ओपेरालाई इटालियनहरू नाटक प्रस्तुत गर्ने स्थानका रूपमा बुझ्ने गर्छन् । उनीहरूका लागि ‘ओपेरा’ नै मनोरञ्जन गर्ने सबैभन्दा उपयुक्त स्थान हो । अहिलेको तुलनामा प्राचीन समयमा त्यहाँ ओपेराले अझ ठूलो महत्व पाउँथ्यो । अधिकांश मानिस ओपेरामै जम्मा हुन्थे र रमाइला प्रस्तुतिको प्रत्यक्ष अनुभव गर्थे । हाल आएर इटालियन भाषाको त्यही ओपेरा शब्दलाई सुटुक्क सापट लिएर इण्टरनेटको दुनियाँमा त्यसलाई नयाँ ढङ्गले परिभाषित गरिएको छ । आजका स्मार्टफोनका स्मार्ट प्रयोगकर्ताहरूलाई ओपेरा मिनी कुनै नौलो शब्द अवश्य होइन । उनीहरू यसलाई वेबसाइटसम्म पुग्ने सजिलो माध्यम भनेर तुरुन्तै सम्झन्छन् । मोबाइलमा इण्टरनेट ‘अन’ गर्नासाथ धेरै प्रयोगकर्ता यही प्लेटफर्ममा पुगेर मख्ख पर्छन् । अनि यसैबाट खोज्न थाल्छन् आफ्ना लागि आवश्यक सूचनाहरू । यस अर्थमा ओपेरा इण्टरनेटका लागि प्लेटफर्म हो भने डेभलपिङका दृष्टिले एक सफ्टवेयर ।
आखिर के छ ओपेरा मिनीमा ?
जसरी इटालियनहरू ओपेरालाई मनोरञ्जनको माध्यमका रूपमा हेर्छन्, त्यसरी नै मोबाइल प्रयोगकर्ताका लागि पनि ‘ओपेरा मिनी’ त्यस्तै रमाइलो माध्यम बन्दै गएको छ । यसकै प्रमाण हो, विश्वभर छरिएर रहेका यसका ४० करोड प्रयोगकर्ता । यसको लोकप्रियता यति बढ्दो छ कि, प्रत्येक दिन हजारौंको सङ्ख्यामा कम्प्युटर, ट्याब्लेट तथा स्मार्टफोनमा यो सफ्टवेयर डाउनलोड गरिन्छ । ओपेरामा उपलब्ध १३ हजारभन्दा बढी वेबसाइट पनि यसको प्रसिद्धिको अर्को कारण हो । महत्वपूर्ण पक्ष के छ भने ओपेरामा ‘रेस्पोन्सिभ वेब डिजाइनिङ’ अर्थात् डिभाइसको आकारअनुसार वेबसाइट हेर्न निकै सहज हुने गर्छ । अझ यो सफ्टवेयरका नयाँ संस्करणहरूमा त कम्प्युटर डेस्कटपमा वेबसाइटको जस्तो डिजाइन उपलब्ध हुन्छ, त्यस्तै डिजाइन स्मार्टफोनमा पनि उपलब्ध गराउने क्षमता छ । त्यस्तै, यसको नयाँ संस्करणहरूमा भएको ‘ल्याङ्ग्वेज सपोर्ट’को सुविधाले विश्वका धेरै मानिसलाई आफ्नै भाषामा आधारित वेबसाइट हेर्न सकिने व्यवस्था गरिदिएको छ । पुराना संस्करणहरूमा भने विश्वव्यापी रूपमा प्रचलित भाषा र लिपिमात्र सपोर्ट हुने गर्थ्यो ।
स्मार्टफोन होस् या बारफोन, यो सफ्टवेयरलाई ‘कम्प्याटिबल ब्राउजर’का रूपमा लिने गरिन्छ । त्यसमा पनि सजिलै डाउनलोड गर्न सकिने तथा मेमोरी कम लिने भएकोले यो धेरैको रोजाइमा पर्न सफल भएको छ । कम स्पीड भएको इण्टरनेटमा पनि यसले सजिलै काम गर्न सक्छ । यसबाहेक यसमा रहेको गूगल सर्च इञ्जिनको व्यवस्थाले अरू ब्राउजर डाउनलोड गर्नुपर्ने झन्झट पनि समाप्त गरिदिएको छ । आफूलाई मन परेको वेबसाइटलाई ओपेरा मिनीको होमपेजमा ‘एड’ गर्न पाउनु यसको अर्को विशेषता हो । यो सुविधाले तपाईंलाई आफ्नो वेबसाइटका लागि टाइप गर्नुपर्ने समय पनि कम गरिदिनेछ ।
१ वर्षमै नेपालमा ९२ प्रतिशत बढी प्रयोगकर्ता
नेपालमा सन् २०१२ को तुलनामा सन् २०१३ सम्म ओपेरा मिनीको प्रयोग गर्नेको सङ्ख्या ९२ प्रतिशत वृद्धि भएको ओपेरा मिनीको एउटा अनुसन्धानले देखाएको छ । ओपेरा मिनीको भारतस्थित शाखा कार्यालयले गरेको उक्त अनुसन्धानमा यस अवधिभर स्मार्टफोनमा मात्र यसलाई प्रयोग गर्नेको सङ्ख्या भने २ सय ६० प्रतिशत वृद्धि भएको छ । स्मार्टफोन तथा इण्टरनेट प्रयोगकर्ताको सङ्ख्यामा तीव्र वृद्धि हुँदै जाँदा ओपेरा मिनीको प्रयोग पनि बढेको अनुसन्धानमा उल्लेख छ ।
फेसबूक खोल्नेकै भीड
अनुसन्धानले ओपेरा मिनी प्रयोग गर्ने प्रायः सबैले फेसबूक पेज नै बढी खोल्ने तथ्य सार्वजनिक गरेको छ, जसमध्ये प्रत्येक १० ओटा वेबपेजमध्ये नौओटा ‘फेसबूक डट कम’ नै रहने गरेको उल्लेख छ । फेसबूकपछि सबैभन्दा बढी खोलिने वेबपेजमा ‘गूगल डट कम’ र ‘वापट्रिक डट कम’ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । ओपेरा मिनी डाउनलोड गर्ने मोबाइलमा सबैभन्दा बढी नोकिया ब्राण्ड रहेको रमाइलो तथ्य पनि अनुसन्धानले देखाएको छ । नोकियामा सबैभन्दा बढी ६३ प्रतिशत, सामसुङमा १८ प्रतिशत र माइक्रोम्याक्समा ४ प्रतिशत ओपेरा मिनीको प्रयोग हुने गरेको देखिएको छ । नेपालमा बारफोनभन्दा पनि स्मार्टफोनमा सबैभन्दा बढी ओपेरा मिनीको प्रयोग हुने विषय पनि अनुसन्धानमा उल्लेख छ । त्यस्तै, सबैभन्दा बढी एण्ड्रोइड ओएस प्रयोग भएका मोबाइलमा यसको प्रयोग हुने गरेको छ ।
नेपालमा ओपेरा मिनीमार्फत धेरै हेरिने वेबसाइट
१) फेसबूक डट कम
२) गूगल डट कम
३) वाप ट्रिक डट कम
४) यूट्युब डटकम
५) ब्लगस्पट डट कम
६) विकिपिडिया डट कम
७) याहू डट कम
८) बीबीसी डट सीओ डट यूके
९) एन्सर्स डट कम
नेपालमा ओपेरा मिनी बढी प्रयोग हुने मोबाइल
अनुसन्धानले नेपालमा सबैभन्दा बढी ओपेरा मिनी प्रयोग हुने मोबाइलमा नोकियाका विभिन्न ब्राण्डको नाम उल्लेख गरेको छ । तल उल्लेख गरिएका सबै मोडल नोकिया ब्राण्डकै हुन् ।
१) ५१३० सी–टू
२) २७००सी–टू
३) सी१–०१
४) एक्सटू–०१
५) सी३–००
६) २६९०
७) एक्सटू–००
८) ६३००
९) एक्स३–००
१०) सीटू–०१
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।