कोरोना महामारीकै बीच काभ्रेका विद्यालयमा पठनपाठन शुरु

Share News

असोज ११, काभ्रेपलाञ्चोकमा विद्यालय सञ्चालन गरी पठनपाठन शुरु गरिएको छ । कोरोना भाइरस महामारीको संक्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय विस्तारै सञ्चालनमा आएका हुन् ।

जिल्लाको पाँचखाल नगरपालिका, तेमाल र रोशी गाउँपालिकालगायतले कक्षा सञ्चालन गरी पठनपाठन शुरु गरेका हुन् । काभ्रेपलाञ्चोकको पाँचखालले सोमवारबाट, तेमालले मंगलवार र रोशीले बुधवारबाट सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा ल्याएका हुन् । 

पाँचखालको नगरकार्यपालिकाले विद्यालयलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएर सोमवारबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेसँगै लामो समयदेखि बन्द रहेको विद्यालय सञ्चालनमा आएको नगरपालिकाले जानकारी दिएको छ ।

विद्यालय सञ्चालन गर्न यसअघि नगर शिक्षा समितिले शैक्षिक कार्यविधि तयार गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि विद्यालय व्यवस्थापन समिति, अभिभावकलगायत सरोकारवालासँग छलफल गरी आवश्यक स्वास्थ्य सुरक्षा विधि अपनाएर विद्यालय सञ्चालन गरेको वडा नं ४ लामीडाँडास्थित गोल्मादेवी प्राथमिक विद्यालयका प्रधानाध्यापक विद्यालक्ष्मी देउजाले बताइन् । 

‘हामीले शिक्षण गर्दा भौतिक दूरी कायम गर्नुका साथै आवश्यक स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गरी बुधवारबाट कक्षामा पठनपाठन सञ्चालन गरेकामा अझै पनि सबै विद्यार्थीलाई विद्यालयमा नआइसकेकाले सबैलाई ल्याउने प्रयत्न भइरहेको छ’, उनले भनिन् ।

बन्दाबन्दीका कारण विद्यालय बन्द हुँदा अवरुद्ध रहेको शिक्षण क्रियाकलापलाई असार १४ गतेबाट ‘टोल शिक्षा’को रूपमा टोलटोलमा नै गएर पढाउने र साउन १६ गतेबाट ‘हेलो लर्निङ’ भनेर शिक्षकलाई अनलाइनबाट हप्तामा दुई दिन भए पनि पढाउने व्यवस्था गरेकामा अहिले आएर सोमवारवाट प्रत्यक्षरूपमा कक्षामा नै आएर पढाउन थालेको प्रधानाध्यापक देउजाले बताइन् ।

विद्यालय सञ्चालनमा आएपछि पहिलोपटक कक्षाकोठामा बसेर पढन् पाउँदा खुशी लागेको सोही वडास्थित जिरोकिलोमा रहेको इन्द्रेणी विद्यामन्दिर कक्षा ७ का कृष्पा न्यौपानेले बताए । ‘बन्दाबन्दीका बेलामा घरमा बस्दा आफँैले किताबको उदाहरणहरु हेर्दै स्वअध्ययन गरिरहेको थिएँ तर त्यसरी पढ्दा नबुझेका कुराहरुमा धेरै समय अल्झिनुपरेको थियो’, उनले भने ।

परिस्थिति हिजोको भन्दा सहज नभए पनि मनस्थिति बलियो बनाएर आफूहरुले कक्षा सञ्चालन गरेको विद्यालयका प्रिन्सिपल रामहरि सापकोटाले बताए । ‘पढाउँदा भौतिक दूरी कायम राखेर मास्क अनिवार्य गराएका छौँ’, उनले भने, ‘कोरोनासँग भागेर होइन, त्यसका विरुद्धमा लड्दै एउटा कक्षामा १० ओटा बेञ्च राखेर दैनिक बिहान, दिउँसो र बेलुकाको सत्र बनाएर पठनपाठन शुरु गरेका छौँ ।’

सो वडाका वडाध्यक्ष सुन्दर लामाले अभिभावकबाट नै अब पठनपाठन शुरु गर्नुपर्छ भन्ने खालको सुझाव आएपछि विद्यालय व्यवस्थापन समिति, अभिभावकसँग छलफल गरेर विद्यालय सञ्चालनमा ल्याएको बताए । 

विद्यालय सञ्चालनमा आएसँगै नगरप्रमुख महेश खरेलले विद्यालय सञ्चालनको अवस्था र त्यहाँ भएको समस्याहरुका बारेमा अनुगमन गरी जानकारी लिने काम गर्दै आएका छन् । लामो समयसम्म घरमै रहँदा विद्यार्थीमा हुनसक्ने मानसिक तनावलाई मध्यनजर गर्दै विद्यालय सञ्चालन गरी पठनपाठन शुरु गरेको उनले बताए । नगरभित्र सामुदायिक ३९ र संस्थागत ११ विद्यालय रहेका छन् । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।