जेठ १९, काठमाडौं । हवाई सेवा सञ्चालकको छाता संगठन वायुसेवा सञ्चालक संघ (आवोन) ले भने हवाई क्षेत्रमा व्यवस्था गरेको सहुलियत तथा कर छूटको विषय स्वागत योग्य भएको प्रतिक्रिया दिएको छ ।
सरकारले आगामी आवको बजेट र नीति तथा कार्यक्रममा नेपाली वायुसेवा कम्पनीले भुक्तानी गर्नुपर्ने पार्किङ शुल्क, वायुसेवा सञ्चालन अनुमति नवीकरण दस्तुर, उडान योग्यता प्रमाणपत्र दस्तुर र हवाई इन्धनमा लाग्ने गरेको पूर्वाधार कर छूट दिने घोषणा गरेको थियो ।
यो घोषणाले हवाई सेवा सञ्चालकलाई मात्र नभएर यात्रुहरुलाई समेत फाइदा पुग्ने संघको धारणा छ । बजेट वक्तव्यमार्फत आव २०७६/०७७ को आय विवरणअनुसार लाग्ने आयकरमा २० प्रतिशत छूट दिने गरिएको घोषणाले यो क्षेत्र केही हदसम्म लाभान्वित नै हुने संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जानकारी दिए ।
‘निजी वायुसेवा कम्पनीहरुले दुई महीनादेखि भएको बन्दले आन्तरिक तथा बाह्य उडान सेवामा दिनहुँ ६ करोडभन्दा बढी राजस्व गुमाइरहेका छन् । यो अवस्थामा बजेटमा गरिएका व्यवस्थाले केही राहत हुने अपेक्षा छ’, अध्यक्ष थापाले भने ।
संघले विज्ञप्ति जारी गर्दै बैंकबाट प्रभाव हुने कर्जा कार्यक्रमको पुर्नसंरचना गरी ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने, पर्यटन व्यवसायका कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि पाँच प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन रू. ५० अर्बको छुट्टै कोष खडा गर्ने जस्ता बजेटमा घोषणा गरिएका विषय स्वागतयोग्य भएको भन्दै कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा समेट्न सुझाव दिएको छ ।
यस्तै संघले हवाई इन्धनको मूल्य समायोजनको लागि समेत आग्रह गरेको छ । नेपाली यात्रुलाई सुपथ मूल्यमा हवाई सेवा प्रदान गर्न र राष्ट्रको महत्वपूर्ण उद्योगलाई विषम घडीमा टिकाइराख्न प्रतिलिटर विक्री मूल्यको करीब १० प्रतिशत नाफा राखी हवाई इन्धनको मूल्य समायोजन गर्न नेपाल आयल निगमलगायत सम्बन्धित मन्त्रालयमा अनुरोध गर्दछौं । विज्ञप्तिमा उल्लेख छ ।
बजेटमा हवाई इन्धनमा पूर्वाधार कर छूट तथा थप भन्सार शुल्क नलाग्ने व्यवस्थाबाट हवाई यात्रा केही सस्तो भए तापनि छिमेकी मुलुकको तुलनामा नेपालमा हवाई इन्धनको मूल्य झण्डै दोब्बर देखिएकाले यसमा पनि विचार गर्नु पर्ने अध्यक्ष थापाले बताए । संघका अनुसार निगमले हवाई इन्धनमा अझै पनि इण्डियन आयाल निगमले प्रदान गरेको तुलनामा पनि रू. ३३ मुनाफा लिइ रू. ६५ मूल्य तोकेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।