लामो समयपछि खोलिएको हुँदा लगानीकर्ताले घरखर्च चलाउन फटाफट शेयर बेच्नेछन् जसले गर्दा एकछिन सबैलाई हतास बनाउने छ । त्यसपछिको न्यून विन्दुमा शेयर किन्नेको होड लागेर अहिलेको भन्दा माथि शेयर आउनलाई धेरै समय लाग्ने छैन । विश्वका शेयरबजारले देखाएको यही ट्रेन्ड नेपालमा पनि देखिनेछ । त्यसैले अब यो बजार बन्द गरी राख्न आवश्यक छैन ।
कोरोनाले गर्दा नेपालको अर्थतन्त्रमा ठूलो नकारात्मक धक्का लागेको छ । आयात केही मात्रामा भइरहे पनि निर्यात निकै घटेको छ । अति बढी आर्थिक कारोबार हुने ठमेलमा कारोबार शून्य छ । अति नै बढी पैसा कमाउने वा परिचालन गर्ने निजी विद्यालय तथा शैक्षिक संस्थामा पैसा जम्मा हुन पाएको छैन । बैंकहरूले दिएको ३३ खर्ब ऋणको ब्याज उठ्न निकै कठिन भएको छ । यस्तै पैसाको आधारमा चल्ने शेयरबजार अहिले ३ महीनादेखि बन्द छ । अहिले आर्थिक जगत्मा यो किन बन्द गरियो र किन खोलिएन भन्ने कुरा नै सबैभन्दा गम्भीर बहसको विषय बनेको छ ।
कोरोनाका कारण नेपाली शेयरबजारका लगानीकर्तालाई ज्यादै हतास बनाएको छ । वैशाखको ३० र ३१ गते २ दिन पहिलो दिन १० करोड र अर्को दिन जम्मा १ करोड जतिको कारोबार भयो तर लगानीकर्ताको लगभग साढे ६३ करोड घट्यो । यसले लगानीकर्ताको मनोबल घटेको छ । तर, यो सधंै घटिरहने हुँदैन ।
धेरै मानिसको एकातिर जागीर गएको छ । अर्कोतिर शेयरमा पैसा डुबेको छ । त्यसैले चिन्ता हुनु सामान्य कुरा नै हो । किनकी आश्वासनले कसैको पेट भरिँदैन जतिसुकै मन बुझाए पनि अहिलेको अवस्था संवेदनशील छ । त्यसैले शेयरमा लगानी गर्ने दिनमा नै दीर्घकालीन सोच राख्न जरुरी छ । आजको भोलि आम्दानी हुन्छ भन्ने सोच्ने हो भने त्यो सम्भव पहिला पनि थिएन अहिले संकटकालमा हुने कुरै भएन ।
तर, अहिले डबेको सबै पैसा उठ्नेवाला छ, किनकी विश्वका अन्य सबै शेयरबजारले लगानीकर्तालाई निराश पारेका छैनन् । कोराना अब धेरै त्रासको विषय नबन्ने अवस्था छ । मानिसमा कोरोनाप्रतिको डर निकै कम भएको छ । पहिला एक जना फ्रान्सबाट आएकी एक युवतीमा कोरोना भयो भन्दा आत्तिएर कोठाभित्र लुक्नेहरू अहिले १० हजार बढी संक्रमित हुँदा पनि सडकमा जान डराएका छैनन् ।
त्यसैले अर्थतन्त्रमा पनि अब सुधार आउनेवाला छ । यसको संकेत असार १ गतेबाट बैंकहरूमा कर्जा माग्नेको भीड पनि बढिरहेको छ । अहिलेसम्म लगभग ८ हजारले जग्गा धितो राखेर ऋण लिने वा जग्गा फुकुवा गर्ने काम भइसकेको छ ।
यसबाहेक मुख्य कुरा के हो भने शेयरबजार अल्पकालीन लगानीको साधन हुँदै होइन, यो दीर्घकालीन हुनुपर्छ । यो दीर्घकालीन लगानीको औजार हो । वारेन बफेट, राकेश झुनझुनवाल दुवैको कुरा सुन्ने हो भने यो बजारमा आजको भोलि पैसाको थुप्रो लाग्छ भन्ने आशा राख्नु हुँदैन । त्यसैले नेपालको शेयरमा पनि केही समय पछि रिटर्न आउन थाल्छ ।
पहिलो कुरा कर्जा नलिएसम्म कुनै व्यवसाय नै नहुने भएपछि बैंकहरू पनि १÷२ वर्षमा पुरानै अवस्थामा आउने निश्चित छ । लघुवित्तले अहिले नै आप्mना ग्राहकलाई काममा लगाउन सक्ने अवस्था छ । कृषि र उद्योग खुलेकै छन् । गाउँमा धेरैले काम गरिरहेका छन् । त्यसैले अलिकति संवेदनशील भएकोमा लघुवित्तले अर्को वर्ष नै रिटर्न दिने अवस्था छ ।
जलविद्युत्मा अहिले केही कमजोर अवस्था देखिए तापनि दीर्घकालमा यसले पनि आफ्नो खर्च र १० प्रतिशत ब्याज उठाउने अवस्थामा जान्छ । त्यसैले अहिलेको मन्दीको कारणले शेयर मूल्य दीर्घकालमा आफ्नै ठाउँमा आउने छ ।
विश्वव्यापी कोरोना मन्दी अंगे्रजी भी आकारको छ । यसअनुसार अहिले केही समय स्वात्तै अर्थतन्त्र तल आउँछ र रिकभरी हुनासाथ तुरुन्तै माथि आउने अनुमान विश्वव्यापी छ । नेपालमा पनि यो महामारीले कुनै सडक, पुल, जमीन भत्काएको छैन । सबै काम तत्काल शुरू हुन सक्छ । काम शुरू हुनासाथ सोही अनुपातमा शेयरबजारमा पनि हरियो हुन थाल्नेछ । बैंक वित्तीय संस्था छिटो पुनरुत्थान हुनेछन् । त्यसैका आधारमा अहिले डुबेको शेयर मूल्य पनि विस्तारै आप्mनो अवस्थामा आउनेछ ।
शेयरबजार घटेको घट्यै भयो भने पनि यसलाई सधैं बन्द गर्न मिल्दैन । जस्तो अवस्था आए पनि लगानीकर्ताले सहन सक्नुपर्ने हुन्छ । त्यसैले यसलाई खोल्नुपर्छ । अहिले साउनबाट सम्पूर्ण बजारलाई स्वचालित बनाउन धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई निर्देशन दिएको छ । त्यसैले अब अविलम्ब शेयरको दोस्रो बजार खोलेर त्यसमा आइलाग्ने हरेक प्रकारका उतारचढावको सामना गर्न जरुरी छ ।
विश्व व्यापार पनि १८ प्रतिशतले घटेका कारण त्यसको केही न केही असर नेपाली शेयरबजारमा पनि पर्छ, त्यो भन्दा पनि धेरै कारणले गर्दा खोल्नासाथ नेपाली शेयरबजार डरलाग्दो गरी नघट्ला भन्न सकिँदैन । तर, त्यसको सीमा हुन्छ २ देखि ४ कारोबार दिन यो बजार घटेपछि लगानीकर्ताको मानसपटलमा अब सम्हालिनुपर्छ भन्ने अवस्था आउँछ र बजार बढ्न थाल्छ ।
यही प्रवृत्तिमा भारतमा पनि भएको छ । यस वर्षको जनवरी २० मा ४२ हजार माथि गएको बम्बई स्टक एक्सचेन्ज सेन्सेक्स २४ मार्चमा घटेर २५ हजारमा आएको थियो । अहिले विस्तारै सम्हालिएर ३४ हजारको वरिपरि घुमेको छ । नेपालमा पनि एकपटक डरलाग्दो गरी तल झर्ने र पछि सम्हालिएर कम्तीमा अहिलेको अवस्थामा आउनेछ । त्यसैले यो बजार खुला गरेर लगानीकर्तालाई परिस्थितिको सामना गर्न सिकाउनुपर्छ । लेखक कैलासकुट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।