नेपाल पुनर्बीमा कम्पनीको शेयर नेप्सेमा सूचीकृत, मूल्य रेञ्ज पनि तोकियो 

Share News

जेठ २८, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आईपीओ बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । 

उक्त कम्पनीको १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत भएको दोस्रो दिनबाट कारोबार गर्न सकिने व्यवस्था भएपनि बजार बन्द रहेकाले बजार सुचारु हुनासाथ कारोबार गर्न मिल्ने भएको छ । 

उक्त कम्पनीले नेप्सेमा सूचीकृत गराउनु पूर्वनै शेयरधनीहरुको हितग्राही खातामा शेयर जम्मा गराई सकेको छ । पहिलो कारोबारका लागि नेप्सेले रू. १४१ दशमलव ४५ देखि रू. ४२४ दशमलव ३५ सम्मको मूल्यरेञ्ज तोकेको छ । सोहि मूल्यरेञ्जको आधारमा कम्पनीको पहिलो कारोबार खुला हुनेछ ।

गत चैत २६ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेको उक्त कम्पनीले लकडाउनकै बीच सूचीकृत गर्ने योजना पुरा गरेको छ । कुल कित्तामध्ये संस्थापकतर्फको ८ करोड ४० लाख र सर्वसाधारणतर्फको १ करोड ६० लाख कित्ता रहेको छ । 

उक्त कम्पनीको शेयर जेठ ११ गतेनै संस्थापकसहित १० करोड कित्ता शेयर सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकीकरण गरिएको थियो । उक्त कम्पनीले गत चैत ४ देखि ७ गतेसम्म रू. १ अर्ब ६० करोड बराबरको आईपीओ सर्वसाधारणलाई विक्री गरेको थियो । 

आईपीओ विक्रीपछि  रू. १० अर्ब चुक्तापूँजी कायम गरेको उक्त कम्पनीले आर्थिक वर्ष २०७७/ ८८ सम्ममा रू. १० अर्ब ५० करोड चुक्तापूँजी पुर्याउने प्रक्षेपण गरेको छ । 


 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।