बढीमा १४ दिनभित्र कोरोनाको लक्षण देखिन्छ । नेपालमा लकडाउन भएको २०औं दिन भएको छ । यस बीचमा भारतबाट नेपाल आएकालाई क्वारेन्टाइनमा राखिएको छ र हवाईमार्गबाट कसैलाई पनि नेपालमा आउन दिइएको छैन । यो १९ दिनको बीचमा कसैलाई कोरोनाको समस्या हुन्थ्यो भने ऊ जसरी पनि अस्पताल पुग्थ्यो वा स्थानीय निकायलाई यसको जानकारी हुने थियो । यसको अर्थ नेपालमा ८ जनाबाहेक अरूलाई कोरोना हुने सम्भावना निकै थोरै छ । नेपालको सिमानामा अहिले जस्तै कडाइ गरिन्छ भने अब नयाँ संक्रमित देखिने सम्भावना निकै कम छ । अबको समस्या कोरोनाभन्दा आर्थिक अथवा जीविकोपार्जन नै हो ।
अत्यावश्यक सेवाहरू विस्तारै खोल्दै गएर खेतीपाती, उद्योग, निर्माणजस्ता क्षेत्रलाई विस्तारै गति दिनु राम्रो हुन्छ ।
अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ)का अनुसार यो समस्यापछि विश्वमा काम गर्न सक्ने डेढ अर्ब मानिस बेरोजगार हुनेछन् । विश्वको पहिलो अर्थतन्त्र भएको अमेरिकामा ९ अप्रिलसम्म १ करोड ५० लाख मानिसले बेरोजगार भत्ता पाउनका लागि नाम दर्ता गराइसकेका छन् । प्रत्येक बेरोजगारलाई सरकारले प्रतिमहीना प्रतिव्यक्ति २ हजार ४०० डलर भत्ता दिने घोषणा गरेको छ । जर्मनीले ८२५ अर्ब डलरको राहत ल्याएको थियो । जापानले १० अर्ब डलर र भारतले पनि २३ अर्ब डलरको राहत घोषणा गरेका छन् तर नेपालको अवस्था त्यो छैन । लकडाउन महीनांै लम्बिएमा सबैभन्दा दुःखदायी असर गरीब नेपालीलाई पर्ने छ । त्यसैले अर्थ रणनीतिमा अलिकति परिवर्तन गर्न आवश्यक छ ।
दैनिक खाजानास्ता, रक्सी, चटपटे, पकौडा, आदि विक्री हुने खाजाघरहरू बन्द छन् । किसानले दूध सडक तथा नालीमा फालेको देखिन्छ । ननभेजलाई कोरोना लाग्छ भन्ने हल्लाले पोल्ट्री व्यवसाय डुब्दै छ । विमान सेवा, पर्यटन सेवा, निर्माण सुधार, फर्निसिङ, कस्मेटिक व्यवसाय आदि ठप्प छन् । यिनीहरूको पुनरुत्थान हुन कति समय लाग्ने हो,े हिसाब लगाउन सम्भव छैन ।
सामान्य अवस्थामा पनि लगभग १८ प्रतिशत मानिस गरीबीको रेखामुनि बाँचिरहेका छन् । कोरोना महामारीपछि भारतमा काम गर्ने ८ लाख जनता र अन्य देशमा काम गरेर विपे्रषण पठाउने लाखांै मानिस बेरोजगार भएपछि नेपालको अवस्था आर्थिक दृष्टिले निकै समस्यामा पर्न सक्छ ।
यही अवस्था रहेमा सरकारी जागीर खाने व्यक्तिबाहेक अरूले आगामी २–३ महीनापछि तलब पाउने अवस्था छैन । रोजगारदाताले पनि व्यापार र आम्दानी भए मात्र कामदारलाई तलब दिने हो । उसको आम्दानी छैन भने कामदारलाई तलब तथा ज्याला दिने अवस्था रहँदैन । निजी विद्यालय, निजी अस्पताल, निर्माण ठेकेदार आदिले दिने तलबमा यसले असर पार्नेछ । यही कारण धेरै मानिस पैदल हिँडेर भए पनि यो लकडाउनको बेलामा घर पुगेका हुन् ।
यस्तो बेलामा अर्थतन्त्रलाई कुनै तरीकाले बचाउने उपाय भएन भने नेपालमा विकराल आर्थिक संकट आउने निश्चित छ । यसै कुरालाई दृष्टिगत गरी कृषिमन्त्रीले नेपालमा आउन सक्ने भोकमरी समस्या रोक्नका लागि काम गर्न र त्यसमा सरकारले दिने सहयोगका बारेमा स्थानीय तहलाई पत्र लेखेका छन् ।
यो नेपाली कृषितन्त्रको एक मार्गनिर्देशन बन्न सक्छ । अर्थात् नेपालले अहिलेको अवस्थामा कृषिमा आत्मनिर्भर बन्ने प्रयास गरेर प्रतिफल लिन आवश्यक छ । यो पत्र एउटा उत्तम आर्थिक विकल्प हुन सक्छ । उक्त पत्रमा कृषिका लागि सरकारले दिन सक्ने अनुदान र योगदानका बारे उल्लेख छ । यो पत्र अमलमा आए कृषि सुध्रिएर कम्तीमा अन्न आयातको अवस्था मात्र हटे पनि महत्त्वपूर्ण हुनेछ ।
कोरोनाबाट जनतालाई बचाउन लकडाउन र सिमाना बन्दजस्ता सतर्कता अति सराहनीय छन् । तर, कोरोनाको त्रासदी कहिलेसम्म रहने हो भन्ने जानकारी कसैसँग छैन । त्यसैले अब विस्तारै जनजीवनलाई खोल्दै जाने बारेमा पनि सोच्नुपर्ने हुन्छ । यो लेखको अर्थ विनाकुनै अध्ययन खोल्ने भनेको होइन । अत्यावश्यक सेवाहरू विस्तारै खोल्दै गएर खेतीपाती, उद्योग, निर्माणजस्ता क्षेत्रलाई विस्तारै गति दिनु नै राम्रो हुन्छ ।
अब १ वर्षसम्म वैदेशिक रोजगारमा जाने तथा अध्ययनका लागि विदेश जाने कार्य रोकिने नै छ । ठूलो स्तरको आवतजावत पनि तत्काल सम्भव नहोला । तर, स्थानीय खेतीपाती, तराईमा गहुँ काट्ने र पहाडमा मकै छर्ने कामहरू विस्तारै खोल्दै जाने बेला आएको छ । विश्वविद्यालयका ल्याबहरूमा कोरोनाको औषधि बनाउन नानोटेक्नोलोजिष्टहरूलाई भर्ना गरेर प्रयास गर्न सकिन्छ । सबै कामको आधार हुन्छ, त्यो आधार हामीले पनि खोज्न सक्छौ, नसके पनि प्रयास गर्न सक्छौ ।
नेपालले यो समस्या आइसकेपछि औषधि बनाउने, मास्क बनाउने, किट बनाउने सम्बन्धमा केही त गर्नैपर्छ । रामायणमा श्रीलंका जाने पुल बनाउने बेलासम्म पूर्णरूपमा अनभिज्ञ नल र नील नामक बाँदरको क्षमता पत्ता लागेको थियो । त्यस्तै हामीबीच पनि कोही त्यस्तै क्षमता भएका चिकित्सा वैज्ञानिक पो रहेका छन् कि जसले रोग निवारणको औषधि निकाल्न सकून् ।
अहिले नेपालमा संक्रमणको अवस्था खासै भयावह छैन । यसैले अहिलेभन्दा फरक सोचांै र अर्थतन्त्रलाई बचाउने प्रयास गरौं । अहिले अमेरिकाले रोक्न नसकेको संक्रमण हामीले रोक्यौं भन्नुको कुनै अर्थ छैन । अमेरिकामा अहिले पनि औषधि खोज्ने काममा जुन तदारुकता छ त्यो प्रशंसनीय छ । नेपालले पनि यस्तै केही गर्नुपर्छ । कोरोनापछि पनि अर्को भाइरस जन्मन्छ । त्यसैले औषधिको सूत्र खोज्न सके सधैं काम लाग्छ ।
लेखक कैलाशकुट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गराउँछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।