जेठ १७, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिवार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
यसअघि सरकारले जेठ २० सम्म लकडाउन जारी राख्ने निर्णय गरेको थियो। कोरोना भाइरस संक्रमण विस्तार रोक्न सरकारले गते चैत ११ गते देखि लकडाउन लागू गरेको थियो ।
यसैगरी सरकारले असार १६ गतेसम्म हवाई सेवा बन्द गर्ने समेत निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका डा युवराज खतिवडाले जानकारी दिए। मन्त्रिपरिषद् बैठकले लकडाउनका कारण तेस्रो देशमा अड्किएका नेपालीहरुलाई ल्याउने कार्यविधि पनि पास गरेको छ। कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रवार बसेको बैठकले नेपाल आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको थियो ।
निर्णय अनुसार आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्न भिसामा गएका तर आफन्तको मृत्यु भएका कारण काजक्रिया गर्न आउनुपर्ने अवस्थामा रहेका व्यक्तिहरुलाई नेपाल फर्काइने छ ।
उच्चस्तरीय समन्वय समितिको बैठकले श्रम करार अवधि सकिएर रोजगारी गुमाएका, कोरोना बाहेक अन्य स्वास्थ्यको दृष्टिकोणले अस्वस्थ रहेका, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई पनि स्वदेश फर्काइने छ ।
यसका साथै सरकारी सेवामा रहि तालिम वा अध्ययनका लागि विदेशमा रहेका नागरिकले स्वदेश फर्किनको लागि सम्बन्धित देशको दूतावासमा आफ्नो विवरण टिपाउनु पर्ने निर्णय गरेको थियो । यस्तै समितिले भारतमा रहेका नेपाली नागरिकहरुलाई स्वदेश ल्याउनको लागि देशका विभिन्न नाकाहरुलाई आधिकारिक नाकाको रुपमा तोकेको थियो ।
यस्ता नाकाहरुमा पशुपतिनगर, काकडभिट्टा, रानी, ठोरी, सिराहाको माडर, मलंगवा, गौर, वीरगञ्ज र महेशपुर नाका तोकेको छ । यसैगरी सुनौली–बेहलिया, तौलिहवा, कृष्णनगर, जमुनाह, गौरिफण्टा, गड्डाचौकी र झुलाघाट रहेका छन् ।
तेस्रो मुलुकबाट आउने नेपालीको हकमा सरकारले सम्पूर्ण देशबाट विवरण प्राप्त भएपछि उद्धारको लागि पहल गर्ने निर्णय भएको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।