काठमाडौं (अस) । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)को २४औं वार्षिकोत्सव तथा तेस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ । शनिवार सम्पन्न उक्त समारोहमा आईक्यानबाट उत्तीर्ण सीएहरूमध्ये ३२ जना दीक्षित भएका छन् । कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको समृद्धिमा युवा चार्टर्ड एकाउन्टेन्टहरूको भूमिका महत्त्वपूर्ण हुने बताए । लेखा प्रणाली र लेखापरीक्षण देशको विकाससँग सम्बन्धित विषयसमेत रहेको र लेखापरीक्षणका माध्यमबाट सुशासनलाई अझ सुदृढ बनाउन सकिने उनको भनाइ थियो । देशको विकास, समृद्धि र सुशासनका लागि सम्पूर्ण सीएहरूले आफ्नो काम प्रभावकारी रूपमा गर्नुपर्नेमा समेत उनले जोड दिए ।
समारोहमा अर्थमन्त्री पौडेलले चार्टर्ड एकाउन्टेन्सीका विभिन्न तहहरूमा उत्कृष्ट अंकसहित उत्तीर्ण हुने विद्यार्थीलाई पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए । यस्तै संस्थाका अध्यक्ष सीए मदनकृष्ण शर्माले संस्थामा कार्यरत कर्मचारीबाट यस वर्ष उत्कृष्ट हुन सफल कर्मचारीलाई नगद तथा प्रमाणपत्र वितरण गर्नुका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।