वैशाख ३, काठमाडौं । नेपाली कांग्रेसले कोरोना संक्रमणको जोखिम कम गर्न परिक्षणको दायरा बिस्तार गर्दै घुम्ती परिक्षण शिविर शुरु गर्न आग्रह गरेको छ ।
लकडाउनको समय थप्ने तर कोरोनासँग जुध्ने गति र सतर्कताको मात्रा थप्न नसक्ने हो भने लकडाउन गरेर मात्रै कोरोनालाई परास्त गर्न नसकिने बताउँदै कांग्रेसले जोखिम सामना गर्न सामग्री, दक्षता र गति बढाउँदै घुम्ती परिक्षण शिविर शुरु गर्न आग्रह गरेको हो ।
लकडाउन पछि कयौं देश कोरोनाको चपेटामा परेको अनुभवबाट शिक्षा लिंदै, थपिएको पछिल्लो अवधिमा अघिल्लो चरणका कमजोरी अन्त्य गरेर सतर्कताको स्थितिलाई मजबुत तुल्याउन नेपाली कांग्रेसले विज्ञप्ति मार्फत अपिल गरेको छ ।
पछिलो समय विभिन्न ठाउँमा कोरोना संक्रमण बढेको पाइएको भन्दै परिक्षणको दायरा अब निश्चित केन्द्रबाट घुम्ती स्वास्थ शिविरको माध्यमबाट समुदायमा पुर्याउन गाउँ तहसम्म शिविर चलाउने तयारी तत्काल शुरु गर्न तिनै तहको सरकारलाई युद्धस्तरमा समन्वय साथ कार्य गर्न पनि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै विज्ञप्तिमा अत्यावश्यक मेडिकल सामग्री खरीद गर्ने या निश्चित मुलुकबाट मानवीय सहयोगका रूपमा आयात गर्ने कार्यमा अझै पनि ढिलाइ भइरहेको विषयलाई कांग्रेसले गम्भीरता पूर्वक लिएको उल्लेख गर्दै विज्ञप्तिमा पारदर्शी ढंगले सामग्रीको पर्याप्त बन्दोबस्त गर्न आग्रह गरिएको छ ।
‘नियमित उपचारमा प्रयोगमा रहेका अस्पतालहरुमै कोरोना परिक्षण र उपचार गर्ने कार्य अत्यधिक जोखिमपूर्ण रहेकोे कतिपय देशको अनुभव देखिएको छ, बाह्य अनुभवलाई गम्भीरतापूर्वक लिएर आवश्यक वैकल्पिक बन्दोबस्त गर्न युद्धस्तरमा तयारी गर्नुपर्ने विकल्पको अर्को कुनै विकल्प सोचिनु हुन्न’, विज्ञप्तिमा भनिएको छ ।
लकडाउनको समयमा पनि कोहि लुकिछिपी प्रवेश गरेका या गर्न सक्ने कुनैपनि नाका, नेपाल र नेपालीको रक्षाका लागि अब २४ सै घण्टा विशेष सावधानी अपनाउन पनि कांग्रेसले आग्रह गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।