दार्चुलाको घाँटीबगर ईलाकामा नेपाली सेना तैनाथ

Share News

जेठ ८, काठमाडौं । नेपाली सेनाले महाकाली करिडोर (दार्चुला- तिंकर सडक योजना) को लागि दार्चुलाको घाँटीबगर इलाका नजिकैको थी भन्ने स्थानमा एक सेक्सन प्लस फौज तैनाथ गरेको छ । 

सरकारले विसं २०७७ वैशाख १ र १४ गते दार्चुला - तिंकर सडक योजना अन्तर्गत उत्तरतर्फ रहेको ८७ किलोमिटर सडकखण्ड नेपाली सेनामार्फत निर्माण गराउने निर्णय गरे अनुरुप सो क्षेत्रमा सेना तैनाथ गरिएको नेपाली सेनाले जानकारी दिएको छ । 

चीन र भारतको सीमा नाकासमेत पर्ने दार्चुला जिल्लाको व्यास गाउँपालिका १ मा पर्ने सो आयोजना अन्तर्गत दार्चुला जिल्लाको व्यास गाँउपालिका वडा नं. २ स्थित घाँटीबगर इलाकामा करीब २ मिटर चौडाईको ४५० मिटर गोरेटो र घोडेटो बाटो निर्माण गरिने छ । 

बाटो निर्माण कार्यको लागि दक्ष प्रावधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीको निमित्त आवश्यक नफ्रिको फौज, उपकरण एवं अन्य सामग्रीहरु सहितको टोली बिहीवार नै त्यहाँ पुगेको छ । 

व्यास - २ मा पर्ने मौरी भिरमा ठूलो चट्टान र घाँटीबगर भन्ने स्थानमा पहिरो समेत गएकोले आवतजावत गर्न समस्या हुँदा छाङरु र तिंकर गाउँका करीब १८२ घर परिवारको करीब १ हजार २०० जना स्थानीय बासिन्दा जिल्ला सदरमुकाम खलङ्गा आवतजावत गर्न हालसम्म भारततर्फ रहेको बाटो प्रयोग गर्न बाध्य थिए । 

सडक खण्ड सुचारु भए पश्चात स्थानीय बासिन्दाहरु नेपालकै भूमी प्रयोग गरी आवत -जावत गर्न सक्नेछन् ।

घाँटीबगर र मौरी भिर ईलाकामा पर्ने ४५० मिटर सडक खण्ड अविलम्ब सुचारु गर्न दार्चुला जिल्ला सुरक्षा समितिबाट निर्णय भए बमोजिम सडक खण्ड निर्माणको लागि नेपाली सेनाको प्रावधिक जनशक्ति तैनाथ गरिएको नेपाली सेनाले जानकारी दिएको छ । 

सेनाले सरकारबाट प्राप्त जिम्मेवारीलाई उपलव्ध स्रोत साधन, जनशक्ति र प्राविधिक विज्ञताको पूर्ण रुपमा उपयोग गर्दै यथासम्भव छिटो सम्पन्न गर्ने गरी काम गर्ने जानकारी दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।