माघ २२, वीरगञ्ज । वीरगञ्ज हार्ट एण्ड सुपर स्प्यासिलिटी पोलिक्लिनिक’ ले वीरगञ्जमा मुटु रोगको उपचारलाई मुख्य उदेश्य बनाएर सेवा शुरू गरेको छ । बिहीवार पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले पोलिक्लिनिकको उद्घाटन गरेका हुन् ।
मुटुसम्बन्धी समस्याको सहज उपचारलाई लक्षित गरेर सेवा शुरू गरिएको पोक्लिनिकका सञ्चालक डा मधु गुप्ताले बताइन् । बिरामीहरूलाई सहज र सुलभ रुपमा विशेषज्ञसहितको सेवा प्रदान गरिने सञ्चालक डा गुप्ताले जानकारी दिइन् ।
‘पोलिक्लिनिकमा मुटुसम्बन्धी उपचारमा टीएमटी, पीएफटी, इको, एबीपी मोनिटरिङलगायतको सेवा दिइने छ । पोलिक्लिनिकले विशेषज्ञ डाक्टरहरूद्वारा मुटुसम्बन्धी सबै उपचार सेवा, मधुमेह, थाइराइड, स्त्री रोग, पेटसम्बन्धी समस्या, फोक्सोको जाँच र नशा रोगको उपचारको प्रबन्ध मिलाएको छ,’ डा गुप्ताले सञ्चारकर्मीहरूसित भनिन् ।
उद्घाटनको अवसरमा प्रमुख जिल्ला अधिकारी तामाङले पोलिक्लिनिकले मुटु र मधुमेहजस्ता स्वास्थ्य समस्याको उपचार एकै ठाउँमा दिएकाले बिरामीका लागि सहज हुने बताए । स्वास्थ्य सेवालाई आम नागरिकको पहुँचमुखी बनाउन उनले आग्रह पनि गरे ।
बाल तथा शिशु रोग विशेषज्ञबाट नवजात शिशु र बाल रोगको पनि उपचार हुने पोलिक्लिनिकले जानकारी दिएको छ । बिरामीलाई सहज रुपमा उपचारका लागि पोलिक्लिनिक परिसरमै प्याथोजी ल्याव र फार्मेसीको पनि व्यवस्था मिलाइएको छ ।
पोलिक्लिनिकले उपचारमा नयाँ प्रविधि र विशेषज्ञतालाई विशेष जोड दिइएको बताएको छ । वीरगञ्जबाहिरका विशेषज्ञ डाक्टरहरूबाट पनि बिरामीलाई सेवा प्रदान गर्ने व्यवस्था मिलाउने योजना पनि बनाइएको डा गुप्ताको भनाइ छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।