चिसो र लोडशेडिङ एकैसाथ बढेसँगै आमउपभोक्तामा जेनेरेटरप्रतिको मोह पनि बढ्दै गएको छ । यसअघि न्यून क्षमता भएका ननब्राण्डेड जेनेरेटरको बजारमा विक्री उल्लेख्य भए तापनि हालका दिनमा भने बाण्डेड जेनेरेटरको विक्री बढ्दो क्रममा छ । कम मूल्यकै कारण ननब्राण्डेड जेनेरेटरको उल्लेख्य मात्रामा विक्री भइरहेको बजारमा हिजोआज उपभोक्ता यसको गुणस्तरप्रति सचेत हुन थालेपछि ब्राण्डेड जेनेरेटरको माग तथा विक्री बढेको हो । अहिले जेनेरेटरको टिकाउ, इन्धन खपत, सर्भिसिङको सुविधालगायतमा उपभोक्ता सजग हुँदै गएकाले ननब्राण्डेडको बजार घटिरहेको मोरङ अटो वक्र्स इञ्जिनीयरिङ प्रालिका कार्यकारी निर्देशक विशाल गाडिया बताउँछन् । ब्राण्डेड र ठूला क्षमताका जेनेरेटरमा लगानी धेरै हुने भए तापनि यस्ता जेनेरेटर गुणस्तरीय हुने भएकाले हिजोआज ब्राण्डेड जेनेरेटरको प्रयोगमा वृद्धि भएको शुभकमल ग्लोबल बिजनेश हब प्रालिका निर्देशक निर्मल बोगटीले बताए । हाल नेपाली बजारमा कम क्षमताका जेनेरेटरमा ननब्राण्डेडको हिस्सा पनि उल्लेख्य छ । १ देखि २० केभीए क्षमतासम्मका ननब्राण्डेड जेनेरेटरले करीब ५० प्रतिशत बजार हिस्सा ओगटेको गाडियाको अनुमान छ । तर, पहिलेको तुलनामा अहिले यस्ता जेनेटरेटरको प्रयोग भने घट्दै गएको उनी बताउँछन् ।
लोडशेडिङ बढेसँगै नेपालमा जेनेरेटरको व्यवसाय पनि उचाइमा पुगेको छ । लोडशेडिङ हुनुपूर्व नेपालमा यसलाई ब्याकअप सर्भिसका रूपमा मात्र प्रयोग गरिन्थ्यो । तर, विद्यमान ऊर्जा सङ्कटका कारण प्रमुख ऊर्जास्रोतकै रूपमा जेनेरेटरको प्रयोग हुन थालेको हो । हाल नेपाली बजारमा डिजेल, पेट्रोल, ग्यास र मट्टीतेलबाट चल्ने चार किसिमका जेनेरेटर उपलब्ध छन् ।
पछिल्ला वर्षहरूमा हाउजिङ, डिपार्टमेण्टल स्टोर, होटल, कार्यालय, उद्योग, कलकारखाना, अस्पताललगायतले अनिवार्य रूपमा जेनेरेटरको प्रयोग गर्न थालेका छन् । यसको बढ्दो मागसँगै बजारमा विभिन्न ब्राण्ड र क्षमताका जेनेरेटरको उपस्थिति बाक्लिँदै गएको छ । यद्यपि, हालको माग लोडशेडिङ शुरू भएको पहिलो ३ वर्षको अनुपातमा भने बढ्न सकेको छैन । एकपटक किनेपछि लामो समयसम्म पनि यसले काम गर्ने भएकाले पछिल्ला वर्षहरूमा जेनेरेटरको बजार अवस्था स्थिर रहेको हो ।
बजारमा विभिन्न ब्राण्डका पोर्टेबल (बोकेर लैजान मिल्ने)देखि ठूला जेनेरेटरको सहज उपलब्धता छ । उपभोक्ताको मागअनुसार नै कम्पनीहरूले यस्ता जेनेरेटर बजारमा ल्याएको स्याकार कम्पनी लिमिटेडका प्रबन्धक बन्धन कार्की बताउँछन् । स्याकार कम्पनीले हाल होण्डा ब्राण्डमा पोर्टेबल जेनेरेटर बजारमा उपलब्ध गराएको छ । यस्ता जेनेरेटर ट्रेकिङमा जानेहरूका लागि पनि उपयुक्त हुने कार्की बताउँछन् । लोडशेडिङको समय निरन्तर बढ्नु र सरकारले इन्भर्टरको आयातमा प्रतिबन्ध लगाउनुले पनि ऊर्जाका लागि उपभोक्ता अनिवार्य रूपमा जेनेरेटरमा निर्भर हुन पुगेका हुन् । लोडशेडिङ कम गर्न भन्दै ऊर्जा मन्त्रालयले २०६६ माघमा इन्भर्टरको आयातमा प्रतिबन्ध लगाएको थियो ।
लोडशेडिङले कम क्षमताका जेनेरेटरको विक्रीमा सीधा असर पार्छ । २० केभीए क्षमतासम्मका जेनेरेटरको विक्री लोडशेडिङका कारण बढेको गाडिया बताउँछन् । छोटो समयसम्मको लोडशेडिङ हुने हो भने कम क्षमताका जेनेरेटर चलाउनेले इन्भर्टरको प्रयोग गर्न सक्थे । यसले २० केभीएभन्दा कम क्षमताका जेनेरेटरको विक्री घट्न सक्थ्यो । तर, अहिलेको जस्तो १२ घण्टाको लोडशेडिङका लागि जेनेरेटर नै उपयुक्त विकल्प भएको उनी बताउँछन् । ठूला उद्योग, कर्पोरेट हाउस तथा अत्यावश्यक क्षेत्र, जस्तै– अस्पताल, बैङ्क वा वित्तीय संस्थामा थोरै समयसम्म लोडशेडिङ भए पनि पावर ब्याकअपको व्यवस्था गर्नुपर्ने हुन्छ । त्यसैले, २० केभीए क्षमताभन्दा माथिका जेनेरेटरको विक्रीमा भने लोडशेडिङले खासै प्रभाव पार्दैन । नेपालमा १ देखि २० केभीए क्षमतासम्मका जेनेरेटरको करीब ७५ प्रतिशत बजार हिस्सा रहेको गाडियाको भनाइ छ । ठूला जेनेरेटरको तुलनामा कम मूल्य पर्ने भएकाले पनि साना जेनेरेटर सबैको पहुँचमा पुगेको हो ।
प्रतिस्पर्धा
बजारमा जेनेरेटरका विशेषताका आधारमा प्रतिस्पर्धा हुने गरेको छ । गुणस्तर, इन्धन खपत, सञ्चालन खर्च, विक्रीपछिको सेवा, स्पेयर पार्ट्सको उपलब्धता, मूल्यलगायतमा विभिन्न कम्पनीबीच प्रतिस्पर्धा छ । कमसल जेनेरेटरबारे उपभोक्ता सचेत बन्दै गएकाले सेवा, सुविधा तथा गुणस्तरमा प्रतिस्पर्धा बढेको हो । तर, पछिल्ला दिनमा उपभोक्तामा आएको जागरुकताका कारण ब्राण्डेडसँग ननब्राण्डेड जेनेरेटरको कुनै प्रतिस्पर्धा छैन ।
नेपालमा विक्री भइरहेका ब्राण्ड
काठमाडौं उपत्यकामा मात्र १ सयको सङ्ख्यामा जेनेरेटरका विक्रेता कम्पनी छन् । होण्डा, यामाहा, किर्लोस्कर, कोहलर, एसडीएस र ग्रीभ्स हाल नेपाली बजारमा केही चलेका ब्राण्डेड जेनेरेटर हुन् । ब्राण्डेड जेनेरेटरको प्रयोग काठमाडौं, पोखरा, नारायणगढमा गरी ८० प्रतिशत र त्यसबाहेकका अन्य शहरमा २० प्रतिशत रहेको व्यवसायीको अनुमान छ । आगामी ५ वर्षसम्म लोडशेडिङको अवधि घट्न सक्ने अवस्था नरहेकाले नेपालको ऊर्जा अभाव कम गर्न जेनेरेटर उपयुक्त विकल्प बनेको ऊर्जाविद्हरू बताउँछन् ।
जेनेरेटर इञ्जिनका प्रकार
नेपाली बजारमा हाल वाटर कूल्ड इञ्जिन र एयर कूल्ड इञ्जिन भएका गरी दुई प्रकारका जेनेरेटर उपलब्ध छन् । यसमध्ये वाटर कूल्ड जेनेरेटर नै बढी उपयुक्त हुने अधिकांश व्यवसायीको भनाइ छ । यो मूल्यका हिसाबले पनि एयर कूल्डभन्दा धेरै महँगो नहुने र टिकाउ पनि उत्तिकै हुने भएकोले वाटर कूल्डको प्रयोग राम्रो भएको उनीहरूको सुझाव छ । पछिल्लो समयमा नेपालमै एसेम्बल्ड गरिएका जेनेरेटरको प्रयोग पनि बढिरहेको छ । तर, ग्राहकले ब्राण्डेड जेनेरेटर नै खरीद गर्नुपर्ने व्यवसायी बताउँछन् । ब्राण्डेडमा वारेण्टीसँगै अन्य विविध सुविधासमेत पाउन सकिन्छ । त्यस्तै, प्रयोगका हिसाबले इञ्जिन ढाकिएको जेनेरेटर बढी उपयुक्त हुन्छ । त्यस्ता जेनेरेटरको प्रयोग गर्दा आवाज कम आउने र सुरक्षित रहन सकिन्छ । छिमेकी देश भारतमा ‘साउण्ड प्रूफ’ नभएका जेनेरेटर प्रयोग गर्न निषेध गरिएको छ ।
थरीथरीका जेनेरेटर
नेपालमा जेनेरेटरको व्यवसायले गति लिन थालेपछि बजारमा विभिन्न ब्राण्ड देखिन थालेका छन् । ठूलो लगानी हुने भए तापनि अधिकांश उपभोक्ताले ब्राण्डेड जेनेरेटर नै खोज्ने गरेकाले हाल नेपाली बजारमा ब्राण्डेड जेनेरेटरकै वर्चस्व छ । साथै, हालै नेपाली बजारमा आएका केही चिनियाँ ब्राण्डसमेत गुणस्तरीय भएको व्यवसायी बताउँछन् । हाल बजारमा पेट्रोल, मट्टीतेल, डिजेल तथा ग्यासले चल्ने विभिन्न क्षमताका जेनेरेटर उपलब्ध छन् । यसमा पनि नेपाली बजारमा पेट्रोल र डिजेलले चल्ने जेनेरेटर बढी विक्री हुने गरेको व्यवसायीको भनाइ छ । नेपालमा जेनेरेटर उत्पादन गर्ने स्वदेशी कम्पनी नभएका कारण धेरैले विदेशका ब्राण्डको आधिकारिक विक्रेताका रूपमा नेपालमा जेनेरेटर विक्री गरिरहेका छन् ।
समस्या
अहिले १० केभीएसम्मका साना जेनेरेटरको आयातमा १५ प्रतिशत भन्सार महशुल लाग्छ । तर, सोभन्दा बढी क्षमताका जेनेरेटर आयातमा भने १ प्रतिशतमात्र कर लाग्छ, जसका कारण साना व्यवसायी मर्कामा परेका छन् । अहिले साना व्यवसायीलाई पनि जेनेरेटर अत्यावश्यक भइसकेको छ । त्यसैले, नेपाल सरकारले साना जेनेरेटरको आयातमा लगाउँदै आएको भन्सार महशुल कटौती गर्नुपर्ने देखिन्छ । यसो भएमा जेनेरेटर सबै वर्गको पहुँचमा पुग्न सक्छ ।
ध्यान दिनुपर्ने पक्ष
अधिकांश जेनेरेटरलाई १ सय घण्टाभन्दा बढी चलाइसकेपछि सर्भिसिङको आवश्यकता पर्छ । एकपटक खरीद गरेपछि पुनः अर्को खरीद गर्न असहज हुने भएका कारण यसलाई विशेष ध्यान दिएर चलाउनुपर्नेमा व्यवसायीहरू जोड दिन्छन् । जेनेरेटरको निरन्तर निगरानी गर्नुपर्ने र समयसमयमा इञ्जिन आयल परीक्षण गरिरहनुपर्ने उनीहरूको सुझाव छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।