१५ ओटा निर्जीवन बीमा कम्पनीले पुनर्बीमा बापत २ अर्ब ३१ करोड गरे आम्दानी

Share News

जेठ २२, काठमाडौं । चालू आवको तेस्रो त्रैमासमा १५ ओटा निर्जीवन बीमा कम्पनीले पुनर्बीमा गरेर रू. २ अर्ब ३१ करोड आम्दानी गरेका छन् ।

यो आम्दानी गत आवको तेस्रो त्रैमासमा रू. २ अर्ब १४ करोड थियो । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको तेस्रो त्रैमासमा पुनर्बीमा कमिशन आय ८ दशमलव ३४ प्रतिशतले वृद्धि भएको हो । 

चालू आवको तेस्रो त्रैमासमा सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनीले पुनर्बीमा बापत रू. ३६ करोड ६३ लाख आम्दानी गरेको हो । सोही अवधिमा १५ कम्पनीमध्ये ३ कम्पनीको पुनर्बीमा कमिशन  आय घटेको छ भने बाँकीको वृद्धि भएको छ ।

हिमालयन जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको पुनर्बीमा कमशिन आय घटेको हो । 

गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको तेस्रो त्रैमासमा सबैभन्दा बढी युनाइटेड इन्स्योरेन्सको पुनर्बीमा कमिशन आय १२५ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा पुनर्बीमा बापत  उक्त कम्पनीले रू. २ करोड ९३ लाख आम्दानी गरेकोमा चालू आवको तेस्रो त्रैमासमा रू.६ करोड ६० लाख आम्दानी गरेको छ ।

नेपालमा एक मात्र पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनी सञ्चालनमा छ । कम्पनीहरुले जोखिम हेरेर पुनर्बीमा गर्ने गर्दछन् । ५ देखि १० प्रतिशत जोखिम आफुले बहन गरेर ती कम्पनीहरुले बाँकी सबै जोखिमका लागि पुनर्बीमा गर्ने गर्दछन् । 

स्रोत : कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।