मेलुङ गाउँपालिकाद्वारा २५ सयको उद्धार

Share News

वैशाख १०, दोलखा । दोलखाको मेलुङ गाउँपालिकाले लकडाउनका कारण समस्यामा परेका करीब २५ सय जनाको उद्धार गरेको छ । लकडाउनका कारण काठमाडौंमा नै रोकिएका  जिल्लाको गाउँपालिकाका विभिन्न वडामा वसोवास गर्नेहरूलाई गाउँपालिकाले घर फर्काउन बसको व्यवस्था गरी उद्धार गरेको हो ।

काठमाडौंमा रहेकाहरूलाई गाउँपालिकाले निःशुल्क रुपमा गाडीको व्यवस्था गरी फर्काएको गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए । २ दिनमा करीब २५ सय स्थानीय गाउँपालिका फर्किने उनको भनाइ छ ।

तेस्रो मुलुक तथा भारतबाट आएका बाहेकलाई गाउँपालिकामा ल्याइने व्यवस्था मिलाईएको गाउँपालिकाका प्रवक्ता हिरा थोकरले बताए । गाउँ फकिएकाहरूलाई घरमै सुरक्षित रुपमा १४ दिनसम्म बस्न आग्रह गरिएको उनले बताए । गाउँपालिकाका स्थानीयहरूलाई घर फर्काउन २० देखि २५ लाख खर्च हुन सक्ने उनको भनाइ छ ।

संकटको बेलामा आफूहरूलाई घर आउने व्यवस्था मिलाई गाउँपालिकाले ठूलो गुन लगाएको काठमाडौंबाट गाउँपालिकाले व्यवस्था गरेको बसमा फर्किएका मेलुङका विष्णु श्रेष्ठले बताए ।मेलुङ गाउँपालिका काका अतिरिक्त अन्य गाउँपालिका तथा नगरपालिकाले पनि स्थानीय बासिन्दाहरूलाई उद्धार गर्ने कार्यमा पहल गरिरहेको बताएका छन् ।

कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले कालिञ्चोक गाउँपालिकाले काठमाडौंमा फसेका लाई लिनकालागि १५ ओटा गाडी पास दिएर पठाइएको बताए ।

गौरीशंकर गाउँपालिकाका अध्यक्ष स्वयंबहादुर खड्काले विद्यार्थीहरू, भाडा पनि तिर्न नसक्नेहरूलाई  गाउँपालिका फर्कने व्यवस्था मिलाइरहेको बताए ।

यस्तै बैतेश्वर, शैलुङ, तामाकोशी, विगू गाउँपालिकाले अलपत्र परेकाको वडामार्फत पहिचान गरी झिकाउन पहल गरिरहेका छन् । साथै गाउँ फर्किएकाहरूलाई १४ दिनसम्म सुरक्षित रुपमा आफ्नै घरमा सामाजिक दूरी कायम गर्न आग्रह गरेका छन् ।

साथै वडागत रूपमा अनुगमनलाई तीव्र बनाइने पनि बताएका छन् । भीमेश्वर र जिरी नगरपालिकाले स्थानीयहरूलाई काठमाडौंबाट झिकाउन विभिन्न संयन्त्रमार्फत काम गरिरहेको बताएका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।