काठमाडौं । कोभिड–१९ का कारण प्रभावित शैक्षिक सत्र दुई महिना थप गरेर व्यवस्थापन गरिने भएको छ । हरेक वैशाखमा शुरू भई चैतमा सकिने शैक्षिक सत्रलाई यस वर्ष आगामी वैशाख र जेठसम्म लम्ब्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कानूनी परामर्श शुरू गरेको छ ।
विद्यमान शिक्षा नियमावलीमा वर्षमा २२० दिन विद्यालय खुल्नुपर्ने र १९२ दिन पढाइ हुनुपर्ने व्यवस्था भएकामा कोरोना महामारीपछि विद्यालय पूर्ववत् सञ्चालन हुन नसक्दा सञ्चार तथा सूचना प्रविधिको सहायतामा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण भएका बेला पाठ्यक्रम समायोजन गरी सिकाइ निरन्तरता गरिएको छ ।
कोरोनाको जोखिम घट्दै गएको र लामो सयम वैकल्पिक माध्यममा शिक्षा दिँदा सिकाइ गुणस्तरमा नकारात्मक असर पर्नसक्ने भएकाले पछिल्लो समयमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी विद्यालय सञ्चालनको क्रम शुरू भएको छ । जाडो बिदा नदिई कक्षा सञ्चालन भएकाले शैक्षिक सत्र व्यवस्थापनमा यसले सकारात्मक प्रभाव पार्ने देखिएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले शैक्षिक सत्रलाई दुई महिनासम्म लम्ब्याउने विषयमा छलफल भइरहेको भन्दै सोका लागि शिक्षा नियमावलीमा मन्त्रिपरिषद्बाट संशोधन गर्नुपर्ने बताए ।
यस विषयमा मन्त्रिपरिषद्को सामाजिक समितिमा छलफल भइसकेको बताइएको छ । शैक्षिक सत्रलाई आर्थिक वर्षको अनुकूलका आधारमा हरेक साउनमा शुरू गराउने विषयमा पनि छलफल भइरहेको छ । चैतमा वार्षिक परीक्षा भई केही अवधि बिदा दिएर वैशाखको दोस्रो सातामा नयाँ शैक्षिक सत्र शुरू हुने गरेकामा उक्त बिदाको अवधिलाई पनि यस वर्ष उपयोग गर्न लागिएको हो ।
कोरोना महामारीका कारण एक स्थानका विद्यालयमा भर्ना भएका विद्यार्थी अन्यत्र बसेर अध्ययन गरिरहेको स्थितिमा माध्यमिक शिक्षा परीक्षा कक्षा १० मा स्थानान्तरण गर्न पनि नियमावली बाधक भएकाले बाधा अड्काउ फुकाउका लागि मन्त्रालयले कानूनी परामर्श गरिहेको छ । यसअघि २०७२ सालमा गएको भूकम्पका समयमा अतिप्रभावित १४ जिल्लाका कक्षा १० का विद्यार्थीलाई स्थानान्तरण गराएर परीक्षा दिलाइएको थियो ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका अध्यक्ष कृष्ण थापाले कोरोना महामारीका कारण प्रभावित शैक्षिक सत्रलाई अवधि थपेर व्यवस्थापन गर्ने तयारी सकारात्मक रहेको बताए । आफूहरूले नेपाल शिक्षक महासंघलगायतसँगको सहकार्यमा सिकाइ निरन्तरता अभियान सञ्चालन गरिरहेको र विद्यार्थीको सिकाइ सुनिश्चितताका लागि पहल भइरहेको जानकारी उनले दिए ।
सरकारले वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिक सत्रमा गणना गराउने गरी भदौ १९ गते ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ जारी गरेको थियो । कोरोना महामारीको जोखिम बढिरहेकाले विद्यालय खुल्न नसकेको स्थिति र अन्य प्राकृति विपत्तिमा पनि यस प्रकारको वैकल्पिक सिकाइलाई मान्यता दिने गरी निर्देशिका जारी भएको हो । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।