सबै प्रकारका परीक्षा सञ्चालनमा सरकारको सैद्धान्तिक स्वीकृति

Share News

काठमाडौं । जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्डको पूर्ण पालना गर्नेगरी यसअघि रोकिएका सबै तह, विषय र प्रकृतिका परीक्षा सञ्चालनका लागि सरकारले सैद्धान्तिक स्वीकृति दिएको छ । असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जारी स्वास्थ्य मापदण्ड पूरा पालना गर्ने गरी परीक्षा सम्बद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा शिक्षण संस्थालाई परीक्षा सञ्चालन गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बुधवार जानकारी दिएका छन् ।  

बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी व्यावसायिक तालीम प्रदायक संस्थालाई २५ जनाभन्दा कम सहभागी हुने छोटो अवधिको व्यावसायिक तालीम सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ । यस्तै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश, २०७५ संशोधन गर्ने तथा मन्त्रिपरिषद्को गत वैशाख १४ गतेको निर्णयबाट स्थगित राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको पदपूर्तिसम्बन्धी प्रक्रिया सञ्चालनको स्वीकृति दिने निर्णय भएको प्रवक्ता ज्ञवालीले बताएका छन् ।

शिक्षक सेवा आयोगका अध्यक्ष र एक महिलासहित अन्य दुई सदस्यको नियुक्तिका लागि सिफारिश गर्न लोकसेवा आयोगका अध्यक्षका अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सदस्य रहेको सिफारिश समिति गठन गर्ने निर्णयसमेत बैठकले गरेको छ । यस्तै कालीमाटी फलपूmल तथा तरकारी बजार विकास समितिका अध्यक्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. योगेन्द्रकुमार कार्कीलाई तोक्ने र कार्यकारी निर्देशकमा वरिष्ठ कृषि अर्थविज्ञ विनोदकुमार भट्टराईलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।

बैठकले साउदी अरबको जेद्दामा रहेको राजपत्रांकित प्रथम श्रेणी (प्रशासन समूह), सहसचिवस्तरको दरबन्दी चीनस्थित नेपाली महावाणिज्यदूतावास छेन्दुमा स्थानान्तरण गर्ने, राष्ट्रपति कार्यालयको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत २०७७/७८ का लागि राष्ट्रिय सूचना प्रविधि केन्द्र काठमाडौंका लागि सात र ‘डिजास्टर रिकभरी’ केन्द्र हेटौंडाका लागि नौसहित १६ तथा विज्ञापन बोर्डको आर्थिक वर्ष २०७७/७८ का लागि पाँच अधिकृतस्तरको अस्थायी दरबन्दी स्वीकृत गरेको छ भने अवैतनिक वाणिज्यदूतसम्बन्धी (पाँचौं संशोधन) नियमावली, २०३९ मा भएको व्यवस्थाबमोजिम केही अवैतनिक महावाणिज्यदूतको पदावधि थप गरिएको छ ।

यस्तै बैठकले इरानको तेहरानमा कार्यरत अवैतनिक महावाणिज्यदूत शाहरम शान्तियाइ, मलेसियाको सेलेंगार शहरमा कार्यरत अवैतनिक वाणिज्यदूत तोयो स्वी लेङ, इण्डोनेसियाको जाकार्तामा कार्यरत अवैतनिक वाणिज्यदूत बल्ली सुपुत्र जनो सती, इजरायलको हाइफा र वीरशेभा शहरमा कार्यरत अवैतनिक वाणिज्यदूत क्रमशः निमरड वर्ग र इयान नीरको पदावधि आगामी चार वर्षका लागि थप गर्ने, अमेरिकाका इलिनोइस, मेरिल्याण्ड र ओहियो शहरमा कार्यरत महावाणिज्यदूत क्रमशः मरभिन ए ब्रस्टिन, प्रेमराजा महत र डा विलियन सी, क्यासेल तथा अमेरिकाकै हवाई र सियाटल शहरमा अवैतनिक वाणिज्यदूतमा कार्यरत क्रमशः मेरी सी क्यारोल र एसी शेर्पाको अवधि आगामी चार वर्षका लागि थप गर्ने निर्णय गरेको छ ।

साथै बेल्जियमको फ्ल्याण्डर्स क्षेत्रमा इन्ग्रिड सेस्टर्स–ल्युटेनलाई आगामी चार वर्षका लागि अवैतनिक नेपाली वाणिज्यदूतमा नियुक्त गर्ने, ग्रीसको एथेन्स शहरमा अवैतनिक वाणिज्यदूतमा कार्यरत इम्मानोइल काराभेलाकिसको पदावधि आगामी चार वर्षलाई थप गर्ने र निजलाई महावाणिज्यदूतमा पदोन्नति गर्ने निर्णय भएको छ । यस्तै लेबनानको बेरुत शहरमा अवैतनिक वाणिज्यदूतमा कार्यरत एलशेख मोहमद वासम गोजायललाई महावाणिज्यदूतमा पदोन्नति गर्ने निर्णय समेत बैठकले गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।