भदौ १३, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैं पछाडि हुने भएको छ । कोरोना संक्रमणको दर बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा गर्न सम्भव नभएपछि दशैं पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।
पनिकाले वार्षिक परीक्षा आफैंले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको छ । यसअघि बन्दाबन्दी (लकडाउन) खुलेसँगै सवारी साधन सञ्चालन भएपछि पनिकाले भदौ १६ गतेबाट सेमेष्टर र असोजको पहिलो हप्ताबाट वार्षिक परीक्षा गर्ने तयारी गरेको थियो ।
‘अहिलेको स्थितिमा दशैं अगाडि कुनै पनि परीक्षा गर्न सहज छैन’, उनले भने, ‘अब वार्षिक अन्तर्गतका सबै परीक्षा दशैंपछि नै हुन्छन् ।
परीक्षा नियन्त्रक जोशीले मंसिर १५ वा २० गतेदेखि परीक्षा गर्ने गरी तयारी गरिने बताए । पनिकाले मंसिर २० देखि सञ्चालन गरेर चैतसम्म सबै परीक्षा सकाउने तयारी गरेको छ ।
नियन्त्रक जोशीले चैतसम्म सबै बाँकी रहेका परीक्षा सकाएपछि शैक्षिक क्यालेन्डरमा कुनै असर नपर्ने जानकारी दिए । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।