लकडाउनपछिको शेयरबजार

Share News

शेयरबजारमा कसले कति बेला कमाउँछ र कसले गुमाउँछ भन्ने अनुमान गर्न निकै कठिन छ । अति नै विज्ञले पनि विश्व परिवेश नहेरी शेयरको मूल्य बढ्छ वा घट्छ भन्न सक्दैन । विश्व परिवेश र आन्तरिक अर्थ राजनीतिको मोड कतातिर गएको छ हेरेरमात्र केही अनुमान लगाइन्छ । त्यो अनुमान पनि वैज्ञानिक रूपमा सही हुन्छ भन्ने कुनै आधार हुँदैन । यसको अर्थ समग्र अर्थतन्त्र सामाजिक विज्ञान हो । तर, भौतिक रासायनिक शास्त्रजस्तो शुद्ध विज्ञान होइन ।

हाम्रो अर्थतन्त्रलाई अलिकति मौलिक उत्पादनतर्फ लगाउने क्षमता हुने हो भने नेपालको शेयरबजारमा पनि हरियाली प्रबल हुनेछ ।

एउटै परिस्थितिमा पनि शेयरबजारका विश्लेषकहरूले एउटै कम्पनीको शेयरको बारेमा गरेको विश्लेषण फरक हुन सक्छ । सानो नकारात्मकता र  सकारात्मकताले पनि शेयरको मूल्यमा उथलपुथल ल्याइदिन्छ । अहिले कोरोनाले गर्दा तेल कम्पनीको शेयर घटेको छ । तर, रासायनिक औषधि र चामल निर्यातक कम्पनीको शेयर बढेको छ । शेयरमा कमाउने भनेको साहस, समय र वातावरणीय स्ट्राटेजीबाट हो । इकोनोमिक्स टाइम्सले जनाएअनुसार भारतमा लकडाउनपछि भारतीय शेयरबजारमा जोडदार तेजी देखिएको छ । बीएसईका २ दर्जनभन्दा बढी कम्पनीमा लगानी गर्नेले आफ्नो लगानी २ गुणाले बढाएका छन् ।

यो सूचीमा पहिलो नाम येस बैंकको छ । येस बैंकमा ६ मार्चमा ५.५५ रुपयामा किनेको शेयर ३४० प्रतिशतले बढेर १६ अप्रिलमा २४.५ रुपयामा बिक्यो । डुब्न लागेको येस बैंकमा लगानी गर्ने साहसिक सोच भएकाले डेढ महीनामै ३४० प्रतिशत धेरै कमाए । उनीहरूले के अनुमान लगाए भने देशको चौथो ठूलो बैंकलाई सरकारले कुनै न कुनै तरीकाले बचाउनेछ । भारत सरकारले येस बैंक बचाउन अर्को बैंकलाई अगाडि ल्यायो ।

यसबाहेक भारतमा एगोकेम कम्पनी किल्पेस्ट, केमिकल कम्पनी बीबीमेड, पार्ले कम्पनी, आर्टिन लेब्स, चामल निर्यातक कम्पनी आरबीएलको शेयर २ हप्तामा १२५ देखि १६५ प्रतिशतसम्म बढ्यो । यी सबै कम्पनी कोरोनाको औषधि बनाउने र मानवको अत्यावश्यक वस्तु चामलको कारोबार गर्थे ।

यस्तो हुनुमा भारतीय रिजर्व बैंकले गरेका केही निर्णय पनि जिम्मेवार छन् । एशियाली बजारमा चामलको मूल्य आकाशिएपछि चामल निर्यातक कम्पनीको अवस्था सुध्र्रिएको हो ।
भारत सरकारले कोरोना उपचारमा सहयोगी हुने केही औषधि अमेरिकामा निर्यात गर्न थालेपछि क्षेत्रगत रूपमा ल्याब कम्पनीहरूको अवस्थामा सुधार भएको छ ।

यसबाहेक अन्य ३५२ कम्पनीको शेयर ५० देखि १०० प्रतिशतले बढेको छ । वास्तवमा सबैभन्दा कम मूल्य भएका शेयर किनेर पनि लगानीकर्ताले कहिलेकाहीँ राम्रो कमाउन सकेको देखिएको छ । यो कुरा नेपालमा लागू हुन्छ । सम्भावना जहाँ छ त्यो कम्पनीको शेयर बढ्छ । नेपालमा वास्तवमा हाइड्रो प्रोजेक्टहरूको शेयर बढी हुनुपर्ने थियो, कारण के भने हाइड्रो नेपालकै कच्चा पोटेन्सियल पावरबाट चल्ने परियोजना थियो । तर, विडम्बना नेपालमा घूस, सरकारहरूको अदूरदर्शिताका कारण परियोजनाको मूल्य काल्पनिक रूपमा यति धेरै बनाइएको छ । अब हाइड्रो कम्पनीले लाभांश दिन सक्ने अवस्था आउला वा नआउला भन्न कठिन छ । त्यही कारणले अहिले नेपालका धेरै जलविद्युत् कम्पनीहरूको शेयर मूल्य १०० अर्थात् आईपीओको भन्दा कम मूल्यमा किनबेच भएको छ ।

कोरोनाको समस्यापछि जलविद्युत् परियोजनामा भएको लगानी उठाउन नसकेर केही बैंकहरू नै टाट पल्टिने अवस्था नआउला भन्न सकिँदैन । त्यो कसरी यो लेखमा नभनौं । आशा गरौं, कोरोनाले नेपालको अर्थतन्त्रमा नयाँ मौलिकता ल्याएर आफ्नै खुट्टामा उभिने अवस्था सृजना गरेमा सम्पूर्ण अर्थतन्त्रमा सकारात्मक गति आउन सक्ने सम्भावना पनि छ । त्यसैले नेपालको शेयरबजार धेरै तल नझर्न पनि सक्छ । किनकि, यो पहिला नै पीँधमा छ ।

कोरोनापछि विश्वको शेयरबजारमा ठूलो उछाल आएको कुरा त माथि नै उल्लेख गरिएको छ । भारतको येस बैंकको शेयर एक्कासि बढ्नुमा उक्त बैंकमा एसबीआई बैंकले १० हजार करोड लगानी गर्नु हो । त्यस्तै कुराले नेपालको शेयरबजारमा पनि रौनक ल्याउने अवस्था पक्कै बन्छ । बैंकको अवस्था पनि २ कारणले राम्रो हुन सक्छ ।  पहिलाझैं अन्धाधुन्ध आयात गर्न पनि बैंकबाट नै ऋण लिनुपर्छ । आयात हुन नसके नेपालमा नै लघु उद्यम, उद्यमशीलता र कृषिका लागि ऋण लिनैपर्ने हुन्छ । तसर्थ राम्रो नियम र नियतले चलेका बैंकहरूको अवस्था पक्कै खराब हुँदैन भन्ने अनुमान छ । यसैगरी नेपालमा अब उद्योगको संख्या पक्कै बढ्छ किनकि कोही विदेशबाट नेपाल आएछ भने उसले ल्याएको केही रकम लगानी नै गर्ने छ । पहिलाझैं साथीभाइलाई मदिरा कुटुम्बलाई कोसेली बोकेर १ महीना घुम्ने अनि फेरि विदेश जाने अवसर उसलाई हुने छैन ।  

शेयरमा कसरी उछाल आउँछ भन्ने कुरा अनेक कारण र घटनामा निर्भर हुन्छ । वस्तु वा कमोडिटी बजारमा उछाल आउन चाडपर्व दशैंतिहार वा विवाहका लगन पर्खनुपर्ने हुन्छ तर शेयरबजारमा त्यस्तो केही हुँदैन । शेयरबजारमा कात्तिकमा पनि विवाह हुन सक्छ र साउनमा दीपावली पनि । यस्तै भएको छ, भारतको एक कम्पनीमा ।

त्यहाँको रिलायन्स इन्डस्ट्रीको शेयरको शेयर वैशाख १० गते ७४३ अंकका साथ १० प्रतिशतले बढेर आफ्ना शेयर धनीलाई ९०,००० करोड कमाइ दिन सफल भयो । उक्त दिन विश्वभरका बजारमा रातो छाइरहेका बेला रिलायन्सको शेयरमा आएको हरियालीले अन्य रातोलाई पनि फिका गरी दिएको थियो । यस्तो पनि अकारण भएन निरन्तर ऋणमा थलिँदै गएको अम्बानीको रिलायन्समा एक्कासि चमक आएको थियो ।

कोरानापछि विश्वमै सबैभन्दा सुरक्षित र कम रोग प्रभावित नेपालमा प्रत्यक्ष वैदेशिक लगानी बढ्न पनि सक्छ । यसबाहेक विदेशबाट हजारौं नेपाली स्वदेशमा आए भने नेपाल सस्तो श्रम पाइने देश बन्न सक्ने आशा पनि छ । त्यसैले हाम्रो अर्थतन्त्रलाई अलिकति मौलिक उत्पादनतर्पm लगाउने क्षमता हुने हो भने नेपालको शेयरबजारमा पनि हरियाली प्रबल हुनेछ ।

लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।