वैशाख ९, धनगढी । न्यून परिमाणमा भारतबाट अत्यावश्यक सामग्रीको मात्र आयात हुँदा कैलाली भन्सारको राजस्व संकलन प्रभावित भएको छ ।
सामान्य अवस्थामा उक्त भन्सार हुँदै भारतबाट दर्जनौं शीर्षकमा आयात गरेको थियो । तर कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि फागुन ११ देखि गरिएको लकडाउनका कारण अत्यावश्यक बाहेकका सामग्रीको आयात रोकिँदा राजस्व संकलन ह्वात्तै घटेको छ ।
औद्योगिक मेशिनरी उपकरण, कच्चापदार्थ लगायत सामग्री आयात गरिँदै आएकोमा लकडाउनयता ती सामग्रीको आयात पूर्णरूपमा रोकिएपछि राजस्व संकलनमा ठूलो ह्रास आएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी डिल्लीराज शर्माले बताए ।
चालू आवको फागुन ११ देखि चैत मसान्तसम्म यो नाकाबाट ग्यास, डिजेल, पेट्रोल, खाद्यन्न, फलफूल, तरकारी तथा सेनिटाइजर मात्र आयात भएको भन्सार कार्यालयको तथ्यांक छ । न्यून परिमाणमा आयातित यस्ता सामग्रीको मूल्य २९ करोड ६७ लाख रुपैयाँ बराबरको मात्र भएको भन्सार अधिकृत समेत रहेका शर्माले बताए ।
यो नाका हुँदै सो अवधिसम्ममा भारतबाट ३२८ मेटन ग्यास, १ हजार ४८० किलोलिटर डिजेल, ३०० किलोलिटर पेट्रोल, १ हजार ६४ मेटन चामल दाल गहुँलगायत खाद्यान्न, १३२ मेटन फलफूल, १ हजार ४०० मेटन तरकारी र ४ सय लिटर सेनिटाइजर गरी २९ करोड ६७ लाख रुपैयाँ बराबरको ती वस्तु आयात भएको छ ।
‘यसबाट ८ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको छ,’ सूचना अधिकारी शर्माले भने, ‘जब कि यो अवधिमा कार्यालयको राजस्व असुली लक्ष्य ५० करोड रुपैयाँ थियो ।’
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।