इप्पान र एक्मी कलेजबीच सम्झौता

Share News

काठमाडौं (अस) । स्वदेशमा उत्पादन हुने जलविद्युत् सम्बन्धी योग्य जनशक्तिलाई स्वदेशमा उपयोग गर्ने उद्देश्यले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र एड्भान्स कलेज इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट (एक्मी)बीच सम्झौता भएको छ । इप्पान र कलेजबीच बुधवार सम्झौतापत्रमा हस्ताक्षर पनि भएको छ ।

बुधवार काठमाडौंमा एक कार्यक्रमबीच इप्पान अध्यक्ष कृष्णप्रसाद आचार्य र एक्मीका अध्यक्ष रमेशकुमार सिलवालले सम्झौतापत्रमा हस्ताक्षरण गरेका हुन् । इप्पान प्रवक्ता प्रबल भट्टराईले एक्मीसँग उक्त सम्झौता भएको बताए ।

सम्झौताअनुसार अब उक्त कलेजमा अध्ययन गरेका विद्यार्थीलाई जलविद्युत् क्षेत्रमा रोजगारी दिने मामलामा इप्पानले प्रत्यक्ष रूपमा सहयोग गर्नेछ । साथै, कलेजमा अध्ययनरत विद्यार्थीलाई पनि विद्युत् आयोजनामा इटर्नशिप गराउनेगरी सम्झौता भएको छ ।

यस्तै, कलेजले पनि जलविद्युत् क्षेत्रमा सिभिल तथा मेकानिकल अध्ययन तथा रिसर्च गर्न सहयोग गर्नेगरी उक्त सम्झौता भएको हो । इप्पान प्रवक्ता भट्टराईले ऊर्जा क्षेत्र र एकेडेमिक क्षेत्रलाई दोहोरो फाइदा हुनेगरी उक्त सम्झौता गरिएको बताए ।

‘यो सम्झौताअनुसार अब उक्त कलेजमा अध्ययन गरिरहेका विद्यार्थीले आयोजनाहरूमा इन्टर्नशिप गरेर व्यावहारिक रूपमै ज्ञान हासिल गर्न पाउनेछन् । साथै, शैक्षिक योग्यता हासिल गरेका विद्यार्थीलाई पनि ऊर्जाक्षेत्रमा प्लेसमेन्ट गर्न सकिन्छ,’ उनले भने, ‘यस्तै, कलेजले पनि ऊर्जा क्षेत्रमा आवश्यक अध्ययन गर्न सहयोग गर्नेगरी दोहोरो सम्झौता गरिएको छ ।’

नेपालमा पछिल्लो जलविद्युत् सम्बन्धी जनशक्ति उत्पादन बढ्दो छ । तर, त्यस्ता जनशक्तिको उचित व्यवस्थापन हुन सकेको थिएन । विद्यार्थीलाई पनि कामका लागि जलविद्युत् क्षेत्रमा पहुँच विस्तार गर्न चुनौतीपूर्ण थियो । कतिपय जनशक्ति विदेश समेत पलायन भएको अवस्था छ । यी यस्ता समस्या समाधान गर्न संस्थागत रूपमै पहल गरिएको इप्पानको भनाइ छ । यस अवस्थामा गरिएको यस सम्झौताले त्यस्ता जनशक्तिको व्यवस्थापन गर्न सहयोग पुग्ने इप्पानको अपेक्षा छ ।

हस्ताक्षर कार्यक्रममा इप्पान आचार्यले जलविद्युत् विकासका लागि आवश्यक दक्ष जनशक्ति मुलुकमै उत्पादन हुँदै गएको बताए । यस अवस्थामा उनीहरूको उचित व्यवस्थापन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

‘शुरूका समयमा हामीलाई आवश्यक दक्ष जनशक्ति पाउन नै मुश्किल हुन्थ्यो । तर, अहिले त्यस्तो छैन,’ उनले भने, ‘अहिले नेपालमा जलविद्युत् सम्बन्धी दक्ष जनशक्ति प्रत्यक्ष छन् । उनीहरूको व्यवस्थापन गर्ने काम इप्पानले गर्नेछ ।’ समग्रमा यस सम्झौताले जलविद्युत् क्षेत्रलाई ठूलो सहयोग पुग्ने उनको भनाइ छ । साथै, कलेजलाई पनि जलविद्युत्को क्षेत्रबाट सहयोग पुग्ने उनले बताए ।

यस्तै, कलेजका अध्यक्ष रमेशकुमार सिलवालले यस सम्झौताका कारण ऊर्जाक्षेत्रमा अध्ययन गर्दै आएका विद्यार्थीलाई उद्यमी बनाउन सहयोग पुग्ने बताए । ‘विदेशमा उद्योगल प्राज्ञिक क्षेत्रलाई खोज्ने र प्राज्ञिक क्षेत्रले पनि पनि उद्योग क्षेत्रलाई खोज्ने अभ्यास छ । अब यस्तो अभ्यास नेपालमा पनि गर्न आवश्यक छ,’ उनले भने ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।