माघ १२, काठमाडौं । दश महीनापछि काठमाडौं महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको छ । कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेका विद्यालय स्वास्थ्य मापदण्ड पालना गर्दै यही माघ ११ गते आइतवारदेखि सञ्चालनको अनुमति दिइएको हो ।
कामपाको आइतवार बसेको शिक्षा समितिको बैठकले विद्यालय चलाउन बाटो खोलिदिएको हो । समितिका अध्यक्ष एवम् कामपाका प्रमुख विद्यासुन्दर शाक्यले स्वास्थ्य मन्त्रालयबाट जारी मापदण्डका आधारमा विद्यालय सञ्चालन कार्यढाँचा तयार गरी कक्षा सञ्चालनको व्यवस्था मिलाउन सबै विद्यालयलाई सूचित गर्ने जानकारी दिए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका–२०७७’ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको ‘स्वास्थ्य सुरक्षा मापदण्ड’ बमोजिम विद्यालय व्यवस्थापन समिति र अभिभावक संघको अनुगमन तथा रेखदेखमा विद्यालय सञ्चालन गरिने पनि उनले बताए ।
गत मंसिरको पहिलो सातादेखि कामपाका केही संस्थागत विद्यालय पूर्णरूपमा सञ्चालनमा आए पनि सामुदायिक विद्यालय भने भने आंशिकरूपमा मात्र सञ्चालन भएका थिए ।
बैठकले वडा १२ बह्मटोलमा रहेको सरस्वती निकेतन माध्यमिक विद्यालय र वडा नं ३ महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालयलाई कम्प्युटर इञ्जिनीयरिङ र वडा नं ११ को विश्व निकेतन माविलाई इलेक्ट्रिकल इञ्जिनीयरिङ प्राविधिक विषय अध्यापनको अनुमति दिएको छ । यो कक्षा ९ देखि १२ को कार्यक्रम हो ।
अनुमति दिइएका विद्यालयलाई कामपाले रू. ५० लाख अनुदान दिएर पूर्वाधार निर्माण तथा जनशक्ति व्यवस्थापनमा सहयोग गर्नेछ । बैठकले नेपाल भाषाका पाठ्यपुस्तक छपाइ गर्न प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्ने निर्णय पनि गरेको छ । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।