फागुन ९, ताप्लेजुङ । हिमपातका कारण बन्द ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङ गोलास्थित महेन्द्र आधारभूत विद्यालयको पठनपाठन शुरुआत भएको छ ।
समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा ओलाङचुङगोला रहेको छ । गत पुस महीनादेखि हिमपात हुन शुरु भएसँगै पुस १५ देखि विद्यालय बन्द गरिएको थियो ।
हिमपातपछि अत्यधिक जाडोले गर्दा विद्यालयमा बसेर विद्यार्थी पढ्न नसक्ने भएपछि विद्यालय बन्द गर्नुपरेको विद्यालयका प्रधानध्यापक डिकबहादुर केसीले जानकारी दिए ।
विस्तारै मौसम राम्रो हुँदै गएपछि विद्यालय सञ्चालनमा आएको हो । विद्यालयमा ३२ जना विद्यार्थी अध्ययनरत छन् ।
यस्तै, फक्ताङलुङ गाउँपालिका– ६ घुन्सा समुद्र सतहदेखि तीन हजार ५०० उच्चाइमा पर्दछ । घुन्सामा हिमपात हुन शुरु भएसँगै घुन्सा आधारभू्त विद्यालय गत पुसको पहिलो हप्तामै बन्द भएको थियो ।
सो विद्यालय यही फागुन १५ देखि पठनपाठन हुने तयारी रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख जयप्रकाश रिजालले जानकारी दिए । विद्यालयमा ४२ जना विद्यार्थी अध्यायनरत रहेका छन् । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।