाठ 
नेपालका सूचीकृत कम्पनीसँग स्वतन्त्र जगेडा कोष ‘सिलो’खोजे बराबर छ । विपत्ति जहिले पनि पर्न सक्छ । विपत्तिका बेला भकारी (जगेडा) मा धन छ भने अनिकाल वा विपत्ति टार्न सकिन्छ छैन भने भोकै मर्ने दिन आउनसक्छ । चालू वर्षमा कमाएको सबैै रकम बाँडीचुँडी खाइहाल्ने प्रवृत्तिलाई यसै वर्षबाट रोक्नु जरुरी देखिएको छ । नेपालका कम्पनीले सञ्चित कोष राख्नुपर्छ भन्ने स्वविवेकीय ज्ञान राख्न सकेको देखिँदैन । नियमनमा रहेका बैंक बीमालाई नियामकले नै कोष (सञ्चिति) राख्न निर्देशन दिनुपर्ने स्थिति देखिएको छ । नियमनमा नरहेका कम्पनीलाई पनि धितोपत्र बोर्डले नै विशेष निर्देशन दिएर वितरणयोग्य नाफाको निश्चित प्रतिशत सञ्चित कोष राख्न लगाउनुपर्ने आवश्यकता देखिएको छ ।

लेखक धितोपत्रसम्बन्धी जानकार अधिवक्ता हुन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।